शनिबार, १५ बैशाख २०८१

सर्वसम्मत नेतृत्व र एमालेलाई पहिलो पार्टी बनाउन उम्मेदवारी हो : अध्यक्षका प्रत्यासी जैसी

कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो । एमाले भित्र त उहाँ परिचित हुनुहुन्थ्यो नै । २०५८ सालमा अछाम सदरमुकाम माओवादीले गरेर ध्वस्त भएपछि उहाँले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उहाँलाई चिन्ने मौका पायो ।

शिक्षण पेशा छोडेर राजनीतिमा आउनु भएका जैसीसंग पार्टीको गाउँ कमिटीहुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ । उहाँले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसंग तत्कालिन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गर्नु भएको छ । ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति हुनुभएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष हुनुभयो ।

जैसी यसपटक एमालेको सुदूरपश्चिमको पहिलो अधिवेशनबाट प्रदेश अध्यक्षको दावेदार हुनुहुन्छ । प्रस्तुत छ : हाल प्रदेश कमिटीमा रहनु भएका नेता जैसीसंग प्रदेश अध्यक्षको उम्मेदवार हुनाका कारण लगायतका विषयमा गरिएको कुराकानीको सारसंक्षेप ।

तपाई अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ कसरी अघि बढिरहनु भएको छ ?
संविधान अनुसार मुलुक अघि बढोस त्यसका लागि हाम्रो पार्टी पनि ठिक तरिकाले अगाडि बढोस भन्ने हो । पार्टी प्रदेश कमिटीका बैठक बस्न गाह्रो छ, संरचना नै त्यस्तै छ । प्रदेशदेखि तलका कमिटीलाई व्यवस्थित गर्नका लागि मेरो आवश्यक्ता छ भनेर साथीहरुलाई भनिरहेको छु । म सित काम गर्ने समय र उर्जा दुईवटै कुरा छ, पार्टी राम्रो बनाउन सक्छु भन्ने विश्वास पनि छ त्यसैले मैले जिम्मेवारी पाउनुपर्छ भनेर लागिरहेको छु ।

तपाईको अध्यक्षको उम्मेदवारी घोषणा अलि हतार भयो भनिन्छ नि ?
पार्टीले प्रदेश अधिवेशनको मिति तोकेपछि म अध्यक्ष उठ्छु भन्दै आएको छु । पार्टीलाई अझ माथि उठाउन सक्छु भनेर अध्यक्षको उम्मेदवार समयमै हुनु ठिक हो नि । महाधिवेशनपछि केन्द्रीय कमिटीमा लैजाने पनि भनिएको थियो त्यो नभएपछि काम गर्ने ठाउँ त मैले बनाउनु पर्यो नि । मैले व्यक्तीगत लाभका लागि अध्यक्ष हुन गएको होइन, पार्टी बनाउन खोजेको हो ।

जनप्रतिनिधिहरु पार्टीको कार्यकारी पदमा हुनुहुन्न भन्ने नीति आएको छ यसलाई कसरी लिनु भएको छ ?
जनप्रतिनिधिले पार्टी काम गर्न गाह्रो हुन्छ । त्यसैले यो नीति ठिक छ । पहिले पनि पार्टीले यस्तो काम गरिसकेको छ । जस्तै म २०५४ मा जिल्ला विकास समितिको सभापति हुँदा पार्टी सचिव हुँ छाडेको थिए । २०५१ सालमा प्रतिनिधि सभा सदस्यहरुकाहरुले पनि पार्टी प्रमुखको जिम्मेवारी छोडेका थिए ।

उम्मेदवारका रुपमा प्रस्तुत भइसकेपछि तपाईमा पक्षमा कस्तो माहोल पाउनु भएको छ ?
मैले पार्टी अध्यक्ष केपी ओली , उपाध्यक्षहरु महासचिव शंकर पोख्रेल, उपमहासचिव र हाम्रो प्रदेशको इन्चार्जदेखि तलका साथीहरुसंग पनि आफ्नो उम्मेदवारीका बारेमा बताए । नेताले तपाई क्षमता भएको, चुनौतीको सामना गर्न सक्ने मान्छे हो भन्नु भएको छ । कार्यकर्ताले पनि तपाई अनुभवी हो, क्षमता छ, तपाईका समकक्षी र जुनीयर पनि माथिल्लो कमिटीमा छन् नेतृत्व लिनुपर्छ भनेका छन् । त्यसले गर्दा मेरो माहोल राम्रो छ । अझै पनि मेहनत गरिरहेको छु ।

त्यसो भए पार्टी केन्द्रबाट प्रदेश अध्यक्षका लागि ग्रिनसिग्नल पाउनु भएको हो र ? यता त तपाई बाहेकलाई केन्द्रले आधिकारिक उम्मेदवार बनाउने चर्चा भइरहेको छ ?
नेताहरुले मलाई तपाई काम गर्न सक्ने मान्छे हो भन्नु भएको छ । उहाँहरुसित म अध्यक्ष हुन्छु भनेर अरु साथीहरु जानु स्वभाविक हो । त्यसैले कसैले म आधिकारिक हो भन्न सक्छन, त्यस्तो प्रयास हुनसक्छ तर नेताहरुले यो आधिकारिक यो अनाधिकारिक भन्नुहुन्छ भन्ने लाग्दैन । मेरो पनि अध्यक्ष सहितका नेताहरुसंग दुई पटक कुरा भइसकेको छ । बरु मलाई संगठन छ, जनसंगठन छन्, सुवेच्छुक छन्, कार्यालय व्यवस्थित छन् , सबैतिरबाट प्रहार गर्दा पनि पार्टी समानुपातिकमा पहिलो पार्टी भयो तिमीले अलि मेहतन गर्दा पार्टी अझ उठ्छ भनेर नेताहरुले भन्नु भएको छ ।

सहमतिको कुरा पनि आएको छ नि तपाईलाई सहमतिका लागि केन्द्रले पछाडि हट्नु पर्यो भन्दा के गर्नुहुन्छ ?
म सहमतिका लागि बाधक होइन । तर तर्क र तथ्यले म हुन नहुने अर्को हुनु पर्ने कारण चै भन्नुपर्छ । अहिले जिम्मेवारी नभएर सबैभन्दा फुर्सदमा रहेको मै हो त्यसैले मेरो नाममा सहमति हुनुपर्छ । मैले पार्टीमा काम गरेको अनुभव नि छ । म भन्दा अर्को कसरी योग्य भयो त्यो पनि प्रस्ट भन्न सक्नु पर्ने हुन्छ । सहमितका लागि बलिदान र योगदान पनि हेर्नुपर्छ ।

अध्यक्ष हुनका लागि तपाईका ऐजेण्डा के हुन ?
जवजको सिद्धान्त अनुसार पार्टी संरचना बनाएर संचालन गर्नुपर्छ । मुलुक बनाउने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पूरा गर्न सादा जीवन विताएर, कम खर्च गरेर, भ्रष्टाचार रोक्नका लागि पार्टी परिचालन गर्नुपर्छ । प्रदेशमा पार्टी बनाउन समय दिन सक्ने, पार्टी एकतावद्ध बनाउने काम गर्नुपर्छ ।

मिसन २०८४ मा स्थानीयदेखि प्रदेश र केन्द्रमा सरकार बनाउनका लागि सुदूरपश्चिममा पार्टीलाई एक नम्बर बनाउन पहल गर्ने छु । प्रदेश कमिटीले मातहतका कमिटीलाई मात्र होइन केन्द्रलाई पनि काम गर्न सजिलो बनाउने वातावरण तय गर्नेछ । म अध्यक्ष हुँदा व्यक्ति हीतको होइन पार्टी हितको चिन्तन बोक्ने वातावरण बनाउने छु । मूल्यांकन प्रणाली व्यवस्थित भएको बनाइने छ । जसले पार्टी बलियो बनाउन मद्धत पुग्नेछ ।

