शुक्रबार, २८ बैशाख २०८१

बझाङमा समाजवादीका दुई धार, जोशी पक्षले एमालेलाई सहयोग गर्ने र शाह पक्षले नगर्ने

बझाङ :  बझाङमा नेकपा एकीकृत समाजवादी भित्र दुई घार देखिएको छ । भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको हो । 

समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको छ । हार निश्चित भएकोले सत्ता गठबन्धन र वापन्थी दललाई नै सहयोग गर्नु पर्ने पक्षमा एक धार देखिएको छ । भने अर्को पक्षले कुनै हालतमा गर्न नहुने र एमालेलाई हराउनु नै समाजवादीको जित हुने रिस सहीत दुईधारमा विभाजित बनेका छन् ।  

वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरिसकेको छ । 

निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आँकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबी छ । एक समाजवादीका नेताले प्रदेश सरकार पनि जोगाउनु पर्ने छ । भोलि पार्टी एकता र सहकार्यको विषय पनि छ, हार्नु भन्दा एमालेलाई सहयोग गर्नु न्यायीक र उचित ठानेर निर्णय गरिएको जानकारी दिएका छन् ।

बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश सरकार गठनमा निणार्यक देखीएपछि एमाले र समाजवादी दुवैले हारे मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत पाउन कठिनाई हुने देखिन्छ । त्यसैले जोशी पक्षले एमाले उम्मेदवार दमन भण्डारीलाई सहयोग गर्ने सहमति गरेको श्रोतको दाबी छ ।

यही दाबी अनुसार नै एमाले केन्द्रीय सदस्य ऐन महरले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । । महरले शुक्रबार साझँ आफ्नो फेसबुकमा एकिकृत समाजवादीलाई सहमति र सहकार्यको लागि धन्यवाद व्यक्त गरेका छन् । 

तर समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायत उम्मेदवार दिलबहादुर सिहं पक्षले भने त्यसको विरोध गरेका छन् । उनीहरुले एमालेको हारजितसँग कुनै सरोकार नभएको र आफूहरु जित्ने दाबी गरिरहेका छन् । 

एमाले जित्नु भन्दा काँग्रेसले जितोस् भन्ने मान्यता गरिमा शाह पक्षको देखिन्छ । खासमा माधव कुमार नेपाल अहिले वामदलसँगको सहकार्य नहोस् भन्ने पक्षमा छन् । तर झलनाथ खनाल पक्षले त्यो कुरा अस्वीकार गर्दै आएका छन् । 

बझाङमा समाजवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्ने प्रचार झुटो भएको उक्त पक्षको दाबी छ । समाजवादीले अन्य कुनै दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पार्दै जिल्ला कमिटिले विज्ञप्तीसमेत जारी गरेको छ । तर मतदाताहरुले आफ्नो निर्णय गर्ने अनुमान पनि नेताहरुको छ ।

माओवादी र समाजवादी सहितका दलहरु जित्नका लागि नभइ अस्तीत्व रक्षाका लागि लागि परेको देखिएकोले मतदाताले काँग्रेस र एमाले मध्ये कुनै एक दललाई रोज्ने अनुमान पनि धेरैको छ । कतिपयले समाजवादी र माओवादी निकट पनि एमाले कार्यकर्ता देखिएकोले मतदान एमालेकै पक्षमा आउने विश्वास गरेका छन् । 

प्रतिक्रिया दिनुहोस