शनिबार, २९ बैशाख २०८१

मालिका माविका स्काउट विद्यार्थीले गरे मार्तडी बजारको सरसफाइ

बाजुरा : मालिका नमुना माविमा अध्ययनरत स्काउट दलमा आवद्ध विद्यार्थीले मार्तडी बजारको सरसफाइ गरेका छन् । बजारमा फोहरको मात्रा बढेपछि स्काउटमा आवद्ध विद्यार्थीले दिनभर मार्तडी बजारको सरसफाइ गरेका हुन् । सरसफाइ कार्यमा स्काउटका ८० जना स्काउटको सहभागि थियो ।

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाको नेतृत्वमा सरसफाइ गरिएको हो । जताततै ठोसयुक्त फोहरमैलाको मात्रा बढेकोले स्काउट विद्यार्थीलाई सरसफाइ गर्न लगाएको मालिका स्काउट शिक्षक गोरख बडुवालले बताएका छन् । 

पालिकाले टिप्पर नियमित सञ्चालन गरेपनि सार्वजनिक स्थलको फोहर संकलन गरिएको छैन् । रातीको समयमा स्थानीयले सार्वजनिक स्थलमा फोहर फाल्ने र उठाउन कसैले पहल नगर्ने भएपछि फोहरको मात्रा बढेको हो । 

पालिकाले समेत फोहर संकलनमा चासो दिएको देखिदैन् । घरबाट संकलन गरिएको फोहर स्थानीय आफैले टिप्परमा हाल्ने भएपछि व्यवस्थापन भएपनि सार्वजनिक स्थलको अवस्थामा दुर्गन्धीत देखिएको छ । 

मालिका मन्दिर परिसर, बाजुरा जिल्ला अस्पताल, खुला मञ्च, खेलकुद परिसरको फोहर संकलन गरिएको छ । मार्तडी बाजुरा जिल्लाको सदरमुकाम हो । सरमुकाम सुन्दर र सफा हुनु पर्नेमा पालिका जिम्मेवार नदेखिएको आरोप सर्वसाधारणकै छ । 

अघिल्लो कार्यकालमा सञ्चालन गरिएको बृहत मार्तडी सरसफाइ अभियानलाई अहिले निरन्तरता दिइएको छैन् । बडीमालिका नगरपालिका ९ ले पनि वडाका तर्फबाट सञ्चालन हुने सरसफाइ गतिविधी गरेको छैन् । 

दिनभर सरसफाइ कार्यबाट संकलन गरिएको फोहर खुला मञ्चमा राखिएको छ । भोलि विहान टिप्परबाट लैजान खुला मञ्चमा राखिएको बताइएको छ । मार्तडीमा अव्यवस्थीत  खानेपानी र फोहर मैलाका कारण दुर्गन्ध बढ्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस