शुक्रबार, २८ बैशाख २०८१

शल्यक्रिया सेवा सञ्चालन पछि विरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल

१ वर्षको अवधीमै सय बढीको सफल शल्यक्रिया

मिन बहादुर खड्का 
बाजुरा : बाजुरा जिल्ला अस्पतालमा विरामीको चाप बढेको देखिन्छ । कुनै बेला अस्पताल नपुगी मेडिकलबाटै फर्किने विरामी पनि अस्पताल पुग्ने गरेका छन् । भने जटिल प्रकृतिको रोग समस्या भएकोहरु पनि बाजुरा जिल्ला अस्पताल अनिवार्य पुग्ने गरेका छन् । त्यसकै एउटै कारण हो, अस्पतालले सेवाको गुणस्तर सुधार गरेको छ । 

डाक्टर नबस्ने, उपचार सेवामा विश्वस्त हुन नसकिने र सामान्य चेकजाँच बाहेक अर्को सुविधा नपाइने आरोप सहन बाध्य बाजुरा जिल्ला अस्पताल केही वर्षयता धेरै फेरिएको छ । अति जोखिम र जटिल प्रकृतिको विरामीलाई बाहेक अन्य उपचार सेवा बाजुरा जिल्ला अस्पतालमै उपलब्ध भइरहेको कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।

विरामी आउने, पुर्जा लिने र सामान्य परामर्श बाहेक अन्य सेवा नपाउँदा हैरानी बेहोर्न बाध्य बाजुरा बासीका लागि पछिल्लो सयम उपचार सेवाको गुणस्तर र सेवा प्रवाहमा व्यापक सुधार भएको देखिन्छ । शल्यक्रिया देखि हाडजोर्नीको सफल उपचार बाजुरामा हुने गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

डाक्टर बस्नै मान्दैनन्, सेवाको गुणस्तर नै छैन्, विरामी पुग्दा पनि उपचार पाउदैनन्, भन्ने अवस्थामा सुधार ल्याएका छौं, केही थप विशषेज्ञ डाक्टर ल्याएर नयाँ भवन हस्तान्त्रण हुने वित्तिकै थप सेवा विस्तार गर्छौ, अध्यक्ष कार्कीले भन्नु भयो ।

अस्पतालले सस्तो र सुलभ सेवा दिने गरेकोमा खप्तड छेडेदह गाउँपालिका ५ डोगडीका गजिरे बुढा सन्तुष्ट छन् । सात वर्षकी छोरीको हात भाँचीएपछि बुढा उपचार सेवाका लागि बाजुरा अस्पताल पुगेका थिए । यस अघि बयालगडा र धनगढी जाने गरेका थियौं, यो पटक बाजुरा अस्पतालमै हुन्छ भन्ने जानकारी पछि आएको र उपचार सेवा पाउँदा खुसी लागेको बुढाले बताएको छ । 

अस्पतालले २०७९ फागुन २३ गतेदेखि शल्यक्रिया सेवा सञ्चालन गरेको हो ।  हालसम्म ५० भन्दा बढी जटिल प्रकारका रोगहरुको उपचार जिल्ला अस्पताल बाजुरामै गरिएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । केही समस्या देखियो, काम गर्दै जाँदा कमजोरी भएको विषयलाई मात्रै हाइलाइट गरिन्छ, राम्रा काम पनि धेरै भएका छन्, त्यसको प्रचार नै हुदैन्, अधिकारी गिरीले भन्नु भयो ।

१ सय जना बढी हात खुट्टा भाँचीएका विरामीको मात्रै सफल उपचार गरिएको अस्पतालसँग तथ्याकं छ । विगतमा रिफर हुने करिव ९० प्रतिशत बढी विरामीलाई जिल्लामै उपचार गराउन सफल भएको दाबी सूचना अधिकारी गिरीको छ । हाल दैनिक १ सय माथि विरामी उपचारका लागि बाजुरा, हुम्ला, मुगु सहीतका जिल्लाबाट आउने गरेका छन् । 

रिफर गर्दा आर्थिक भार थपिन्थ्यो, समयमै भनेको अस्पतालमै लैजान विरामीका आफन्तसँग आर्थिक समस्या हुँदा ज्यान जाने जोखिम थियो । आफ्नै जिल्लामा उपचार पाउँदा खुसी लागेको बडीमालिका ६ की शान्ति बडुवालले बताएकी छन् ।  ऋण निकालेर उपचारका लागि जानु पर्ने, ठुलो आर्थिक नोक्सानी बेहोर्नु पर्ने बाध्यता हटेको बताउँछन्, बडुवाल । 

खप्तड छेडेदहका गजिरे बुढा र बडीमालिकाकी शान्ति बड्वाल उदारण मात्रै हुन् । उनी जस्तै सयै विरामीलाई सहज भएको छ । कर्मचारी व्यवस्थापन, भवनको अभाव र केही आर्थिक श्रोत व्यवस्थापन हुन नसक्दा समस्या देखिएपनि उपचार सेवामा कुनै कमी नभएको दाबी अस्पतालको छ । 

बाजुरा जिल्ला अस्पताल लामो समय देखि डाक्टर विहिन हुने समस्यामा गुज्रिएको थियो । काम गर्नका लागि कोही आउनै नमान्ने गरेको विगत यतिबेला बदलिएको छ । करार सेवाका लागि आएपनि ठुलो संख्यामा बिशषेज्ञ सहीत डाक्टरहरु सेवामा रहेकोमा विरामीलाई ठुलो सहयोग मिलेको छ ।

केही दिन अगाडि मात्रै अस्पतालले अत्याधुनिक एक्सरे मेसिन सञ्चालन गरेको छ । अप्रेशन गर्नुपर्ने र हाड जोर्नीका विरामीलाई मेसिन सञ्चालनसँगै थप सहज भएको डाक्टर रोशन भट्टाराईले बताएका छन् । डाक्टर भट्टाराइ नै आएदेखि सय बढी हात जोर्नीका विरामीले जिल्लामै उपचार सेवा पाएका छन् । औजार उपकरण पनि अस्पतालमा एकपछि अर्को थपिदैं गएका छन् । 

यस अघि सामान्य चोट लागेको विरामीलाई पनि जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता थियो । जिल्लामा ८ जना चिकित्सकको दरबन्दी कायम छ । दरबन्दीमा कोही नभएपनि एकजना एमडिजिपी सहित १० जना मेडिकल अधिकृत गरी हाल ११ जना चिकित्सक सेवारत छन् ।

अस्पतालमा ७८ जना करार सेवाका स्वास्थ्य कर्मी कार्यरत रहेका छन् । अस्पतालको आन्तरिक श्रोतबाटै सेवा प्रवाह गर्नु पर्ने बाध्यताले भनेको जस्तो गर्न सकिएको छैन्, अझै थप व्यवस्थीत र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रयासरत रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

सीमित श्रोतसाधान, अप्रर्याप्त भवन संरचनाका बीच पनि अस्पतालको सेवा निकै प्रभावकारी र गुणस्तरीय रहेको छ । विरामी समेत सन्तुष्ट हुने गरेको पाइएको छ । अस्पतालसँग शब बहान र एम्बुलेन्स छ । तर एउटैले धेरै विरामी रिफर गरे लैजान र गाउँबाट विरामी बोकेर अस्पताल पुर्याउन समस्या छ । त्यही बाध्यताका कारण अधिकांश रिफर गरिएका विरामीले सार्वजनिक बस चढ्नु पर्ने बाध्यता छ । 

अस्पतालसँग भएको तथ्याकं अनुसार ४ बर्षको अवधीमा १२ जना सुत्केरीको मृत्यु भएको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा ४ जना सुत्केरीको मृत्यु भएको हो । निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि पनि अस्पताल लागि परेको छ । 

अस्पतालमा स्त्रीरोग विशषेज्ञ सेवा पनि छ । पाठेघर खसेका र यौनरोगसँग सम्बन्धीत समस्या भएका विरामीहरुका लागि जिल्ला बाहिर जानु पर्ने समस्या हटेको छ । गाउँका महिलाहरुले स्वास्थ्य कर्मीको अघि समस्या भन्न, अंग देखाउन लाज मान्ने गरेपनि सेवा लिनेको संख्या उल्लेख्य देखिन्छ । 

दन्त उपचार सेवा पनि सञ्चालनमा छ । आधुनिक औजार उपकरण सहीतको ल्याव र भिडियो एक्सरे सेवा सञ्चालन पछि झनै सहज भएको स्वास्थ्य कर्मीले बताउने गरेका छन् । डाक्टर नियमित बस्न थालेका छन् । 

उपचारका लागि जिल्ला बाहिर जाने गरेका विरामी पनि अस्पतालमै आउने गरेको अवस्था छ । यति हुनु भनेको अस्पतालको सेवा सुधार भएको प्रमाण हो, यस्लाई बढाउदै लैजानेमा विश्वस्त हुन कार्यालय प्रमुख डाक्टर मिलन जोशीको आग्रह छ ।

सडक समस्याले समयमै विरामी अस्पताल पुर्याउने अवस्था छैन् । कोल्टीको हवाइ सेवा पनि प्रभावकारी छैन् । मौमस समस्या देखाएर आफू अनुकुल उडान भर्ने गरेको देखिन्छ । जुन कारण विरामीले समयमै उपचार नपाउने र अकालमै ज्यान गुमाउनु परेको अवस्था छ । यो समस्या हल हुने एउटै उपाय अस्पतालको सेवा सुधार गर्ने र सडक सञ्जाल प्रत्येक पालिकाबाट मार्तडीसम्म सडक सञ्चालन हुने गरि सुधार गर्नु बाहेक विकल्प देखिदैन् । 

प्रतिक्रिया दिनुहोस