सोमबार, ०७ जेठ २०८१

बाजुरामा लोप हुन लागेका रैथाने बालीको प्रबर्द्धन गर्न सप्ताह व्यापी कृषि मेला

बाजुरा : पुराना रैथालै कृषि बाली लोपहुन थालेपछि सरोकारवाला फेरि संरक्षणमा सक्रिय देखिएका छन् । उन्नत जातको कृषि बालीका नाममा पुराना र स्वास्थ्यकर खाद्यन्न बाली नै लोप हुन थालेपछि सरोकारवाला निकायले संरक्षणका लागि सक्रियता देखाउन थालेका हुन् ।

लोप हुन लागेका बालीकै निरन्तरता स्वरुप दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० को अवसर पारी बाजुरामा रैथाने बालीको प्रवद्र्धन गर्न सप्ताह व्यापी कृषि मेला आयोजना गरिएको छ । नौ वटै स्थानीय तहमा उत्पादन हुने पुराना रैथानी बालीको प्रवद्र्धन र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बडीमालिका कृषि शाखा प्रमुख रमेश विकले जानकारी दिएका छन् ।

कृषि सप्ताह बडीमालिका नगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्रकै आयोजनामा सञ्चालन गरिएको हो । बाजुराली पहिचानसँग जोडिएका कागुनो, चिनो, कालो धान, कालो गहुँ, सिमी, डल्ले कोदो, उवा, डारे मकै, मार्से, बेथे, फाटर, कालो भटमास, पुरानो सिर्के मास सहीतको रैथानी बाली प्रद्धर्शनमा राखिएको थियो । 

नौ वटै पालिका बीच प्रतिस्पर्धा समेत गराइएको थियो । जस्मा बुढीगंगा प्रथम, बडीमालिका द्धितीय, र स्वामिकात्र्तिक खापर गाउँपालिका तृतीय स्थान ल्याउन सफल भएका छन् । किसानले लगाउँदै गरेका पुराना बालीको संरक्षणको अवस्थालाई नै मुल्याकंनको मापदण्ड बनाइएको थियो । 

फरक फरक स्टल राखिएका थिए । कृषि खेती प्रवद्र्धनको क्षेत्रमा सक्रिय गैर सरकारी संस्था लिभर बाजुरा, आइएनएफ गिफ्ट, सामाजिक बडीमालिका समुदायिक सामाजिक विकास केन्द्रले सहकार्य गरेका कृषि सप्ताह आयोजना गरिएको हो । 

पछिल्लो दशक यता किसानका बारीमा पुराना कुनैपनि बाली लगाएको देखिदैन् । नयाँ र उन्नत भनिएका जातका खाद्यन्न बालीहरुले मात्रै ठाउँ लिएको अवस्था छ । यसले एकातिर रैथानीय बालीको अस्तित्व नै हराएको छ । भने अर्को रसाइनको प्रयोगबाट उत्पादन गरिएको खाद्य बालीको बीउले बढी उत्पादनका नाममा मानव स्वास्थ्य समेत बिगार्नेमा चिन्ता बढेको छ । 

बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरियो । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहनु भयो । खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत, प्रमुख जिल्ला अधिकारी भीमाकान्त पौडेल सहीत सरोकारवाला निकायले कृषि मेलाको अवलोकन गरेका थिए । 

उहाँहरुले रैथानी बाली समाजको पहिचान पनि हो । स्थानीयको प्राण र परिचय पनि भएकोले संरक्षणमा स्थानीय तहको प्रमुख जिम्मेवारी भएकोमा जोड दिएका छन् । बढी उत्पादन हुने नाममा नयाँ प्रविधी र नयाँ रसायनको प्रयोग गरिएका बालीले स्थान लिनु दुखत विषय भएकोले यहाँको हावापानी अनुकुल खाद्य बालीलाई लोप हुन दिन नहुने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

बडीमालिका नगरपालिकाको प्राङ्गणमा आयोजित मेलामा अन्य कृषकहरुले पनि सहभागिता जनाएका थिए । पालिकाबाट छनोट गरि पठाएका किसानलाई आवश्यक पुरस्कार सहीतको सहयोग गरिएको थियो । बडीमालिका नगरपालिकाले कृषि मेलाकै अवसर पारी कोदोको बिस्कुट औपचारिक रुपमा सार्वजनिक गरेको छ । कृषि मेलाले लोप हुन लागेको बालीको प्रवद्र्धन हुनेमा विश्वास गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस