सोमबार, ०७ जेठ २०८१

७ महिनासम्म पनि औषधी खरिदमै अल्झियो बुढीगंगा, स्वास्थ्य संस्थामा औषधीको अभाव

बाजुरा : बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव छ । तर नगरपालिका औषधी खरिद प्रक्रियामै अल्झिएको छ । आर्थिक वर्षको ७ महिनासम्म पनि बुढीगंगा नगरपालिकाले औषधी खरिद गर्न नसकेपछि स्वास्थ्य संस्थामा औषधीमा अभाव देखिएको छ । 

उपचारका लागि स्वास्थ्य संस्थामा जाने विरामीले मेडिकलबाट किन्नु पर्ने बाध्यता देखिएको छ । राज्यले स्वास्थ्य संस्थाबाटै ७० बढी प्रकारको औषधी अनिवार्य उपलब्ध गराउनु पर्ने नीति लिएको छ । तर स्वास्थ्य संस्थामा ७ प्रकारको औषधी समेत नपाइने गरेको आरोप विरामीको छ । 

आर्थिक वर्षका ६ महिनासम्म पनि औषधी खरिद प्रक्रिया पुरा नहुनु नै लाज मर्दो विषय बनेको छ । बुढीगंगा नगरपालिकामा अघिल्लो वर्षपनि ९ महिनासम्म औषधी खरिद प्रक्रिया हुन सकेको थिएन् । प्रक्रिया नमिलेको भन्दै दुई पटक टेण्डर आह्वान गर्नु परेको श्रोतको दाबी छ । 

साउनमै प्रक्रिया सुरु गरिएपनि इविडको काम समयमै नहुँदा औषधी खरिदमा ढिलाई भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक विक्रम शाहले स्वीकार गरेका छन् । ७ महिनासम्म पनि नयाँ औषधी खरिद गरेर दिन नसक्दा अभाव हुनु स्वभाविक भएको समेत शाहले स्वीकार गरेका छन् । तर भनेजस्तो हाहाकार नै हुने, मेडिकलकै भर पर्नु पर्ने अवस्था भने रहेको शाहको भनाई छ । 

हामीले साउनमै प्रक्रिया अघि बढाएका हौं, प्राविधिक फाँटबाट इबिडका लागि प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ, बीचमा दशैं तिहारले प्राविधिकको व्यस्तताले ढिलाई भयो, मंसिर पछि सुरु गर्दा इबिडको खरिद म्यादले नै ढिलाई भएको हो, अबको १५ दिन भित्र आइपुग्ने शाखा प्रमुख शाहले जानकारी दिएका छन् ।

बुढीगंगा नगरपालिकामा हाल १४ वटा स्वास्थ्य संस्था छन् । ती मध्ये ३ वटा स्वास्थ्य चौकी, ७ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, १ वटा सामुदायिक स्वास्थ्य केन्द्र र ३ वटा नगर स्वास्थ्य क्लिनीक छन् । हाल कुनैपनि स्वास्थ्य संस्थामा राज्यको मापदण्ड अनुसारका औषधी उपलब्ध छैनन् । 

अघिल्लो वर्षपनि बुढीगंगा नगरपालिकामा औषधीको लामो समय अभाव सिर्जना भएको थियो । केही स्वास्थ्य कार्यालय र बीचमा खरिद गरेर पूर्ति गर्न लगाएपनि प्रर्याप्त भएको थिएन् । यो वर्षपनि सामान्य औषधी खरिद गरेर पठाएपनि अभाव कायमै रहेको शाखा प्रमुख दीपक विक्रम शाहले बताएका छन् । स्वास्थ्य शाखामा शाहसँगै विष्णुप्रसाद जैशी पनि छन् । 

दुबै जनाले स्वास्थ्य सेवा सुधारमा राम्रो काम गर्नु पर्ने विषय सामाजिक सञ्जाल देखि अन्य बेला मौकामा कुरा गर्ने गरेको पाइन्छ । तर उहाँहरुले नै नेतृत्व गरेको स्वास्थ्य शाखाले लगातार २ वर्ष लामो समयसम्म औषधी खरिदमै अल्झिनु पर्ने अवस्था देखिएको छ । यो प्रक्रियाले नै समस्या पारेको उहाँहरुको दाबी छ ।

बाजुराको त्रिवेणी, बुढीगंगा र खप्तड छेडेदहका अधिकांश विरामी बयालपाटा अस्पताल अछाम जाने गरेका छन् । बयालपाटा गएर उपचार गराउन पाउने हुँदा विरामीले केही राहत पाएपनि स्थानीय तहको उपचार नीति र औषधी आपूर्तिको अवस्था हेर्दा दयालाग्दो रहेको आरोप नागरिकको छ । 
कुनै स्वास्थ्य संस्थामा सिटामोल समेतको अभाव छ । त्यो कुरा स्वास्थ्य शाखाले समेत स्वीकार गरेका छन् । तर ७ महिनासम्म औषधी समेत खरिद बीचमा औषधी आएको हो । आपूर्ति पत्र सम्झौता भइसकेको र केही दिनमा आउने भएकोले अभाव नै नरहेको दाबी शाखा उपप्रमुख विष्णुप्रसाद जैशीको छ । 

पालिकाले इबिडको काम ढिलाई हुने भएपछि बीचमा औषधी खरिद स्वास्थ्य संस्थालाई बाँडेको स्वास्थ्य शाखाले बताएको छ । यो पटक २७ लाखको इबिड गरेको हो । त्यो अनुसारको औषधी आउने र अपुगका लागि फेरि अर्को आसहय पत्र जारी गरिने पालिकाले बताएको छ । 

नगर उपप्रमुख माया कुँवरले भने औषधी अभाव नरहेको बताएकी छन् । स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा पनि औषधी अभाव नदेखिएको र बीचमा वितरण गरिएकोले अपवाद बाहेक त्यो आरोपमा सत्यता नभएको बताएकी छन् । तर ७ महिनासम्म ठूलो मात्रा औषधी खरिद नभएको कुरामा भने स्वास्थ्य शाखा बुढीगंगाले स्वीकार गर्ने गरेको छ । 

यता प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले भने मौजाद औषधी बाँकी भएर नै ढिला गरेर इबिड गरिएको बताएका छन् । केही कोटेशनको आश राख्नेहरुले भने मात्रै हो, नत्र कुनै स्वास्थ्य संस्थामा औषधीको अभाव नै छैन्, बीचमा पनि अपुग औषधी दिएकोले अभाव भन्ने कुरा आरोप मात्रै भएको नाथको दाबी छ । तर बुढीगंगाले दुबै आर्थिक वर्षमा औषधी खरिद प्रक्रिया भने निकै ढिलो गरि मात्रै गरेको पाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस