आइतबार, १६ बैशाख २०८१

स्थानीय खाद्यबाली प्रबर्दन गर्न बडीमालिकाका विद्यालयमा दिवा खाजा कोदोको परिकार

स्थानीय खाद्यन्न प्रयोग गरे वर्षनी करोडौंको बचत र कृषि खेतीमा आकर्षण बढ्ने

बाजुरा : कोदो बाजुराका स्थानीयको रैथानी कृषि बाली हो । यहाँका अधिकांश किसानले कोदो बाली राम्रो उत्पादन गर्ने गरेका छन् । तर कोदोको महत्व भने अझै बुझेको देखिदैन् । अधिकांशले कोदोलाई कमसल बालीको रुपमा हेर्ने गरेका छन् । केहीको त कोदो खानेहरु गरिब हुन् भन्ने कमजोर मानसिकता पनि हाबी छ । 

पूजा, पाठ, ब्रतबन्द र अन्य सामुहीक भोज भतेरमा समेत कोदोको खानेकुरा प्रयोग गर्नु हुन्न, भन्ने मान्यता समेत हाबी छ । त्यही कोदो बाली सबैभन्दा बढी पौष्टीक र सुस्वास्थ्य आहार हो, भन्ने कुरा स्थापित हुन नसेको छैन् । बाजुरा कोदो खेतीमा लागि उर्वर भूमि हो । 

अन्य खाद्यन्न बाली, धान, गहुँ, मकै, जौको तुलनामा कोदा बाली नै धेरै उत्पादन हुने गरेको छ । कोदोलाई प्रमुख खानाको रुपमा प्रयोग नगर्दा नै जिल्ला बासीले चामल अभाव खेपीरहनु पर्ने बाध्यता छ । यही वास्तविकतालाई ध्यानमा राखेर बडीमालिका नगरपालिकाले भने कोदो बालीको प्रवद्र्धनको अभियान थालेको छ ।

कृषि ज्ञान केन्द्र, विश्व खाद्य कार्यक्रम र बडीमालिका नगरपालिकाको सयुक्त सहकार्यमा कोदोका परिकारलाई अनिवार्य खाना र नास्ताको रुपमा प्रयोग गर्ने र प्रमुख खाद्य बालीका रुपमा स्थापित गर्ने नीतिगत निर्णय नै गरिएको छ । बाजुराबाट यो वर्षमात्रै करिब ३६ लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको छ । 

चामल अभावको समस्याबाट मुक्त हुन र सबैभन्दा बढी पौष्टीक आहार पाइने खाद्य बालीको प्रवद्र्धन गर्ने नीति लिएर पालिका अघि बढेको नगर प्रमुख अमर खड्काले बताएका छन् । बडीमालिकाले नगर सभाबाटै कोदोलाई प्रमुख खाद्य बाली र पालिकाको खाजामा अनिवार्य गर्ने नीतिगत निर्णय गरेको छ । 

पालिकाकै निर्णयका आधारमा नगर भित्रका सामुदायिक विद्यालयको दिवा खाजामा कोदोको परिकार अनिवार्य गरिएको छ । सुरुवादी चरणमा हप्ताको १ दिन कोदोको परिकार खुवाउन सुरु गरिएको शिक्षा शाखा प्रमुख रंगमल विकले बताएका छन् । नगरपालिका भित्र २५ वटा सामुदायिक विद्यालय छन् ।

सरकारले विश्व खाद्य कार्यक्रम अन्र्तगत कक्षा १ देखि ६ सम्मका बालबालिकालाई अनिवार्य दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । बाहिरबाट ल्याएको खानेकुरा मात्रै भन्दा पनि पालिकामै उत्पादन गरिएको खाद्यन्न बालीको प्रवद्र्धन र उपयोगका लागि कोदोको परिकार अनिवार्य खुवाउन थालिएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन् ।

सरकारले कम्तीमा १५ रुपैया भन्दा बढीको खाजा एक जना विद्यार्थीलाई खुवाउनु पर्ने मापदण्ड बनाएको छ । बडीमालिकामा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या मात्रै ३ हजार ८ सय ५८ जना भन्दा बढी छन् । दैनिक १५ रुपैयाको खाजा खुवाउँदा पनि ४२ हजार ८ सय ७० रुपैया बढीको कोदो खपत हुने अनुमाग गरिएको छ । 

यो वर्षभरिको खाजामा कोदोकै परिकार खुवाउने र स्थानीय उत्पादनको प्रयोग गरिने हो, भनेपनि पौने करोड रुपैया पालिका भित्रै रहने विश्वास पालिकाको छ । कोदो विक्री भएमा किसानले पनि खेती गर्न मन गर्ने, रकम पनि पालिकामै रहने दीर्घकालिन योजना सहीत निर्णय गरेर कार्यान्वयन चरणमा लिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

यो वर्ष १५ दिनका लागि मात्रै सुरु गरिएको छ । बाँकी दिन विश्व खाद्य र नेपाल सरकारकै लगानीमा आउने खाजा खुवाइने छ । त्यसका लागि २ लाख ७५ हजार रुपैया पालिकाले नै छुट्याएर कोदो किनेर प्रत्येक विद्यालयमा दिएको छ । बालबालिकाले पनि कोदोको परिकार रुचाएका छन् । 

रोटी बाहेक अन्य, हलुवा, चक्ला, हिँडो लगाएको परिकार बनाउन सके बालबालिकामा कोदो प्रतिको रुचि बढ्ने, पोषण अवस्था सुधारमा सहयोग मिल्ने र स्वयम अभिभावकलाई पनि आर्थिक आम्दानी गर्न सजिलो हुने देखिएको छ । 

युवाहरुलाई खेती किसानीमा आकर्षण गर्न, कृषि पेशाको महत्व बढाउन र घरमै बसेर पनि आम्दानी हुन्छ भन्ने विश्वास दिलाउन पालिकाले रुैथानी बालीकोदो प्रवद्र्धन अभियान सुरु गरिएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । अभियान सफल बनाउने गरि पालिकाले किसानसँग पनि सहकार्य बढाइसकिएको उपप्रमुख थापाको भनाई छ ।

हाल सरकारले दिदै आएको दिवा खाजालाई मात्रै यहाँका विद्यालयले प्रयोग गर्ने गरेका छन् । तयारीमा साथ आउने र बनाउन सहज हुने भएपनि बाहिरको खाद्यन्न भन्दा आफ्नै बारीमा फलेको खाद्य बालीलाई स्थान दिनु पर्नेमा यहाँका जनप्रतिनिधीको जोड छ । आन्तरिक उत्पादन बढाउनका लागि नेपाल सरकारले नै देशव्यापी अभियान थाल्नु राम्रो हुने सुझाव बडीमालिकाको छ । 

बाजुराका नौ वटै स्थानीय तहले स्थानीय बालीको खाद्य परिकार दिवा खाजामा प्रयोग गर्न सकेपनि वर्षेनी करोडौंको आम्दानीको अवसर यहाँका स्थानीय किसानले पाउने थिए । विद्यालयमा समेत खाजाको रुपमा कोदोको परिकार समावेश हुँदा स्थानीयले घरमा समेत अनिवार्य खानाको रुपमा प्रयोग गर्ने र चामल अभावको समस्याबाट जिल्ला बासी मुक्त हुने अनुमान गरिएको छ ।

बालबालिकाको स्वास्थ्यलाई कोदोको परिकारले सकारात्मक प्रभाव पर्ने स्वास्थ्य कर्मीको सुझाव छ । पोषीलो हुने, कार्बोहाइडेट पनि अरुको भन्दा बढी पाइने र स्वास्थ्य लागि पनि भात भन्दा राम्रो नै हुने भएकोले बडीमालिकाले सुरु गरेको कोदोको परिकार अरुले पनि सिक्न जरुरी रहेको बडीमालिका स्वास्थ्य शाखा प्रमुख ललिता दानीले बताएकी छन् ।

सरकारले विद्यालय निरन्तरता र स्वास्थ्य सुधारका लागि भन्दै देश व्यापी दिवा खाजा कार्यक्रम सुरु गरेको हो । संस्थागत विद्यालयमा अभिभावक स्वयम खाजा खुवाउन गएपनि सामुदायिक विद्यालयमा विहान १० देखि ४ बजेसम्म बालबालिका भोकभोकै पढ्नु पर्ने बाध्यता थियो । 

भोकै बढ्नु पर्ने बाध्यता हट्दा, विद्यार्थी निरन्तरता पनि बढेको छ । भने शैक्षिक गुणस्तरमा पनि सुधार आएको शिक्षकहरुले बताउने गरेका छन् । साना कक्षाका बालबालिका खाजा खानकै आशले पनि नियमित विद्यालय आउने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस