सोमबार, ०७ जेठ २०८१

बाजुरामा पनि मनाइयो स्वास्थ्य बीमा दिवस : विपन्नको साहरा बनेकोमा सेवाग्राही खुसी

बाजुरा : स्वास्थ्य बीमा बोर्डले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने गरि स्वास्थ्य बीमा बोर्ड र नेपाल सरकारको सयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । सेवा सञ्चालन गरिएको आठ वर्ष पुरा भएको छ । 

आठौं बार्षिक उत्सव कार्यक्रम बाजुरामा पनि मनाएको बाजुरा जिल्ला संयोजक तारा रोकायाले जानकारी दिएकी छन् । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषय सरोकारवाला निकाय बीच अन्र्तक्रिया गरि दिवस मनाइएको हो । बाजुरा जिल्ला अस्पतालमा आठ वटा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

बाजुरा जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर समिता पुनको अध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । स्वास्थ्य बीमा संकलन कर्ता, बीमाबाट सेवा लिएका विरामी र सेवाग्राहीहरु, सेवा प्रदायक स्वास्थ्य कर्मी, पत्रकार सहीतको उपस्थितिमा दिवस मनाइएको हो । 

दिवसको अवसरमा सेवाग्राहीले स्वास्थ्य उपचार सेवाका लागि स्वास्थ्य बीमा साहरा बनेको बताएका छन् । बीमा सेवाग्राही सरिता दास नेपालीले ३५ सय रुपैया तिरेर १ लाख बराबरको उपचार सेवा पाउनु विपन्न परिवारका लागि निकै खुसीको कुरा भएको बताएकी छन् । 

स्वास्थ्य बीमा शुल्क समेत तिर्न मुस्कील पर्ने परिवारका लागि ठुलो राहत मिलेको सरिता दास नेपालीले बताएकी छन् । बाजुरामा करिब ३५ हजारको संख्याले स्वास्थ्य बीमा सेवा लिएका छन् । २०७४ सालबाट बाजुरामा सेवा सञ्चालन गरिएको हो । भने हाल नौ वटै स्थानीय तहमा सञ्चालनमा रहेको जिल्ला संयोजक तारा रोकायाले जानकारी दिएकी छन् ।

स्वास्थ्य बीमा कार्यालय जिल्ला संयोजक रोकायाका अनुसार सेवाविन्द्र कार्यालय बाजुरा अस्पताल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र तोकिएपनि कोल्टीमा प्रभावकारी फार्मेसी सेवा नहुँदा सेवा प्रभावमा समस्या भएको बताएकी छन् । बाजुरा जिल्ला अस्पतालबाट भने नियमित सेवा उपलब्ध हुने गरेको डाक्टर समिता पुनले बताएकी छन् ।

बीमा गरेको प्रमाणको आधारमा सेवा दिने गरिएको र बीमाको रकम भुक्तानीमा समस्या भएपनि विरामीलाई कुनै समस्या नहोस् भन्ने कुरामा अस्पताल प्रष्ट रहेको कार्यालय प्रमुख समेत रहेकी डाक्टर समिता पुनले बताएकी छन् । स्वास्थ्य बीमा कार्यक्रमले सबैभन्दा बढी विपन्न परिवारहरु लाभान्वीत भएका छन् ।

सुरुमा अतिविपन्न परिवारलाई बीमा निशुल्क गरिएको भएपनि पछि राज्यले सबैलाई ५ जना परिवार बराबर ३ हजार ५ सय र थप १ जना थपिएको हकमा ७ सयका दरले थप शुल्क लिएर विमा भर्ने गरेको छ । सो वापत १ लाख बराबरको बार्षिक स्वास्थ्य उपचार सेवा लिने गरेको छ । 

सेवा लिने विषयमा पनि पहुँच भएका र बाठो मान्छेहरुले बढी लिने गरेको स्वास्थ्य स्वयम सेविका समेत रहेकी बीमा संकलन कर्ता माया खड्काले बताएकी छन् । खड्काका अनुसार फारम भरेकै महिनाबाट सेवा लिन पाउनु पर्ने गरि व्यवस्था गर्न पनि माग गरेकी छन् । 

अन्र्तक्रियामा समाजसेवी काल्चे दमाइले गरिबका ज्यान बचाउन बीमाले ठूलो काम गरेकोले निरन्तरता गर्नु पर्ने र औषधी बढी दिनु पर्नेमा राज्य जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन् । अरुकेही गर्न नसकेपनि नेपाल सरकारले स्वास्थ्य बीमा ल्याएर धेरै राम्रो गरेको बताएका छन् । 

स्वास्थ्य कार्यालयका विक्रम बुढाले सञ्चालन गरेको कार्यक्रममा बीमा कार्यक्रम बाजुरा जिल्ला संयोजक तारा रोकायाले सहजिकरण गरेकी थिइन् भने कार्यक्रम बाजुरा जिल्ला अस्पतालको सभा हलमा आयोजना गरिएको हो । कार्यक्रममा ३० बढी सहभागि थिए । 
 
 

प्रतिक्रिया दिनुहोस