सोमबार, ०७ जेठ २०८१

बाजुरा सदरमुकाम मार्तडी बजारमा सवारी पार्किङ भेटिए कारवाही

अब देखि सवारी पार्किङ पानीपातलमा गर्नु पर्ने

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा सवारी सधान चलेको दशक बितिसक्दा पनि व्यवस्थीत बसपार्क बन्न सकेको छैन् । दशक देखिको निर्माणाधिन पानीपातल बस पार्क समयमै निर्माण सम्पन्न नभएको र निर्माण पुरा भएपछि पनि गतिलो नहुँदा सवारी साधान सडकमै पार्किङ गर्ने गरिएको छ ।

मार्तडी बजारको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाटबजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ । बस पार्क अभावकै कारण व्यवस्थीत र असुरक्षित रुपमा राख्नु परेको गुनासो यातायात व्यवसायीको छ । तर सवारी चलाउन देखि पैदल हिँड्न समेत जोखिम बढेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।

स्थानीय स्तरमै व्यवस्थान गर्न नगरपालिकाले पनि वैकल्पिक बस पार्क निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । तरपनि हाललाई पानीपतल बस पार्कमै पार्किङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । आकारमा सानो भएपनि जति अटाउँछ, सबै त्यही राख्ने निर्णय भएको अधिकारी पौडेलले बताएका छन् ।

ताली देखि तुफानडाँडा, दुनिहाट बजार कतै पनि बस र जीप पार्किङ गरेको पाइएमा कारवाही गर्ने गरि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । मार्तडीको सुरक्षा जोखिम बढेको, बजारको शोभा नै हराएको, फोहर मैला बढेको र अव्यवस्थीत बजार देखिएकोले तत्काल व्यवस्थीत गर्ने निर्णय गरिएको हो । 

सडक छेउछाउमा कुनै पनि बेला कुनै पनि सवारी साधान नराख्ने गरि निर्णय गरिएकोले त्यही आधारमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । पार्किङ नै सडक छेउ बनाउने बर्षौ देखिएको बाध्यता केही हदसम्म हटाउने गरि निर्णय गरिएको र त्यो कार्यान्वयन गर्न सबै यातायात व्यवसायी तयार हुनु पर्ने निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।

बडीमालिका नगरपालिकाले पनि पानीपातलको बस पार्क व्यवस्थीत गर्ने र थप सहजताका लागि बाउलीमा अर्को बस पार्क बनाउने तयारी थालेको छ । मार्तडी बजार क्षेत्रमा कुनै पनि सवारी साधन पार्किङ गरेको देखिएमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न पाउने गरि सर्वपक्षिय निर्णय गरिएको छ ।

अबदेखि कुनै पनि सडक छेउमा बस, जीप पार्किङ गरेको नदेखिने गरि प्रबन्ध मिलाउने सुरक्षा व्यवस्था गरिएको प्रहरीले बताएको छ । बडीमालिका नगरपालिकाले पनि सदरमुकाम नै अस्तव्यस्त भएपनि पानीपातलमा बस पार्क तत्कालका लागि सार्न तयार देखिएको हो ।

व्यवसायीले पनि छेउमा भएको, सबै सवारी साधन राख्न नसकिने जस्ता समस्या देखाएर लामो समयदेखि सडकमै पार्किङ गरिरहेका थिए । अब कुनै पनि बाहना र समस्या देखाएर सडकमा पार्किङ गर्न र गराउन नपाइने निर्णय गरिएको छ । निर्णय कार्यान्वयन सँगै सुरक्षा चुनौति घट्ने छ । भने सडक छेउछाउमा हुने पार्किङ समस्या हट्ने र अस्तव्यस्त बजार दृश्यमा समेत सुधार देखिने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस