सोमबार, ०७ जेठ २०८१

बाजुरामा दादुरा र रुबेला खोप अभियान फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने

बाजुरा : बाजुरामा फागुन १३ देखि १५ गतेसम्म दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला निवारण खोप अभियान बाजुरामा फागुन १३ देखि १५ गतेसम्म तीन दिन चल्ने भएको हो । 

देश व्यापी रुपमा सञ्चालन हुने अभियान चैत्र ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य, सुरक्षा निकायका प्रमुख र सञ्चार कर्मीसँगको छलफल तथा अन्र्तक्रियाका अवसरमा स्वास्थ्य कार्यालय बाजुराले अभियान बारे जानकारी गराएको हो ।

अभियान प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द्रले बताएका छन् । ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई खोपको दायरामा ल्याउने र दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नै अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन स्वास्थ्य कर्मीले आमन्त्रण गर्ने र तीनदिनसम्म तोकिएको स्थान र नभए सम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी स्वास्थ्य कार्यालय बाजुराले गरेको छ । बाजुराका १३ हजार ९ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । 

बढी जोखिम भएका तराइ क्षेत्रका २४ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ । भने कम जोखिम भएका पहाडी र हिमाली क्षेत्रका जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप सेवा उपलब्ध गराइने भएको छ । 

कोही नछुट्ने र सबै बालबालिकालाई खोप सेवामा पहुँच पुर्याउने उदेश्य सहीत देश व्यापी अभियान सञ्चालन हुने भएकोले बालबालिकाको भोलिको भविष्यलाई हेरेर सबैले आ आफ्नो ठाउँबाट सहयोग र सहकार्य गरिनु पर्ने सुझाव युनिसेफकी सीता सुनारको छ । 

बाजुराका १६५ वटा खोप केन्द्र १ सय ६५ जना स्वास्थ्य कर्मी र २ सय ३० जना स्वयम सेवक खटिने भएका छन् । १ सय वटा स्वास्थ्य संस्थाबाटै खोप सेवा दिइने भएको छ । १५ सय भाइल खोप बाजुराका लागि मात्रै आउने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यस अघिको अभियानमा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यो पटक त्यसलाई समेत बढाउने र सत प्रतिशत लक्ष्य हासिल गर्ने गरि सबै प्रकारको तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् ।

मौसमी बसाइ सराइ र अन्य समस्याले घर छोडेका बालबालिकालाई समेट्नु पर्ने चुनौति रहेकोले त्यसमा बिशेष ख्याल गर्न जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सुझाव दिएका छन् । अन्र्तक्रिया प्रमुख रोकायाकै अध्यक्षतामा सञ्चालन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बालबालिकालाई गरिने लगानी नै भोलिको भविष्य र अर्थतन्त्र भएकोले सबैजना सचेत र जिम्मेवार हुनु पर्ने सुझाव सहीत अभियानलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन आग्रह गरेका छन् । 

स्वास्थ्य कार्यालयका रुगम थापाले सञ्चालन गरेको कार्यक्रममा कार्यालय प्रमुख महेश चन्द्रले खोपको प्रभावकारी, तयारी र अभियानको उदेश्य बारे जानकारी गराएका थिए । अभियानलाई सफल पार्न नेपाल पत्रकार महासंघका उपाध्यक्ष संगीता तिमिल्सेनाले प्रचार प्रसारका लागि सञ्चार माध्यमले सक्दो सहयोग गर्न बताएकी छन् । 

खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका २ हजार १२ जना, त्रिवेणी नगरपालिका २ हजार १० जना, खप्तड छेडेदह गाउँपालिका २ हजार ९ जना रहेका छन् । यस्तै बुढीनन्दा नगरपालिका १ हजार ९ सय ३६ जना, बडीमालिका नगरपालिका १ हजार ५ सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका १ हजार ३ सय ७१ जना खोप पाउने बालबालिकाको संख्या छ ।

यसैगरी जगन्नाथ गाउँपालिकामा १ हजार ५४ जना, १ हजार ३१ जना र गौमुलमा ९ सय २० जना बालबालिकाले खोप सेवा पाउने भएका छन् । थप व्यवस्थीत र प्रभावकारी बनाउने गरि पालिका देखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस