सोमबार, ०७ जेठ २०८१

जगन्नाथको विकास : गाउँगाउँमा गाडी गुड्ने सडक, ५ वर्षमा ६० किलोमिटर बढी सडक बाटो निर्माण

बाजुरा : जगन्नाथ गाउँपालिकाले ५ वर्षको अवधीका ६० किलोमिटर बढी सडक बाटो निर्माण कार्य सम्पन्न गरेको छ । पालिका भित्रका ६ वटै वडाका सबैजसो गाउँ बस्तीलाई समेट्ने गरि ६० किलोमिटर लामो सडक बाटो निर्माण गरिएको हो । सडक संघिय सरकारसँगको आर्थिक सहकार्यमा निर्माण गरिएको पालिकाका इन्जिनियर विनोद शाहीले जानकारी दिएका छन् । 

२०७४ को असारमा स्थानीय तह निर्वाचन सकिए लगत्तै सडक निर्माण गुरु योजना बनाइएको थियो । गाउँ सभाले पालिका भित्रका ६ वटै वडा केन्द्र र सबै टोल बस्तीमा सडक पुर्याउने लक्ष्य सहीतको योजना बनाएको र २०७५ असारमा हुने गाउँ सभाको बजेटमा पहिलो पटक सडक निर्माणको लागि बजेट विनियोजना गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

२०७५ सालको अन्तिमबाट पालिका केन्द्रबाट वडा केन्द्र र वडा केन्द्रबाट टोल, बस्ती जोड्ने सडक निर्माण कार्य थालनी गरिए अनुसार ५ वर्षको अवधीमा ६० किलोमिटर बढी ट्रयाक ओपन सहीतको सडक निर्माण कार्य पालिकाले सकाएको छ । गाउँपालिकाले पूर्वाधार विकास अन्र्तगत सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । 

भौगोलिक रुपमा विकट र चट्टान मात्रै बढी भएको पालिकामा स्थानीय तहकै सक्रियतामा ६० किलोमिटर बढी सडक निर्माण गरिनु ठूलो उपलब्धी भएको जगन्नाथ १ का वडा अध्यक्ष गणेश गिरीले बताएका छन् । बर्षादका केही महिला हिलो र पहिरोले बाटो बन्द भएपनि १० महिना बढी समय प्रत्येक टोल बस्तीमै जीप र ट्याक्टर पुग्ने गरेको पालिका प्रवक्ता समेत रहेका गिरीको दाबी छ । 

कर्णाली करिडोरलाई आधार बनाएर पालिकाले सडक निर्माण गुरु योजना बनाएको छ । पहिलो चरणको बाटो खुल्ने काम सकिएसकेकोले अव कालोपत्रे निर्माणको काम अघि बढाउने तयारीमा पालिका रहेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर शाहीले बताएका छन् । 

जगन्नाथ गाउँपालिकाले १ नम्बर वडालाई लक्षित गरि लुमा, काप्रि, ढाडाँकोट, ओखडतोला, तोली, दैँया, बस्ती समेट्ने गरि १७ किलोमिटर सडक निर्माण गरेको छ । जुन सडकलाई कोल्टी पिलुचौर, ढाडाँकोट  कोल्टीका रुपमा नामाकरण गरिएको छ ।

यस्तै २ नम्बर वडालाई लक्षित गरि सेरा, आसवाडा, बस्केना, हुनी, काडाँकोटसेरा –वस्केना, हुनी सहीतका बस्ती जोड्न साढे १२ किलोमिटर सडक निर्माण गरिएको छ । ३ नम्बर वडाका बस्तीलाई समेट्न कर्णाली करिडोरलाई आधार मानेर वेर्मा, फिमा, महति, मनकोट, मनिकाँडा बस्ती जोड्न साढे १४ किलोमिटर सडक निर्माण गरिएको छ ।

पालिकाको ४ नम्बरका राउटेपाटा, नाराकोट, बडुवालवाडा, डाडाँगाउँ, थारिकाँडाका बस्ती जोड्न करिब साढे ४ किलोमिटर सडक निर्माण गरिएको छ । लाया कैलाश सडकका नाममा ४ र ५ नम्बर वडाका लाया, डाँडागाउँ, खोला घट्टका बस्ती जोड्न ५ किलोमिटर सडक निर्माण गरिएको छ । 

५ नम्बर वडाकै कर्णाली करिडोरसँग जोडेर ओदाला बस्तीका लागि करिब ३ किलोमिटर सडक, डाडाँखर्क, भैनेरी, डाँग्रीवाडा, निगालडाँडा जोड्न साढे २ किलोमिटर ओदाला डाडाँखर्क डाँग्रीवाडा सडक र डाँडामाडु, दमाईवाडा, देवलकोट विद्यालय जोड्न डाँडावाडा माडु देखि देवलकोट विद्यालयसम्मको पौने २ किलोमिटर सडक निर्माण पालिकाले गरिसकेको छ । 

पालिकाका ६ वटै वडाका केन्द्रमा सडक पुगेको प्रशासन सहायक राजेन्द्र प्रसाद जोशीले बताएका छन् । भौगोलिक विकटताले दुर्गम देखिएपनि विकासका पूर्वाधारले जगन्नाथ सुगम देखिने गरेको छ । 

प्रत्येक घरमा विजुली छ । घरमा खानेपानीका अधिकांश बस्तीमा धारा छन् । विद्यालय र स्वास्थ्य संस्थाका संरचना निर्माण भएका छन् । पालिका केन्द्रका भवन निर्माण भइ नयाँ संरचनाबाटै सेवा प्रवाह भइरहेको छ । कर्णालीको तिरबाट घण्टौं हिँडेर घर पुग्नु पर्ने बाध्यता सडक निर्माणसँगै हटेको स्थानीय धनरुप कामीले बताएका छन् । 

सडक पुगेकै कारण गाउँमा वालुवा गिट्टी ढुवानी सहज भएको छ । दुर्गम गाउँमा पनि लेन्टरवाला घर र अन्य सरकारी संरचना निर्माण भएका छन् । हिँड्नु पर्ने बाध्यता हटेको छ । समयको बचत भएको देखिन्छ । विरामी बोकेर ल्याउनु पर्ने बाध्यता पूर्ण रुपमा अन्त्य भएको स्थानीयले बताउने गरेका छन् ।

खाद्यन्न घरमै पुग्ने गरेको छ । विरामी उपचारका लागि आउँदा गाडीचढेर आउनु परेको सुविधा पाएका छौं, वयवृद्ध रत्ने विष्टले बताए । मार्तडी आउन जान समेत समस्या हुन्थ्यो, विरामी बोकेरै कोल्टी पुर्याउँदा बीचमै मृत्यु हुने अवस्था थियो । त्यो कम भएकोमा स्थानीय खुसी देखिएका छन् । 

भौगोलिक विकटताका बीच पनि सबै पालिका केन्द्रमा सडक पुर्याउने, सबै बस्ती सडकसञ्जालले जोड्ने काम जगन्नाथ गाउँपालिकाको स्रहानीय भएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । महिलाका लागि बढी दुख थिए, कुटानी पीसानीकैसमस्या थियो । पालिका बनेदेखि, विजुली र सडक बाटो पुगे देखि धेरै दुख घटेको गाउँपालिका उपाध्यक्ष मरुकला विष्टले बताएकी छन् । 

विना मुआब्जा काम गर्नु पर्ने, प्रदेश सरकारबाट अहिलेसम्म पालिकालाई बजेटमा विभेद मात्रै गरियो, तर त्यसका बाबजुदपनि पालिका सडक निर्माण गर्न सफल भएको र जनताले साथ दिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । 

५ वर्षमा पालिकामा अपवाद बाहेक सबै बस्तीमा सडक जोडेका छौं, अब सबै बस्तीका सडक कालोपत्रे गर्ने र जनतालाई उत्पादन र आम्दानीसँग जोड्ने हाम्रो अभियान हो, शाहीले भन्नु भयो । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष समेत रहेका शाही लगातार दोस्रो कार्यकाल पनि जगन्नाथ गाउँपालिकाको अध्यक्षको भूमिकामा छन् । 

पालिकाले गरेका काम र विकास प्रति स्थानीय पनि खुसी छन् । स्थलगत अवस्था अध्ययनगरेकाहरुले कमै विरोध गर्छन्, केही सेटिग नमिलेका र स्वार्थ पुरा गर्न नपाएकाहरुले सामाजिक सञ्जालमा विरोध गर्ने बाहेक त्यस्तो भूगोल भएको र निकै कम बजेट आउने पालिकामा त्यो प्रकारको पूर्वाधार विकास प्रति सबै जसोले प्रंशसा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस