सोमबार, ०७ जेठ २०८१

हवाई उद्दारकै भरमा कोल्टी क्षेत्रका गर्भवती र विरामीको स्वास्थ्य

गर्भवती सहीत २ जनाको उद्दार

बाजुरा : १० दिन देखिको पेट दुखाई सहन नसकेपछि जगन्नाथ गाउँपालिका २ की राजु विष्ट उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् । त्यहाँ पुग्दा विष्टलाई सिकिस्त भइसकेकी थिइन् । उनलाई सुत्केरी ब्यथाले च्यापेको थियो । कमजोर शारिरीक अवस्थाका कारण ज्यानमा जोखिम बढ्दै थियो ।

श्रीमान घरमा थिएनन् । देवरलाई साथमा ल्याएर उपचारका लागि पुगेकी विष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको श्रोत साधन, औजार उपकरण र उपचार विधीले अप्रेशन गर्न संभव नै थिएन् । र दुर्गमका सुत्केरी आमाको हवाइ उद्दार कार्यक्रम अन्र्तगत विष्टलाई हेलिकप्टरबाट उद्दार गरियो ।

नेपालगञ्ज उद्दार गरिएकी ४५ वर्षकी विष्टको यो आठौं गर्भ हो । यस अघिका ४ छोरी जीवीत छन् । १ छोराको मृत्यु भयो । २ वटाको बीचमै गर्भपतन भयो । गरिबी र स्वास्थ्य अवस्था सुरक्षाको ख्याल नगर्दा विष्टको शरिर निकै कमजोर देखिएको बिशेषज्ञ डाक्टर रन्जीत कुमार शाहले बताएका छन् ।

उनको शरिरमा ७ प्वाइन्ट भन्दा कम रगत थियो । १० दिन देखि पेट दुख्ने समस्या सुरुमा वास्तै नगरेको देखियो । आठ बच्चा जन्माउने कुरा, ४५ वर्षकै उमेरमा निकै जोखिम र चुनौति हो, त्यसैमा दुर्गम र विपन्न परिवारको खानपीनको अवस्था पनि ज्यान सुरक्षामा जोखिम देखिएपछि उद्दार गर्न लगाइएको डाक्टर शाहले बताए ।

विष्टसँगै ७० वर्षीया मृगौला रोगी वृद्धालाई पनि हेलिकप्टर मार्फत उद्दार गरिएको छ । दुबै मृगौला फेल भएको अवस्था र डाइलासिसका लागि नपठाइ नहुने हुँदा सँगै पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जानकारी दिएको छ । कोल्टीमा हाल बिशषेज्ञ सहीत २ जना डाक्टर कार्यरत छन् । केही समय ५ जना डाक्टर कार्यरत थिए ।

तर प्रर्याप्त भौतिक र प्राविधिक सुविधा र उपकरण अभावमा सेवा प्रवाहमा समस्या देखिने गरेको छ । एक वर्षको अवधीमा कोल्टीमा २० जना सुत्केरीको अप्रेशनबाटै बच्चा जन्माउने कार्य सफल भएको बिशेषज्ञ डाक्टर रन्जीत कुमार शाहले बताए । उनी हाडहार्नीरोगका पनि विज्ञेषज्ञ हुन् । तर औजार उपकरण र अन्य सुविधाले सेवा दिन समस्या भइरहेकोले रिफर गर्नु पर्ने बाध्यता प्राथमिक स्वास्थ्य केन्द्रसँग छ ।

कोल्टी क्षेत्रका चार वटै पालिका र हुम्ला, मुगु र कालिकोटका जटिल प्रकृतिका विरामीका लागि रिफर र उद्दार बाहेक अर्को विकल्प नै छैन् । यहाँका स्थानीयको स्वास्थ्य रिफर र उद्दारकै भरमा बाँचेको देखिन्छ । हवाई उद्दार बाहेक अर्को विकल्प नै छैन् ।

बाजुरा जिल्ला अस्पताल, बयालपटा अस्पताल अछाम पठाउन पनि सडक बाटो सहज छैन् । जुन समस्या कुण्डा क्षेत्रका स्थानीयको नियती जस्तै बनेको छ । राष्टपति उद्दार कार्यक्रम लागु भएदेखि हालसम्म २२ जनाको उद्दार गरिएको छ । समयमै उडान र उद्दार नहुँदा ६ जना सुत्केरी बाहेक थप ८ जना बढीले ज्यान गुमाइ सकेको अवस्था छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई बुढीनन्दा नगरपालिकाले सुविधा विस्तारमा व्यापक लगानी गरिरहेको छ । हाल प्रदेश सरकारले १५ शैयाको अस्पताल बनाउने घोषणा समेत गरेको छ । तर भौतिक संरचना दया लाग्दो छ । विद्युत सेवा नियमित छैन् । दरबन्दीमा डाक्टर बसेपनि उपचार दिन मिल्ने अक्सीजन पलान्ट, ब्लड बैंक, कुनै सुविधा नहुँदा रिफर पहिलो विकल्प भएको स्वास्थ्य कर्मी स्वीकार्न बाध्य छन् ।

रक्तचाप बढेको, रगतको मात्र घटेको, शारिरीक अवस्था कमजोर देखिएको ओटी र आइटी गर्नु पर्ने सबै खालका विरामीलाई उपचारका लागि जोखिम लिन समस्या हुने डाक्टरहरुले बताउने गरेका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५० बढी विरामी, हुम्ला, मुगु, कालिकोट देखि बाजुराका चार वटै पालिकाबाट आउने गरेका छन् ।

दयनीय अवस्थाबाट केही सुुधार र डाक्टर नै नबस्ने गरेको गलत प्रचारबाट मुक्त गराएर थुप्रै सेवा प्रवाह भइरहेपनि गर्नै नसक्ने र पालिकाको आर्थिक श्रोतबाट धान्न नसक्ने औजार खरिदमा समस्या हुँदा रिफर गर्नु पर्ने र हवाइ उद्दारको सुविधा लिनु पर्ने बाध्यता देखिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नै बस्ने वातावरण नभएको आरोप लाग्ने गरेको थियो । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि अन्य स्वस्थ्य सेवा सरोकारराख्ने निकायसँग पनि पालिकाले सहकार्य र समन्वय अघि बढाएको छ । हात भाँचिएका, सामान्य अप्रेशन गर्नु पर्ने र सुत्केरीलाई आकस्मीक प्रसुती सेवा समेत पालिकाले दिइरहेको देखिन्छ ।

तर कोल्टी क्षेत्रमा उपचार प्रणालीमा सुधार नहुँदा विमान भन्दा पहिला काल आउने नियति यहाँका स्थानीयले भोग्नु परेको छ । कर्णाली करिडोर र साँफे मार्तडी सडक खण्डको बाटो सुधार नभएकै कारण हवाइ उद्दार बाहेक विकल्प छैन् ।

कोल्टीमा सेवा लिनका लागि अन्य पालिका र जिल्लाबाट विरामी आएपनि सुविधा विस्तार र सुधारका लागि कसैको ध्यान नगएको प्रति कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको गुनासो छ । सबैमिलेर भवन बनाउँ, औजार उपकरण किनौं, विशेषज्ञ डाक्टर राखौं भन्दा नमान्ने, संघ र प्रदेश सरकारले चासो नदिने एउटै पालिकाले मात्रै गरेर संभव हुने अवस्था नदेखिएको समितिको भनाई छ ।

अधिकांश परिवारले आफ्नै लगानीमा उपचार गर्न सक्दैनन् । सक्नेहरुका लागि पनि सडक समस्याले निकै खर्चिलो छ । नेपालगञ्ज, धनगढी सहतिका शहरमा पुग्नु पर्ने र महँगो खर्च तिर्नु पर्ने बाध्यता छ । गरिबीकै कारण यहाँका नागरिकको स्वास्थ्य अवस्था पनि निकै कमजोर अवस्थाको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस