सोमबार, ०७ जेठ २०८१

गाउँमै चिकित्सक सेवा दिन बाजुराको चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थ प्रविधी मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकी प्रमुख धर्मबहादुर खत्रीले जानकारी दिएका छन् ।

चिकित्सक सेवाको पहुँच बाहिर रहेका दुर्गम क्षेत्रका स्थानीयलाई टेलि हेल्थ सेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सञ्चालनमा ल्याएको हो । अति गरिब तथा विपन्न समुदाय र विशेष गरि विकट दुरदराजका नागरिकलाई लक्षित गरि सेवा सञ्चालन गरिएको स्मार्ट हेल्थ ग्लोबलका कार्यकारी निर्देशक मनोज खड्काले बताएका छन् ।

स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रमको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले उद्घाटन गरेकी हुन् । निशुल्क र गुणस्तरीय सेवा बिषशेज्ञ डाक्टरबाटै उपलब्ध हुने गरि सेवा सञ्चालन गरिएकोमा खुसी लागेको उपप्रमुख थापाले बताएकी छन् । इन्टरनेट सुविधा भए मत्रै पनि टेलिहेल्थ सेवा दिन सकिने र प्रभावकारी हुने विश्वास थापाको छ ।

पहिलो दिनमात्रै तीन दर्जन बढी विरामीले टेलिहेल्थ प्रविधीमार्फत उपचार परामर्श सेवा लिएका छन् । ती मध्ये १७ जनाले भिडियो एक्सरे सहीतको परामर्श सेवा नै लिएको सिअनमी ललिता दानीले बताएकी छन् । टेलिहेल्थ सेवा डाक्टर नहुने स्वास्थ्य संस्था र सुविधा लिन नसक्ने नागरिकका लागि धेरै प्रभावकारी हुने सिअनमी दानीको विश्वास छ ।

स्मार्ट हेल्थ कार्यक्रम बाजुराका बडीमालिका, बुढीनन्दा र बुढीगंगा नगरपालिकामा सुरु गरिएको छ । बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा निरन्तर चलिरहेको छ । भने पाण्डुसैन स्वास्थ्य चौकीमा इन्टरनेट अनियमित हुँदा निरन्तरतामा समस्या देखिएको छ भने जगन्नाथ गाउँपालिकामा चाढै नै सुरु हुने प्रक्रियामा रहेको छ। डोटी जिल्लाको जोरायल गाउँपालिकामा पनि सेवा सञ्चालन गरिएको र अब कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा विस्तार गरिने स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले जानकारी दिएका छन् ।

हप्ताको २ दिन अनिवार्य र २४ घण्टा ÷७ दिनै आकस्मीक रुपमा सेवा दिने गरि स्मार्ट हेल्थ कार्यक्रम सुरु गरिएको हो । मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा सुधार गर्ने, बहिरंग सेवा दिने र बाल स्वास्थ्यमा बिशेष ध्यान दिने गरि सेवा सञ्चालन गरिएको हो । सेवा प्रवाहका लागि खटिने चिकित्सहरुको दैनिक जसो उपचार तालिका बनाएर नै अघि बढीरहेको छ । 

विरामीको अवस्था र प्रकृति हेरेर सम्बन्धीत स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीले चिकित्सक तथा बिशषेज्ञसँग परामर्श तथा उपचार सेवा दिन सकिने गरि स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिएको छ । स्मार्ट हेल्थ ग्लोबलको केन्द्रीय कार्यालय समेत बाजुराको मार्तडी र अष्टेलियामा राखिएको छ ।

विश्वभरिको स्वास्थ्य बिज्ञसमूहलाई एकठाउँमा जोडेर दुर्गम तथा विपन्न परिवारको स्वास्थ्य अवस्था सुधारमा सहयोग पुर्याउने गरि सेवा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले बताएका छन् । खड्का स्वयम यस गैर नाफा मुलक संस्थाका सस्थापक हुन् ।

गर्भवती अवस्थामा अनिवार्य २ पटक डाक्टरहरुले टेलिहेल्थ मार्फत जाँच  र बाँकी आवश्यकता अनुसार गरिने, भिडियो एक्सरे सेवा, टेलिहेल्थ मार्फत नै परामर्श र उपचार सेवा दिने, विज्ञ डाक्टरहरुले नै सेवाका लागि सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्दा नागरिकलाई स्वास्थ्य उपचार सेवामा सहज हुने बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति संयोजक धर्मराज पाध्यायले बताएका छन् ।

निशुल्क सेवा र भरपर्दो उपचार विधीबाट स्थानीय प्रभावित हुने विश्वास गरिएको छ । चुथी स्वास्थ्य चौकीमा उपचारका लागि आएका विरामीले पनि टेलिहेल्थ मार्फत डाक्टरले राम्रो सल्लाह र परामर्श दिएको प्रतिक्रिया दिएका छन् । उपचार सेवा लिने  धेरै जसो महिलाहरु नै थिए । स्मार्ट हेल्थ कार्यक्रम बाजुराको जगन्नाथ अस्पतालमा पनि केही समयमै सञ्चालनको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस