शुक्रबार, २८ बैशाख २०८१

गौमुलका ६ का ३६ परिवारका घरछाना हावाहुरीले उडाएर ध्वस्त

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–६ सालीकोटमा बाढी पहिरो प्रभावित परिवारका लागि निर्माण गरिएको घरमा हावाहुरीले ठुलो क्षति गरेको छ ।

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा बसाल्ने गरी तीनै तहका सरकारको सहकार्यमा निर्माण गरेका घरमा क्षति पुर्याएको हो । गौमुल गाउँपालिकाले सालीकोटमा जमिन खरिद गरी भर्खरै घर निर्माण गरिएको थियो । 

दिउँसो आएको हावाहुरीले नयाँ बस्ती सालीकोटमा निर्माण गरिएका ३६ वटा घरका जस्तापाता र काठ उडाएको गौमुल गाउँपालिका–६ का वडा सदस्य कलक चदाँराले जानकारी दिएका छन् । 

नयाँ बस्तीमा ११ वटा घर शहरी विकास र २५ घर गौमुल गाउँपालिका प्रदेश र संघीय सरकारले निर्माण गरेको थियो । परिवार सर्ने गरी ठीक्क पारिएका घरहरु हावाहुरीले ध्वस्त पारेपछि स्थानीय चिन्तित बनेका छन् ।

बाढी पहिरोको जोखिम र प्रभावित परिवारले नयाँ घर निर्माणसंगै ढुक्कसंग बस्न पाउने आश मानेका उनीहरुको फेरी आशामै सीमित बन्न पुगेको छ । वर्षातको समय ज्यान जोखिम राखेर बस्नुपर्ने बाध्यता हटेको भन्दै खुशी भएका उनीेहरु फेरी दुस्खित भएका छन् । 

गौमुल गाउँपालिकाले जोखिम बस्तीलाई सुरक्षित स्थानमा बस्ती स्तानान्तरण गर्ने गरी १० लाखमा सालीकोट भन्ने ठाउँमा जमिन खरिद गरेको थियो ।

पालिकाले संघ, प्रदेश र अन्य निकायसंग पहल र सहकार्य गरी २५ वटा घर ५ लाख बराबरमा र शहरी विकासले  एक घर ७ लाख लागत गरी ११ वटा घर ठेक्का सम्झौतामा निर्माण गरेको हो । तर यति ठुलो रकमले निर्माण गरिएका घर एक महिना नपुग्दै हावाहुरीले उडाएको छ । 

नयाँ घरमा बस्न तयारी अवस्थामा रहेका टुनी, बाम्नी, सालीकोट र शान्तिटोलका स्थानीयलाई झन समस्या थपिएको छ । वर्षायाम सुरु हुन करिव डेढ महिना मात्रै बाँकी छ । यो समयमा ढुक्कसंग बस्न दिनरात नभनी निर्माण गरिएका घर हावाहुरीले उडाई दिएपछि सिंगो बस्तीका बासिन्दा चिन्तित भएका वडा सदस्य कलक चदाँराले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस