सोमबार, ०७ जेठ २०८१

बुढीगंगाद्धारा ताप्रामा आधारभूत स्वास्थ्य केन्द्रको अपाङ्गमैत्री भव्य भवन निर्माण

बाजुरा : बुढीगंगा नगरपालिका २ ताप्रा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । नगरपालिकाले नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्य सहीत ताम्रा गाउँमा सुविधायुक्त भवन निर्माण गरेको हो ।

बुढीगंगा नगरपालिकाको आर्थिक लगानीमा भवन निर्माण गरिएको उपप्रमुख माया कुवँर बताएकी छन् । स्वास्थ्य भवन नहँदा सेवा प्रवाह गर्न  समस्या भईरहेको बेला समयमै भवन निमार्ण कार्य समय अगावै सम्पन्न गरेपछि अब सहज हुने उनले बताइन् । 

आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको जिम्मा ठेकेदार अंग ओलीले लिएका थिए । २०८० बैशाख २ गतेदेखि सुरु गरी २०८० पुस ३० गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने भन्ने सम्झौता भएको थियो । तर केही समस्याका कारण काम असोजदेखि सुरु गरेको ओलीले बताए । ढिलो गरी काम सुरुवात गरेपनि तोकिएको समय सिमा अगावै निर्माण कार्य सम्पन्न गरेको छ ।

भवनको निमार्ण कार्य सकिएपछि सोमबार नगर उपप्रमुख माया ९खड्का० कुवँरले अनुगमन गरेकी छन् । भवन निर्माण गुणस्तर, मापदण्ड अनुसारको काम भए नभएको बारेमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा उपप्रमुख कुवँरले भवन निर्माण कार्य समयमै सकेको भन्दै ठेकेदारलाई धन्यवाद दिएकी छन् । भवन गुणस्तरीय र अरु वडाको तुलनामा उत्कृष्ट बनेको बताएकी छन् । आफूले सोचे अनुरुपमै इमान्दारिताका साथ काम सम्पन्न गरेकोमा अब नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उनको भनाइ छ । 

भवनको अभावले गर्दा भाडा तिरेर स्वास्थ्य सेवा सञ्चालन गरिर्दै आएको थियो । अब सुविधा सम्पन्न भवन निर्माण भईसकेको छ । भवन निर्माणले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । 

पालिकामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र समुदाय स्तरमै सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने लक्ष्य सहीत आवश्यकअनुसार स्वास्थ्य चौकी भवन निर्माणदेखि जनशक्ति व्यवस्थापन गर्ने काममा अग्रसर भईरहेको उपप्रमुख कुवँरले बताएकी छन् ।

ताप्रामा रहेको वडा स्तरीय आधारभूत स्वास्थ्य केन्द्रबाट करिब १५ सय भन्दा बढी नागरिकले सेवा लिदै आएका छन् । ४८ लाख ९९ हजार २ सय ३४ रुपैया ८६ पैसामा निर्माण भएको ४ काठे भवन माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको छ ।                   

 

प्रतिक्रिया दिनुहोस