आइतबार, १६ बैशाख २०८१

एमाले बैतडीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा नरेश विक

बाजुरा : नेकपा (एमाले) बैतडीमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सहीतको टिम सर्वसम्मत चयन गरिएको हो । शिर्ष नेताहरु बीचको समझदारीपछि पाँच जना पदाधिकारी सर्वसम्मत चयन गरेर घोषणा गरिसकिएको छ ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउँद, उप सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पदाधिकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा भने अझै सहमतिको प्रयास जारी छ । 

सदस्य पदमा आकांक्षी बढीदेखिएकोले सर्वसम्मतीका लागि ढिलाइ भएको हो । सिंगो टिम नै सर्वसम्मत गर्ने गरि नेताहरु सक्रिय देखिएका छन् । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले उद्घाटन गरेको अधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागि थिए ।

अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने भने बाँकी रहेको छ । सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी काठमाडौं गइसकेका छन् । अहिले नेताहरु निरुदेवी पाल, राजेन्द्र रावल सहीत सहमतिका लागि जुटिरहेका छन् । 

अध्यक्षमा पाँच जना बढीले आकांक्षा राखेका थिए । सहमति पछि सबैले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेले देश व्यापी जिल्ला अधिवेशन गरिरहेको छ । सुदूरपश्चिमका नौ जिल्ला मध्ये कैलाली र दार्चुलामा यस अघि नै सम्पन्न भइसकेको छ ।

दार्चुलामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । भने कैलालीमा तीन जना बीच टिमगत चुनाव भएको थियो । बैतडीमा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । यही चैत्र १ र २ गते कंचनपुरको अधिवेशन हुने छ । भने डोटी र डडेल्धुराको अधिवेशन सारिएको छ । 

बाजुराको जिल्ला अधिवेशन चैत्र १६ र १७ गते गर्ने भनिएपनि सुरसार केही गरिएको छैन् । अछाममा अझै अधिवेशनको मिति तोक्न बाँकी छ । बझागंमा बैशाखमा हुने उपनिर्वाचत लक्षित केही समय पछि गर्ने गरि स्थगीत गरिएको छ । यस अघि तय गरिएको मितिमा प्रतिनिधी छनोट विवादले स्थगीत गरिएको थियो । डोटीमा पनि प्रतिनिधी छनोटमा विवाद देखिएको छ । 

प्रतिक्रिया दिनुहोस