सोमबार, ०७ जेठ २०८१

गौमुलको गाउँ सभा : विपन्नलाई निःशुल्क स्वास्थ्य उपचार सेवा, पालिकाको केन्द्र घटमुनामा आयुर्वेद सेवा सञ्चालनको निर्णय

बाजुरा : गौमुल गाउँपालिकाको दोस्रो गाउँसभा तथा चौधौं अधिवेशन सकिएको छ । ऐन नियम र नीति तथा कार्यक्रम पारित गर्दै सभा सकिएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन् । पुस माघमा बस्ने स्थानीय तहको हिउँदे अधिवेशनका रुपमा लिने गरिएको छ । 

गाउँ सभा मार्फत कुनै न कुनै नयाँ काम तथा कार्यक्रमको निर्णय गर्दै आएको गौमुल गाउँपालिकाले यो पटक विपन्न परिवारका विरामीलाई निशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । आर्थिक रुपमा अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर निर्णय गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।

गाउँपालिकाको केन्द्रमा आयुर्वेदिक मार्फत सेवालाई निरन्तरता दिने निर्णय गरिएको छ । भने गौमुल गाउँपालिकाका १ नम्बर वडा बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोड्ने कार्य सफल भएको प्रगति समेत गाउँ सभामा सुनाइएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष ०८०÷०८१ को २०८० माघ ५ गतेसम्मको यथार्थ आय व्यय कुल विनियोजित बजेट ३६ करोड ६८ लाख ९७ हजार रहेको छ । जसमा हालसम्म चालुतर्फ ९ करोड २१ लाख ६० हजार खर्च भएको छ ।

पुँजीगत तर्फ १ करोड ५० लाख ३६ हजार खर्च भएको छ । कुल विनियोजनमा अर्धवार्षिक खर्च २९ दशमलव २१ प्रतिशत खर्च भएको छ । आन्तरिक श्रोत तर्फ ३ लाख आम्दानी भएको छ । आगामी आर्थिक वर्ष ०८१÷०८२ को अनुमानित बजेट प्रक्षेपण अनुमानित आय ४४ करोड २ लाख ७६ हजार रहेको छ । जसमा आन्तरिक आम्दानी ३२ लाख ९४ हजार, संघीय सरकार अनुदान ३० करोड ५६ लाख ४० हजार, प्रदेश सरकार अनुदान २ करोड ७१ लाख ४२ हजार ८ सय रहेको छ ।

व्यय तर्फ अनुमानित चालु खर्च २९ करोड ३५ लाख ३९ हजार ४ सय ८४ पुँजीगत खर्च १४ करोड ६७ लाख ३७ हजार २ सय रहेको प्रतिवेदन उपाध्यक्ष सीता थापाले सभामा पेश गरेकी हुन् । गौमुल गाउँपालिका–२ मा १० सैया अस्पताल निर्माण कार्य निरन्तर चलिरहेको छ । घटमुना काल्च्या सडक खुलेको छ भने वडा न २ र ३ को वडा कार्यालयसम्म सडक खन्ने कार्यको ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।

फनपार्क निर्माणाको चरणमा रहेको छ । ४ र ५ नम्बर वडामा जोड्ने सडक नियमित संचालनमा रहेकोमा सिमधारा घाटमा पक्कीपुल निर्माण जारी रहेको तथा अन्य पक्की पुल निर्माण हुने क्रममा रहेको बताईएको छ ।

घट्मुना मानाकोट र घट्मुना बसाला, टाँडाकोट सडकको स्तरोन्तीका लागि ठेक्का खोलिएको छ । सत्य आधारभूत र घटाल आधारभूत विद्यालय भवन निर्माण कार्यको सम्झौता भईसकेको छ । वडा नं २ मा रहेको तुसारीगाड लघुजलविद्युत आयोजनाको नहर निर्माण कार्य सकिएको छ ।  

प्रतिक्रिया दिनुहोस