शुक्रबार, २८ बैशाख २०८१

बझाङमा ४९.१२ प्रतिशतमात्रै मतदान, भोलि मात्रै मतगणना

बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधाभन्दा कम मत खसेको छ । यहाँ ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।

उनका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताएका छन् । इलाममा ५७ प्रतिशत मत खस्दा बझाङमा निकै कम मत खसेको हो । 

उनका अनुसार अहिले मत पेटिका ल्याउने काम भइरहेको छ । साइपाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लिने काम भइरहेको छ । ती तीन वडाको मत पेटिका आइतबार हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिएका छन् ।

मतपेटिका आएपछि सर्वदलीय बैठक बस्ने र आइतबार दिउँसोबाटै मतगणना सुरु गर्ने तयारी भएको उनले बताए । बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुमध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन छ । 

प्रतिक्रिया दिनुहोस