एमालेको सदस्यता नविकरण गर्नेहरु घट्न थाले भन्ने छ, बरु नयाँ पार्टीमा आकर्षण बढेको छ, तपाई अध्यक्ष भएपछि यो अवस्था कसरी सुधार हुन्छ ?
सैद्धान्तिक ज्ञान, कम्यूनिष्ट आचरण ठिक हुनु पर्यो । त्यसले अरुलाई प्रभाव पार्नु पर्यो त्यसले सदस्य संख्या बढ्छ । आफूले नगर्ने अरुले सदस्य बनाइ दिने । जिम्मेवारी पनि नदिइने, त्यसले गर्दा सदस्यता नविकरण भयो भएन मतलव हुँदैन । संगठन परिचालन हुनु पर्ने ।

सदस्यहरुले के का लागि पार्टी भन्ने बुझ्न सक्नुपर्छ । कर्तव्यवोध हुनु पर्यो । लाभका निम्ति मात्र बुझ्नु भएन । नयाँ पुस्ताले नयाँ खोज्छन् रहर गर्छन कहिलेसम्म टिक्छन् भन्ने हो । हामी नयाँ पार्टी जस्तो सिद्धान्तहीन हुन सक्दैनौ । संगठन परिचाल हुन सक्नु पर्यो । आन्दोलनका लागि समाजबादका लागि हो सदस्यता भन्ने बुझ्नु पर्छ । हामी इमान्दार भएर लागेर युवाको चाहना बुझेर जानुपर्छ ।
दुई, दुई पटक केन्द्रीय सदस्य भएका तल आउनु भन्दा माथि नै काम गर्नु पर्यो । तलतल अरुले काम गर्न पाउनु पर्छ । पार्टी सबै मिलेर बनाउने हो जिम्मेवारी सबैले पाउदा पार्टीमा आकर्षण बढ्छ । त्यसतर्फ म ध्यान दिनेछु ।

तपाईका समकक्षी केन्द्रकै माथिल्लो कमिटीमा पुगेका छन्, तपाई भन्दा पछिका पनि केन्द्रमा पुगिसके त्यो अवस्था देख्दा किन पछाडि परे भन्ने लाग्छ ?
म माथिल्लो कमिटीमा नपुगेमा कुनै तनाव छैन । जसले जिम्मेवारी लिएको छ उसले काम गरेपछि म भन्दा सिनियर होस कि जुनियर राम्रो लाग्छ । सँधै हामीले गर्नुपर्छ भन्ने पनि हुँदैन । तर काम गरेन भने तनाव हुन्छ । आफू जिम्मेवारी नहुँदा त्यो काम गर्न पनि सकिन्न ।

अन्त्यमा तपाईलाई लाग्ने आरोप पार्टी भित्रका धारमा तपाई अस्थिर हुनुभयो भन्ने छ नि, यो कुरालाई कसरी लिनुहुन्छ ?
त्यो कुरालाई म सामान्यरुपमा लिन्छु । पार्टीका महाधिवेशन वरपर त्यस्तो हुन्छ तर पछि हामी एकाकार भएर अघि बढेका छौ । म जैले पार्टी जोगाउन लागेको छु , मुल कुरा कठिन अवस्थामा पार्टी जोगाउन लाग्यो कि लागेन भन्ने हो । २०५४ मा पनि पार्टी भनेकै एमाले रहन्छ भनेर एमाले बचाउन लागे पछिल्लोपटक पनि विभाजनको विरुद्धमा लागे ।

हो नवौ महाधिवेशनमा कमरेड भीमबहादुर रावललाई उपाध्यक्ष जिताउने लागियो त्यसैले पनि कतिपयले त्यस्तो टिप्पणी गर्छन । रावललाई उपाध्यक्ष जिताएर सुदूरपश्चिमको प्रतिनिधित्व केन्द्रीय पदाधिकारीमा गराउनु ठिक थियो । आठौमा उहाँ उपाध्यक्षमा हार्नु भएकोले जिताउनुपर्छ भन्ने लागेको हो । पार्टी भित्र हुने धारका कुरा स्वभाविक हुन । यस्ता कुरा महाधिवेशनका बेला मात्र हुनुपर्छ सँधै हुनुहुन्न । मसंग जोडिएका यी, यस्ता कुरा अध्यक्ष केपी ओलीसित गरेको छु ।

प्रस्तुती :प्रकाशविक्रम शाह

प्रतिक्रिया दिनुहोस