शनिबार, १५ बैशाख २०८१

शिक्षिका हटाएकोमा विरोध सत्यसाई आधारभुत विद्यालयमा तालाबन्दी

राजनीति विचार नमिल्दा हटाएको आरोप

बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिका ३ मा रहेको सत्यसाइ आधारभुत विद्यालयमा तालाबन्दी गरिएको छ । ११ वर्षदेखि कार्यरत बाल विकास सेवा केन्द्रकी सहजकर्तालाई विना कारण हटाएको विरोधमा विद्यालयमा तालाबन्दी गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पालिका कमिटीले विज्ञप्ती जारी गर्दै विरोध सहीत पुर्नबहालीका लागि माग गरेको छ । पीडित पक्षहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । बार्षिक परीक्षा नजिक आइरहेको बेला विद्यालयमा तालाबन्दी गरिएपछि परीक्षा समेत प्रभावित हुने देखिएको छ ।

राजनीतिक विचार नमिलेकै कारण पालिका सरकारको निर्देशनमा सहजकर्तालाई आग्रह राखि अटाएको आरोप शिक्षक संगठनले विज्ञप्ती मार्फत लगाएको छ । विद्यालयकी सहजकर्ता सुनिता रोकायालाई पुर्नवहाली गर्नु पर्ने र शिक्षकमाथि गरिएको राजनीतिक विभेद हटाउनु पर्ने माग शिक्षक संगठनले राखेको छ । 

पेशागत संगठनमा आवद्ध शिक्षकहरुले पनि सुनिता रोकाया प्रति गरिएको अन्याय र विभेदका विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका छन् । पुर्नवहाली नभएसम्म तालाबन्दी जारी राख्ने अडान शिक्षकहरुको छ । तालाबन्दीको समर्थन र पुर्नवहालीको माग शिक्षक संगठनका चार वटै पालिका कमिटीले सयुक्त विज्ञप्ती मार्फत माग गरेका छन् ।

शिक्षक सुरुवा, प्रधानाध्यापक नियुक्ति र इ. सी. डीको बर्हिगमन तथा वि.व्य.स छनोटमा शिक्षा ऐन २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९ (संशोधनसहित) विपरत शैक्षिक ज्याजतीको असर शैक्षिक गुणस्तरमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दमन तथा शिक्षकको सहमतिविना पूर्वाग्रह रुपमा सरुवाको कार्य तत्काल फिर्ता लिएर शैक्षिक आतंक बन्द गर्न चार वटै पालिका नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्तीमार्फत चेतावनी दिएको छ । त्यसैगरि सम्पूर्ण शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुर्याउन विज्ञप्तीमार्फत सबैलाई आग्रह गरेको छ ।

शिक्षिका रोकाया २०६९ मंसिर १ गतेबाट सत्यसाई आविमा न्युन पारिश्रमिकमा इसीडीमा कार्यरत थिइन् । तर रोकायालाई एकएक पालिकाले हटाइएपछि तत्काल पुर्नबहालीको माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आजबाट विद्यालयमा तालाबन्दी गरेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस