सोमबार, ०७ जेठ २०८१

गौमुलका दुर्गम गाउँमा स्वास्थ्य शिविर

बाजुरा : गौमुल गाउँपालिकामा समुदाय स्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पुहँचमा पुर्याउने उदेश्यका साथ समुदाय स्तरमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

दुर्गम क्षेत्रका नागरिकले पनि सहजै उपचार पाउन भन्दै सबै वर्गका मानिसहरुलाई लक्षित गरी प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली सहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

आर्थिक अवस्था कमजोर लगायत विभिन्न समस्याले कतिपय नागरिकले अहिलेसम्म सहजै उपचार पाउन नसकेको भन्दै एकिकृत घुम्ती शिविरबाट स्वास्थ्य परीक्षणसंगै उपचार सेवा प्रदान गरिएको उनले बताईन् । 

गाउँपालिका भित्रका नागरिकले विभिन्न समस्याले रोगले अकालमै कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आवश्यक स्वास्थ्यककर्मी सहितको टोली गाउँ घरमै पठाएर स्वास्थ्य शिविर मार्फत उनीहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । 

गाउँकै स्वास्थ्य संस्थाबाट सबै सेवा सुविधा नपाउने कुरालाई मध्येनजर गर्दै सबै वडामा बेला बेला स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । शुक्रबार वडा नम्बर १ अम्लिसमा २ दिने एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पहिलो दिन २४० जनाले सेवा लिएका छन् । एक्सरे सेवा ७५ जना, गर्भवती भिडियो एक्सरे सेवा १२ जना, पाठेघरको चेकजाँच १३ जना, खकार परीक्षण ८३ जनाको गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले जानकारी दिएका छन् ।

शिविरमा घट्मुना आधारभूत अस्पतालका मेडिकल अधिकृत डा.रामानुज हाथी सहित स्वास्थ्यकर्मीको टोली खटिएको छ । उक्त शिविर शनिबारसम्म सञ्चालन हुने भएको छ । यसभन्दा अघि वडा नम्बर ४ र ५ मा पनि एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।   
 

प्रतिक्रिया दिनुहोस