सोमबार, ०७ जेठ २०८१

२५ केजीमा बजारको भन्दा ७५ रुपैया सस्तो चामल किन्न लाइन बस्न बाध्य

बजारको भन्दा खाद्य संस्थान प्रति नागरिकको बढी विश्वास

बाजुरा : हरकोहीले पनि सस्तो मूल्यमा गुणस्तरीय बस्तु प्राप्त गर्ने चाहना राख्छन् । कम मूल्यमा धेरै समान र गुणस्तरीय समान आममान्छेको रोजाइ पनि हो । बाजुरामा पनि खाद्यन्न संस्थानमा लाग्ने भीड त्यसैको उपज देखिन्छ । तर बजार र खाद्य संस्थानको चामलको मूल्यमा धेरै फरक पनि छैन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले ५९ रुपैया प्रति केजीका दरले मोटा चामल विक्री गर्ने गरेको छ । बजारमा त्यही मोटा चामलको मूल्य ६२ रुपैया छ । २५ केजीको मूल्य खाद्य संस्थाबाट खरिद गर्दा १ हजार ४ सय ७५ पर्न जान्छ भने बजारमा १ हजार ५ सय ५० पर्ने गरेको छ ।

बजार र संस्थानमा मात्रै प्रति केजी ३ रुपैया र २५ केजीको प्रति कट्टामा ७५ रुपैया मात्रै फरक छ । तर नागरिक भने खाद्य संस्थानकै चामलका लागि हानथाप गरिरहेका छन् । विहानै आएर दिनभर लाइनमा बसेर, थप खाजा नास्ताको मूल्य तिरेर खाद्यन्नकै चामल लिने गरेको देखिन्छ । 

गुणस्तरीय हुने विश्वास सहीत खाद्य संस्थानकै चामलमा स्थानीयको आकर्षण देखिन्छ । अनुदानमा सहज चामल उपलब्ध गराउने उदेश्य सहीत स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले थोरै मूल्य मात्रै कम गर्ने गरेको छ । बजारमा फालाफाल चामल हुँदा पनि स्थानीय खाद्यन्नकै लाइनमा देखिनु अचम्म लाग्ने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

बजारबाट लिँदा आफू अनुकुलको समयमा कुनै लाइनमा नबसी सहज लिनु पर्ने अवस्था छ । तर नागरिक दिनभर लाइन बस्न र खाद्य संस्थानकै चामलका पछि दौडीनुको कारण थाह नभएको अध्यक्ष रोकायाको भनाई छ । सरकारले सडक पहुँच बाहिर रहेका जिल्लाहरुका लागि सहज खाद्यन्न उपलब्ध गराउने उदेश्य सहीत खाद्य संस्थानका शाखा सञ्चालन गरिएका हुन् । 

तर बाजुराका केही दुर्गम गाउँ बस्ती बाहेक सबै पालिकाको केन्द्र र अधिकांश वडामा सडक पुहँच पुगेको छ । र खाद्यन्न विक्री गर्ने र दैनिक उपभोग्य समान सहज पाउने गरि स्थानीय बजार पनि सञ्चालनमा छन् । तर कोल्टी क्षेत्रका चार पालिका र मार्तडी क्षेत्रका बडीमालिका नगरपालिका र केही गौमुल गाउँपालिकाका वडाका नागरिक अझै खाद्य संस्थानमै बढी विश्वस्त छन् । 

बाजुराको तल्लो भेग बुढीगंगा, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका स्थानीय भने खाद्य संस्थानको चामलको पहुँच बाहिर छन् । उनीहरुले प्राय आफ्नै उत्पादनमा भर पर्ने र अपुग भएमा बजारकै चामल किन्ने गरेका छन् । चामल नै नपाएको र खाद्यन्नको चरम संकट जस्तो दृश्य देखिएपनि भनिएजस्तो अभाव र संकट नभएको कार्यालय प्रमुख उमेश भण्डारीले बताएका छन् ।

बजार र खाद्य संस्थानको चामलमा थोरै मूल्य मात्रै तलमाथि छ । बढी गुणस्तरीय हुने विश्वास सहीत स्थानीय संस्थानकै चामल किन्न आउने हुँदा भीड देखिएपनि बजारमा पनि खाद्यन्न उपलब्ध हुने भएकोले अभाव नरहेको भण्डारीको दाबी छ । यो वर्ष दशैं पछि मात्र मार्तडी कार्यालयबाट ५ सय क्वीन्टल, कोल्टीबाट २ सय क्वीन्टल र कवडाीबाट २ सय क्वीन्टल चामल वितरण गरिएको देखिन्छ । 

केही संकट र प्राकृतिक प्रकोप आउने संभावनालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयकै निर्देशनमा अढाइ सय क्वीन्टल चामल भने मार्तडीमा स्टक राखिएको छ । चामल लिन आउनेहरु प्राय एउटै परिवारका बढी देखिएका छन् । पछि नपाइने वा अन्य कुनै प्रयोजनका लागि चामल खरिद गर्ने गरिएको आरोप पनि लाग्ने गरेको छ । 

यहाँका अधिकांश नागरिकले मदिरा उत्पादनका लागि पनि खाद्यन्नको चामल प्रयोग गर्ने गरेको पाइएको छ । पैसा लिएर आएपछि नाइ भन्नु भएन्, तर अधिकांश एउटै परिवारका फरक फरक नाममा चामल लिने गरेको मार्तडी कार्यालय प्रमुख उमेश भण्डारीले स्वीकार गरेका छन् । 

मार्तडी कार्यालयबाट आज मात्रै ३ सय क्वीन्टल चामल विक्री गरिएको छ । माग अनुसारको चामल ढुवानीमा भने सरकार उदासीन देखिएको छ । नयाँ चामल खरिदका लागि टेण्डर आह्वानको म्याद फागुन २२ गतेसम्म भएकोले त्यस पछि मात्रै प्रक्रिया पुरा गरेर ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख उमेश भण्डारीले बताएका छन् । 

राज्यले नागरिकलाई आवश्यक पर्ने खाद्यन्न समेत आपूर्ति गर्न नसकेको आक्रोश सामाजिक सञ्जालमा पोख्न थालिएको छ । सांसद र जनप्रतिनिधीले खाद्य संस्थानमा चामल समेत उपलब्ध गराउने हैसियत नराखेको आक्रोश उद्योग वाणिज्य संघ बाजुराका सदस्य सुरेन्द्र नाथको छ । 

तर केहीले बजारमा सहज खाद्यन्न पाएर पनि दिनभर लाइनमा बस्नु पर्ने, खाजा खाना समेत थप खानु पर्ने अवस्था आउनु दुखत भएको प्रतिक्रिया समेत दिएका छन् । बाजुराले खाद्यन्न पाएन भन्ने लाइन लागेको दृश्यबाट देखिएको छ । बाजुराका मार्तडी, कोल्टी, कवाडी र स्वामिकात्र्तिकबाट खाद्यन्न विक्री वितरण गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस