बिहिबार, २७ बैशाख २०८१

एमाले उम्मेदवार दमनको बाध्यता : किरिया घरबाटै चुनावी प्रचार, ढाडसदिन घरमै पुग्न थाले मतदाता

बझाङ ः सेतो वस्त्र सहीतको पोशाक, बन्द कोठा भित्रको बसाइ, सीमित व्यक्ति र आफन्तको सम्पर्कमा मात्रै छन्, दमन भण्डारी । घरबस्ती र टोलमै पुगेर मतदाता भेट्नु पर्ने, चुनावी रणनीतिका साथ नेता कार्यकर्तासँग हिँड्नु पर्ने र सबैजसो मतदातासँगको सम्पर्क बढाउनु पर्ने बेला भण्डारीलाई किरिया घरको बन्द कोठामै बस्नु पर्ने बाध्यता आइलागेको छ ।

उनी नेकपा एमालेको तर्फबाट बझाङ प्रदेश निर्वाचन क्षेत्र १ का उम्मेदवार हुन् । चुनाव बैशाख १५ गते हुदैछ । मतदानको समय आउन २ दिनपनि बाँकी छैन् । विडम्वना भण्डारीले चुनावी यात्राकै दौरानमा बुबा गुमाउनु पर्ने बाध्यता बन्यो । बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार निधन भयो ।

बुबाको निधनपछि भण्डारी सामाजिक संस्कार अनुसार किरिया कर्ममा छन् । जुन कुरा भण्डारीले सोचेका पनि थिएनन् । जितको खुसी बुबालाई बाँड्ने सपना अधुरै रह्यो । अहिले तीन दाजुभाइका साथ भण्डारी किरिया कर्म गरिरहेका छन् । मृत्यु एकदिन सबैको अनिवार्य नै हो, तर शक्ति बटुल्ने बेला शोकको सामाना गर्नु भण्डारी र एमालेजनका लागि पनि अप्रिय परिस्थिति नै आएको देखिन्छ ।

चुनावी क्षेत्रका केही टोल, बस्तीमा पूर्व घोषित र निर्धारित कार्यक्रम स्थगित गर्नु पर्ने अवस्था आयो, भेट्ने चाहना, जनताका कुरा सुन्ने, आफ्ना योजना, ऐजेण्डा सहीतका कुराहरु भेटेरै सुनाउने कुरा समेत अधुरै रहेको पीडा किरिया घरमा बसेर भण्डारीले फोन मार्फत सुनाए ।

भण्डारी २०५४ सालमा तत्कालिन गाउँ विकास समिति अध्यक्ष बनेका थिए । त्यो बाहेक कुनै राजकीय पदमा बसेका छैनन् । हाल नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष हुन् । चुनावी मावल पनि भण्डारीको पक्षमा राम्रै बनिरहेको छ । कानुनी पृष्ठभूमिका भण्डारी सबैका प्यारा र सहज नेताको छवीले चिनिन्छन् ।

११ जना उपनिर्वाचनको चुनावी प्रतिस्पर्धामा छन् । ती मध्ये पनि भण्डारी र नेपाली काँग्रेसका अभिषेक बहादुर सिंह बीच कडा प्रतिस्पर्धा देखिन्छ । काँग्रेसबाट उम्मेदवार बनेका र गठबन्धनको साथ पाएर जितेका नेता पृथ्वीबहादुर सिंहको गएको असारमा सवारी दुर्घटनामा परि निधन भएपछि बीच उपनिर्वाचन हुन लागेको हो ।  

उपनिपर्वाचनमा उम्मेदवार बनेका एमाले नेता दमन भण्डारी किरियामै चुनाव लडिरहेका छन् । भने अभिषेक पनि बुबाको निधन पछि सोही स्थानमा टिकट पाएर चुनावी मैदानमा छन् । दुबैजना सेतो वस्त्रमै चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । दुबै पार्टीका नेताहरु चुनाव पक्षमा पार्न कसरतमा छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पुरै चुनाव अवधी बझाङमै बसेर चुनावी प्रचारमा छन् । एमाले नेताहरु राजेन्द्र सिंह रावल, भैरवबहादुर सिंह, अफिलाल ओखेडा, आशा थापा, ऐन महर, अर्जुनबहादुर थापा सहीत सबै चुनावमै सक्रिय छन् ।

