आइतबार, १६ बैशाख २०८१

गौमुलका दुर्गम गाउँमा ‘फोर जी’ सेवा

बाजुरा :  गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल सरकारको अथक प्रयासपछि फोर जी सेवा सञ्चालनमा आएको अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा आजबाट पूर्ण रुपमा सेवा सञ्चालनमा आएको उहाँले बताउनुभएको छ ।

स्थानीय सरकार स्थापना भएदेखिको प्रयासले बल्ल सार्थकता पाएको उपाध्यक्ष सीता थापाले बताउनुभएको छ । अन्य विकासका क्रमहरु सुरु भएको भएपनि सहज नेटवर्क नआउने समस्याले नागरिक आजित हुने समस्या अब हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताउनुभएको छ । गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएको छ ।

पहिला नेट चलाउनकै इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको स्थानीय समेत रहेका शिक्षक घमण्ड बहादुर सिंहले बताउनुभएको छ ।

घरबाहिर भएकाले बुबा आमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । गौमुल गाउँपालिका–६ टाँडाकोटका स्थानीय मिलन रोकायाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्थानीय सरकारलाई धन्यवाद दिनुभयो ।

विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नुपर्ने भएपनि अब गाउँपालिकामा फोर जी सेवा सुरु भएपछि स्थानीयबासी दङ्ग परेका छन् । गाउँमै फोर जी सेवा सुरु भएको छ, इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । 

गाउँपालिकाका विकट वडामा फोर जी सेवा सञ्चालनमा आएपनि टु जी सेवालाई थप विस्तार गरी सहज टेलिफोन सेवा सुचारु गर्न सरकारसंग स्थानीयले माग समेत गरेका छन् । साभार गौमुल खबर
 

प्रतिक्रिया दिनुहोस