बिहिबार, २७ बैशाख २०८१

राजनीतिक स्थायीत्व र विकासका लागि काँग्रेस एमालेबीच सत्ता समिकरण हुनु पर्छ : काँग्रेस नेता शर्मा

गोविन्द्र केसीकै कारण स्वास्थ्य क्षेत्रको लगानी देश बाहिर गएको आरोप

बाजुरा : नेपाली काँग्रेसका नेता एंव प्रतिनिधी सभा सदस्य डाक्टर सुनिल शर्माले वर्तमान सरकार जनजीवीकाका सवालमा गैर जिम्मेवार बनेको आरोप लगाएका छन् । माओवाली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनताको पक्षमा भन्दा सत्ता बचाउने काममा लागेको शर्माको आरोप छ । 

सत्ता फेरबदलको महिना दिनमै काँग्रेस नेता शर्माले आक्रोशपूर्ण अभिव्यक्ति सहीत सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् । एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले मार्तडीमा पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको कडा विरोध गरेका छन् । 

सत्ता बचाउनु प्रमुख उदेश्य राखेर चलिरहेको सरकारले जनताका पक्षमा काम गर्नै नसक्ने शर्माको दाबी छ । शर्माले काँग्रेस र एमालेको सरकार बनाएर स्थायी विकास र सुशासनको पक्षमा काग गर्नु पर्ने बेला आएको बताएका छन् । पत्रकार सम्मेलन प्रेस युनियन बाजुराले गरेको हो । 

सरकार परिवर्तका कारण विकास निर्माण र अर्थतन्त्रमा सुधार आउन नसकेको शर्माको दाबी छ । काठमाडौं मेडिकल कलेजका मालिक समेत रहेका शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार नै देशको अर्थतन्त्र र विकासको जग भएको बताएका छन् । 

संसदले बनाउनु पर्ने कानुन बनाउन सकेको छैन् । सदन चल्दैन् । सरकार सत्ता टिकाउनमा केन्द्रीत छ । जनताका सवाल र अर्थतन्त्र सुधारको विषय कसैको ध्यान र जिम्मेवारीमा नगरेको आरोप लगाएका छन् । विरोध र प्रतिसोधले देश नबन्ने शर्माको भनाई छ । 

अहिले देशमा अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण राजनीति र दोषी दलका नेताहरु नै भएको शर्माको दाबी छ । डाक्टर शर्माले जनताका आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको निशुल्क ग्यारेन्टी गरिनु पर्ने धारणा राखेका छन् । 

हिमाली र स्वामिकात्र्तिक खापर पालिकासँगको सहकार्य, काठमाडौं मेडिकल कलेजको संयोजनमा आयोजना गरिएको शिविरमा ६ हजार बढीले सेवा लिएको शर्माले पत्रकार सम्मेलनमा दाबी गरेका छन् । उनले चुनाव जितेकालाई पाखा लगाएर समानुपातिकबाट आएकाहरुलाई मन्त्री बनाउने कुरा पनि जनमत विपरित र योग्यता माथिको अन्याय भएको बताएका छन् । 

शर्माले डाक्टर गोविन्द्र केसीलाई काँग्रेस भित्रै केही नेताहरुले बोकेर स्वास्थ्य क्षेत्र नै तहस नहस पारेको आरोप लगाएका छन् । स्वास्थ्य विषयको अध्ययनका लागि बार्षिक रुपमा अर्बै बजेट देश बाहिर पठाउनु पर्ने प्रमुख दोषी डाक्टर गोविन्द्र केसी र उनलाई संरक्षण गर्ने व्यक्तिहरु भएको जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन बाजुराका उपाध्यक्ष जयबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा काँग्रेसका नेता तथा प्रतिनिधी सभाका सदस्य डाक्टर सुनिलशर्मा प्रमुख अतिथी रहेका थिए । पत्रकार सम्मेलनमा खोटाङ जिल्लाका पुर्व पार्टी सभापति सुवास पोखरेल,नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश महासचिव हरिश भट्ट, पुर्व केन्द्रीय सदस्य दयाराम पण्डित सहीत सहभागि थिए । 
 

प्रतिक्रिया दिनुहोस