यता नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे, नेताहरु एनपीसाउँद, रमेश लेखक सहीत सिंगो टिम चुनावकै लागि परिचालित छ । माओवादीका नेता खगराज भट्ट, विना मगर सहीत पनि चुनावी प्रचार गरेर फर्किसकेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरु भानुभक्त जोशी, गरिमा शाह सहीत पनि सक्रिय छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेल, रवीन्द्र मिश्रहरु पनि चुनाव प्रचार गरेर फर्किएका छन् ।

आजैबाट मौन अवधी सुरु हुनेछ । प्रचार गर्नु पर्ने, भेट्नु पर्ने सबैटोल, बस्ती, नेता कार्यकर्ता, मतदाता भेट्यौं, तरपनि थप भेट्ने रहर थियो, बाध्यताले जान सकिएन, फोनबाटै सम्पर्क र सम्बन्ध जोड्नेकाममा लागि रहेको भन्छन्, एमाले उम्मेदवार दमन भण्डारी । भण्डारीको यो पटक राम्रो मावल बनिरहेको छ ।

उनी किरिया घरबाटै चुनाव प्रचार गरिरहेका छन् । गाउँ गाउँमा संभव भएजतिलाई फोनबाटै मतमागिरहेका छन् । रपनि शक्ति आर्जन गर्ने र जितको खुसी मनाउने बेला नजिक पीतृशोक सहनुपर्ने अवस्था आएपछि मतदाताको सहानुभूति बढीरहेको देखिन्छ । किरिया घरमै पुगेर भण्डारीलाई ढाडस दिने कार्यमा मतदाता देखिन्छन् ।

भेट्न आउने र सहयोगको बचन दिनेहरुको बाक्लो उपस्थिति किरिया घरमै देखिन थालेको छ । एमाले बाहेक, काँग्रेस, माओवादी र समाजवादीका नेता कार्यकर्तार आस्थावान मतदाताले पनि भेटेरै साथ दिने, मतदान दिएर पीडामा मलहम लगाउन सहयोग गर्ने बचन दिइरहेको उम्मेदवार दमन भण्डारीले बताए ।

घरमै आउनेक्रम बढीरहेको छ । मैले गाउँमा पुग्दाको भन्दा मावल थप सुधारको संकेत देखियो, अरु दलमा आवद्ध साथीहरुले पनि मतदान गर्ने बचन दिइरहेका छन्, शोकलाई शक्तिमा बदल्ने यो भन्दा ठूलो सहयोग अरु के हुन सक्छन र, भण्डारीले भने । किरिया घरमै बस्ने कुराले प्रचारमा असर पार्ने चिन्ता थियो, थप राम्रो हुदै गएको छ, भण्डारीले थपे ।

हामी जितको नजिक छौं, मेरो इमान्दारीता, म प्रतिको विश्वास, पार्टीमा लामो समयदेखि गरेको योगदान र बझाङ बासीको म प्रतिको विश्वास नै जितको आधार हो, आमा हुनुहुन्न, जितको खुसी बुबालाई पनि बाँड्ने रहर अधुरै रहेपनि जनताको सेवामा समर्पित हुने चाहना मतदाताबाट पुरा हुने भण्डारीको विश्वास छ ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधी निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।

२०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । २०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो ।

२०७२ पछि एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेशसभा– १ मा एमाले र २ मा माओवादी केन्द्रले जित्यो ।

एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार व्यहोरेको थियो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभामा एमाले नील भयो । गठबन्धनका दलहरुले चुनाव जिते पनि प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस