बिहिबार, २७ बैशाख २०८१

चेतन हत्या घटनाको सर्वोच्चमा सुनुवाई सुरु : हत्या होइन, लडेर मरेको हुन सक्छ अभियुक्तका वकिलको तर्क

काठमाडौं : बाजुराको त्रिवेणीमा गत वर्षको आम निर्वाचन मंसिर ४ का दिन मारिएका चेतनदीप अयडीको हत्यामा जोडिएका अभियुक्तहरूको निवेदनमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । सुनुवाइ नसकिएकाले बिहीबार पनि निरन्तर हुने गरी हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह र अब्दुल अजिज मुसलमानको इजलासमा भएको बहसमा अभियुक्त पक्षका कानुन व्यवसायीले चेतनको हत्या नभई अरु कुनै दुर्घटनाका कारण मृत्यु भएको हुन सक्ने जिकिर पेस गरेका छन् । 

‘चेतन कसको चोटले मरे भनेर यकिनसाथ अभियोगपत्रमा खुलाइएको छै,’ कानुन व्यवसायीहरूले भने, ‘लडेर मरे कि, घाइते अवस्थामा गाडीमा राख्दा टाउकोमा चोट लागेर मरे कि ? कसैले स्पष्ट भन्न सकेको छैन । खाली अनुमानका आधारमा फसाउन खोजिएको छ ।’

अभियुक्त पक्षका कानुन व्यवसायीले चेतनकी बहिनी सुजातालाई प्रत्यक्षदर्शी पनि नभएको जिकिर गरेका छन् । चेतनमाथि कुटपिट भयो भनिएको समयमा सुजाता त्यहाँ नभएको र हजुरआमासँगै अन्यत्रै भएको दाबी उनीहरूको छ । 

साथै सुजाताको आफ्नै दाइको मृत्यु भएको अवस्थामा उनले भनेका कुरालाई प्रमाणमा लिन नहुने तर्क पनि गरेका थिए ।
यस्तै अभियुक्त पक्षका वकिलले चेतनका बुवा र आमाले चुनावका दिन नाटेश्वरी आधारभूत विद्यालयमा परिस्थितिलाई भड्काउन भूमिका खेलेको आरोप पनि लगाएका छन् ।

यस घटनालाई राजनीतिक भन्दै उनीहरूले चेतनदीप एमालेका एजेन्ट रहेको र १० जना अभियुक्तलाई कांग्रेस भएकै कारण थुनिएको उनीहरुको भनाइ थियो। हत्यामा संलग्नता खुल्न सक्ने कुनै प्रमाण नभएको दाबी पनि ती कानुन व्यवसायीले गरेका छन् । 

चुनावका दिन हुलदंगा भएकाले चेतनदीप पनि त्यही क्रममा परेको हुन सक्ने आशंका अभियुक्त पक्षको थियो । केही कानुन व्यवसायीले थुनामा रहेका १० जना अभियुक्तलाई नै साधारण तारेखमा छाड्नुपर्ने बताएका थिए भने केहीले भने अधिवक्ता जगतजंग बमले चारजना अभियुक्त प्रत्यक्ष संलग्न देखिएकाले बाँकीका हकमा थुनामुक्त हुने आदेश गर्न इजलाससमक्ष आग्रह गरेका थिए ।

सरकारी वकिलले भने घटनामा संलग्न नभएको कुनै पनि व्यक्तिलाई अभियुक्त कायम नगरिएकाले सबैलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्ने तर्क गरेका थिए । यस्तै जाहेरवाला एवं मृतकका बुवा गगन अयडीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले घटनालाई राजनीतिकरण गरेर अपराधलाई छोप्न नहुने तर्क गरेका छन् ।  

राजनीतिको आवरणमा अपराधलाई छोप्न खोजिएमा समाजमा दण्डहीनता र अराजतक झन् बढ्ने भएकाले अभियुक्तहरुलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने जकिर गरेका छन् ।

जाहेरवालाका तर्फबाट केही कानुन व्यवसायीको बहस बाँकी नै छ । बाँकी कानुन व्यवसायीले बिहीबार बहस गर्नेछन् । त्यसपछि निवेदक अर्थात् अभियुक्त पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । 

सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले चेतनलाई निहत्था अवस्थामा घरमै गएर कुटेको, हुल बाँधेर आक्रमण गरिएको, वडाध्यक्ष जुद्धबहादुर अयडीले मार्नका लागि पटकपटक निर्देशन दिएको, मरे नमरेको विषयमा जानकारी लिएको, घरभित्रै पसेर बहिनी सुजाताले नमार्न अनुनय गर्दा पनि सामान्य मानवीयता समेत नदेखाएको र यी कुरा ४ वटा भिडियोले पुष्टि गरेको भन्दै तथ्यहरू प्रस्तुत गरेका थिए । यति हुँदा पनि ती अभियुक्त छुटेमा पीडित परिवार र अरू पनि असुरक्षित हुने भएकाले थुनामुक्त गर्न नहुने तर्क पीडिततर्फका कानुन व्यवसायीले गरेका छन् । 

चेतन हत्याकाण्डको मुद्दा जिल्ला अदालत बाजुरामा विचाराधीन छ । यसमा २४ जना अभियुक्त रहेकामा १३ जना अझै फरार छन् । पक्राउ परेका ११ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले पनि त्यही आदेश सदर गरेको छ । 

थुनामा पठाउने जिल्ला र उच्चको आदेश बदर गर्न माग गर्दै अभियुक्त पक्ष सर्वोच्च अदालत पुगेका हुन् । थुनामा पठाउने आदेश भएकामध्ये एकजनालाई बिरामी भएका कारण उपचारमा पठाइएको छ । चेतन एमालेनिकट अनेरास्ववियुका केन्द्रीय नेता भएकाले यस मुद्दामा देशव्यापी चासो छ ।  

प्रतिक्रिया दिनुहोस