मङ्गलबार, ०१ जेठ २०८१

माओवादीले बाजुरामा बैशाख १७ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने

बाजुरा : नेकपा माओवादी केन्द्रले बैशाख १७ गते जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । पार्टी सिद्धान्त, राष्ट्रिय राजनीति, सरकारले गरेका काम कारवाहीको अवस्था र संगठन सुदृढीकरणका लागि आगामी योजना बारे नेता कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । 

वडा कमिटी देखि पालिका, निर्वाचन क्षेत्र र जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य सहीत अगुवा कार्यकर्ताको सहभागितामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी नेता चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । मार्तडीमा हुने पार्टी प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको माओवादीले जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सहभागि हुन पार्टी उपमहासचिव गिरीराजमणी पोखरेल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश सहइन्चार्ज विना मगर, केन्द्रीय सदस्य सरदसिंह भण्डारी र प्रदेश कमिटी अध्यक्ष अरि चौधरी सहीतका नेताहरु मार्तडी आइसकेका छन् । 

बाजुरामा माओवादीले आफ्नो संगठन गाउँ स्तरमा कमजोर भएको महशुस गर्न थालेको छ । प्रदेश र केन्द्रमा सरकारको नेतृत्व माओवादीले गरिरहेको भएपनि गाउँतहमा निकै कमजोर भएको स्वयम नेताहरुले स्वीकार गर्ने गरेका छन् ।

नेता कार्यकर्तालाई योजना बारे जानकारी दिने, उर्जा भर्ने र पार्टी संगठन विस्तारको कार्ययोजनाबारे प्रशिक्षण गर्न लागिएको कार्यक्रम एकदिनसम्म चल्ने भएको छ । नेता कार्यकर्ता पनि गाउँबाट जिल्ला आउनेक्रम जारी रहेको माओवादीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस