आइतबार, १६ बैशाख २०८१

नेपाल स्काउटको सुदूरपश्चिम आयुक्तमा नरेन्द्र थापा

बाजुरा : नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन् । थापा मंगलबार प्रदेशको आयुक्तमा नियुक्त भएका हुन् । सामाजिक विकास मन्त्री झपड बहादुर साउँदले थापालाई प्रदेश आयुक्तमा निर्वाचित गरेका हुन् ।

प्रदेश स्तरीय स्काउट परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार सामाजिक विकास मन्त्रालय प्रदेश मन्त्रीलाई छ । आयुक्त थापा यस अघि प्रदेश संयोजकको रुपमा कार्यरत थिए । १२ वर्षदेखि स्काउटमा निर्वाचन हुन सकेको थिएन् । 

निर्वाचन प्रयोजनका लागि नेपाल स्काउटले प्रदेश संयोजक तोकेर पठाएको थियो । ती मध्ये थापालाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी थियो । प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो । 

अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ । नैतिकता सहीत जीवन विकास, काम प्रतिको जिम्मेवारी, सामाजिक सेवा र सहकार्यको भावना बोकेको स्काउट सुदूरपश्चिमका सबै पालिकामा सक्रिय छ ।

परिषद् सदस्य हुनका लागि नगरपालिका तर्फ २० इकाइ र गाउँपालिका तर्फ ५ इकाइ अनिवार्य गरिएकोले ८८ मध्ये सुदूरपश्चिमका ३५ पालिकाले आधिकारीता पाएका छन् । सबै पालिकामा स्काउट भएपनि मापदण्ड पुरा हुन नसकेका कारण ३५ पालिकाले मात्रै आधिकारीक दर्ता अधिकार प्राप्त गरेका छन् ।

प्रदेश परिषद् सदस्यका लागि १० पुरुष, १० महिला सक्रिय स्काउटर र ३ पुरुष ३ महिना तालिम दलका सदस्य गरि २६ सदस्यीय समिति गठन गर्नु पर्ने प्रावधान छ । सुदूरपश्चिममा भने हाल १७ सदस्यीय परिषद् रहेको र बाँकी थपिने नवनियुक्त आयुक्त नरेन्द्र थापाले बताएका छन् ।

एड्भान्स तालिम प्राप्त थापा लामो समयदेखि स्काउटमा सक्रिय छन् । थापा आयुक्तमा निर्वाचित भइसकेका पछि उनको कार्यकाल अब ४ वर्षको हुनेछ । भने ११ सदस्यीय कार्यकारी समिति गठन गर्ने अधिकार स्वयम थापाले पाउने छन् । थापाले स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने बताएका छन् । 

विद्यार्थी जीवनबाटै अनुशासन र आदर्श जीवन निर्माणमा स्काउटको महत्वपूर्ण भूमिका रहने भएकोले बद्ढो दुव्र्यशनी र कुलतबाट बच्न बचाउन स्काउन कार्य अनिवार्य जस्तै देखिएकोले आफ्नो कार्यकाल त्यसैमा केन्द्रीत गर्ने थापाले बताएका छन् । थापा लामो समयदेखि सामाजिक र राजनीतिक सेवामा सक्रिय छन् । 

स्काउट के हो ?

सुदूरपश्चिमसहित देशभर सक्रिय स्काउट विश्वको सबैभन्दा ठूलो अनौपचारिक शिक्षाको अभियान मानिन्छ। यसको विश्वमा ७० मिलियन बढी स्वयंसेवक रहेको दाबी गरिएको छ भने यसले मुलतः बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्छ । यसले सामाजिक, अध्यात्मिक, शारीरिक, बौद्धिक र भावनात्मक क्षेत्रमा कामहरु गर्दै आएको छ ।

सुदूरपश्चिममा मात्रै यसको १२ हजार विद्यार्थी सदस्यहरु छन्। पछिल्लो समय स्काउटमा प्रदेशभर आकर्षण बढ्दै गएको भएपनि यसमा प्रदेश सरकारले भने आवश्यक लगानी गर्न सकेको छैन ।

प्रदेश सरकारले समन्वय गरेर युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्न सके सामाजिक समस्याहरु निराकरणमा मदत पुग्ने स्काउटरहरुको विश्वास छ ।

स्काउट अभियान तथा स्काउटर बढाउन सके शान्तिपूर्ण सुदूरपश्चिम तथा प्रदेशका सामाजिक विकृति, कुरिती एवं विभिन्न सामाजिक समस्यासहित लागुऔषधसमेत कन्ट्रोल गर्न मदत पुग्ने आयुक्त थापाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस