सोमबार, ०७ जेठ २०८१

बाजुरामा चामल अभाव पूर्ति गर्न आपूर्ति बढाउने र वितरण कार्य व्यवस्थीत गरिने

बाजुरा : बाजुरामा देखिन चामल अभावको पूर्ति गर्न आपूर्ति बढाउने र वितरण व्यवस्थीत गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलिय बैठकले जिल्लाको लागि निर्धारण गरिएको कोटा अनुसारको चामल ढुवानी कार्य समय मै गर्ने बारे निर्णय गरेको छ ।

चामलका लागि लाइनमा लाग्नु पर्ने, माग अनुसारको ढुवानी नहुने समस्या देखिएकोले तत्काल ढुवानी कार्य गराउने गरि पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । जिल्लामा क्रियाशिल चार राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराका प्रमुखबीच बैठक बसेको हो ।

ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल खानु पर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको छ । संस्थानले केही रुपैया सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यन्नकै चामल रोज्ने गरेका छन् । बजारमा मोटा चामल ६२ देखि ६४ रुपैयामा विक्री हुँदा खाद्य संस्थानमा ५९ रुपैया प्रति केजी पाइने गरेको छ । 

प्रर्याप्त बजार क्षेत्र भएर पनि बाजुरामा खाद्यन्न अभाव हुने गरेको सन्देश जाने भएकोले अनुदान दिने मापदण्ड पनि तोकिनु पर्ने र जबरजस्त अभाव सिर्जना गरिने काम बन्द गरिनु पर्ने नेपाली काँग्रेसका उपसभापति पदम बडुवालले बताएका छन् । उहाँले भोक नै हुने गरि बाजुरामा खाद्यन्न अभाव हुने अवस्था नआएको बताएका छन् । 

नेकपा एमाले अध्यक्ष भरत थापाले कार्यालय खडा गर्ने, समयमै चामल उपलब्ध नगराउने, उपलब्ध गराउने चामलमा पनि नाम मात्रैको अनुदान दिने कुरा गलत भएकोले उदेश्य अनुसार खाद्य संस्थानले काम गर्न र समयमै चामल आपूर्ति गर्न सुझाव दिएका छन् ।

बाजुराबाट ३ करोड बढी कोदो बाहिर जाने तर खाद्यन्न अभाव भएको सन्देश दिने कुरा सान्दर्भीक र तथ्यपरक नभएकोले सञ्चार माध्यम र सामाजिक सञ्जाल सञ्चालन गर्नेहरुले सस्तो प्रचार बाजीकै लागि लेख्ने कुराले जिल्लाको बद्नाम मात्रै हुने गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावतले बताएका छन् ।

बैठकले पनि विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गर्ने निर्णय गरेको छ । सरकारी कर्मचारी, व्यापारी र गैर सरकारी संस्थासँग आवद्ध रोजगारी भएको घरको तथ्याकं संकलन गरि अनुदानको चामल विपन्न परिवारका प्राथमिकतामा राखेर वितरण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । 

बाजुरामा गएको साउनदेखि हालसम्म २ हजार क्वीन्टल मात्रै चामल आयात गरिएको छ । बाजुराका लागि अघिल्लो वर्षको कोटा हेर्दा १० हजार बढी क्वीन्टल चामल आवश्यक हुने अनुमान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराका प्रमुख उमेश भण्डारीले बताएका छन् ।

हाल मार्तडी कार्यालय पनि १ सय ७० क्वीन्टल बढी मोटा र १ सय ३० क्वीन्टल बढी मसिनो चामल स्कट छ । तर स्थानीयले मोटा चामल मात्रै रोज्ने गरेका छन् । चामलकै अभाव छैन्, मोटा चामलको माग मात्रै बढी रहेको कार्यालय प्रमुख भण्डारीको भनाई छ । 

सर्वदलिय बैठकले चामलको दुरुपयोग भएको हुन सक्ने भन्दै कडा निगरानी र अनुगमनलाई तिब्रता दिने निर्णय गरेको छ । नगर प्रमुख अमर खड्काले नागरिकलाई सहज चामल उपलब्ध गराउने कुरामा संस्थान जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन् । 

खाद्य संस्थानको चामल बडीमालिका नगरपालिका केन्द्रीत बसोबास गर्नेहरुले मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । बजारको भन्दा सस्तो भएरै चामलका लागि भीडभाड हुने भएकोले राज्यले आपूर्ति बढाउनु पर्नेमा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापाको जोड छ ।

संघ र प्रदेश स्तरीय संस्थानका कार्यालयलाई समेत बाजुरामा चामल ढुवानी कार्य छिटो गर्न माग गर्ने र गलत रुपमा प्रयोग हुने गुनासोलाई संवोधन गर्न अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । बैठक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको हो । 

प्रतिक्रिया दिनुहोस