सोमबार, ०७ जेठ २०८१

हातजोर्नी र नशा रोगको उपचार बाजुरामै हुने, जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

बाजुरा : जिल्ला अस्पातलमा फिजियोथेरापी स्वास्थ्य उपचार सेवा सञ्चालनमा आएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संसाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप ईन्टरनेश्नल फेड्रशन नामक गैर सरकारी संस्थाको सयुक्त सहकार्यमा फिजियोथेरापी सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख डाक्टर समित पुनले जानकारी दिएकी छन् ।

दुर्गम जिल्ला र त्यसैमा १५ बेड सञ्चालन भएको अपस्तालमा फिजियोथेरापी सेवा सञ्चालन हुने बाजुरा अपस्पताल नै पहिलो हो । १५ बेडको स्वीकृति भएका जिल्ला जनशक्ति र संरचना कुनै पनि सुविधा राज्यले नदिने हुँनाले कतै सञ्चालनमा भएको अवस्था छैन् । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख डाक्टर पुनको भनाई छ ।

११ लाख बढीको सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामाग्री खर्ने र एक जना डिप्लोमा तहको फिजियोथेरापिलिष्ट जनशक्तिको व्यवस्थापन नै मानव संसाधन केन्द्रले गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । सेवाको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

सेवा सुभारम्भ भएसँगै बाजुरामै फिजियोथेरापि स्वास्थ्य उपचार सेवा पनि पाइने भएको छ । हातजोर्नी दुखेका, नशा च्यापिएका समस्या भएका विरामीका लागि अब जिल्ला बाहिर जानु पर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । यस अघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर, त्यो पनि धनगढी, कंचनपुर, नेपालगञ्ज लगायतका अस्पतालमा जानु पर्ने यहाँका स्थानीयलाई बाध्यता थियो ।

बाजुरा जिल्ला अस्पताल हाल १५ बेड सञ्चालन भएपनि केही समयमै ५० बेड सञ्चालनको प्रस्ताव गरिएको छ । तर त्यो तत्काल सहज छैन् । १५ बेड सुविधाकै अस्पतालमा सुचारु गरिएको सेवाका लागि तीन वर्ष जनशक्तिको मासिक सुविधा र केही उपकरणको सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताएका छन् ।

पहिलो वर्ष सत प्रतिशत जनशक्ति र उपकरण, अन्य सामाग्रीमा लगानी गरिएपनि दोस्रो र तेस्रो वर्ष अस्पतालको पनि अपनत्व खोज्ने गरि परियोजनाले लक्ष्य लिएको शाहीको भनाई छ । पहिलो वर्ष सत प्रतिशत सहयोग संस्थाले नै गर्छ, दोस्रो वर्ष ७० । ३० अवस्था हुन्छन्, र त्योक्रम विस्तार अस्पतालले नै आफ्नै स्वामित्वमा ग्रहण गरोस् भन्ने मान्यताले सेवा सुचारुमा सहकार्य गरिएको हो, शाहीले थप्नु भयो ।

अस्पतालमा थेरापी सेवा सुचारु भएपनि विरामीले लाभ मात्रै नलिन पाउने नभई आर्थिक नोक्सानी कम हुने र बर्षौदेखि रोग पाली बसेका विरामीलाई सहज उपचारमा सहयोग पुग्ने समन्वय समिति प्रमुख तुलसीराम रोकायाले विश्वास व्यक्त गरेका छन् ।

संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले बेहोर्नु पर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका पनि तयार रहेको र विरामीको उपचार सेवाका लागि गरिएको अभ्यास प्रंशंसनीय रहेको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले बताएकी छन् । एमाले नेता भरत बुढाले बाजुरा अस्पतालमा सञ्चालित सेवाले सुविधा र सन्देशका लागि राम्रो भएको बताएका छन् ।

ढाड, कम्मर, गर्दन दुख्ने समस्या,हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछि जाम तथा विकृत हुने लगायतका समस्या भएका बिरामीहरुका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने डाक्टर चेतराज धामीले जानकारी दिएका छन् । बाजुरा अस्पतालले हाल बिशषेज्ञ सहीतको सेवा दिइरहेको छ । 

भव्य भवन निर्माणसँगै सुविधा दिन सहज हुने र उपचारकै लागि जिल्ला बाहिर गएर लाखौं रकम खर्चिनु पर्ने बाध्यता हट्ने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिमिल्सेनाले विश्वास व्यक्त गरेका छन् । 

सेवा सञ्चालनले मात्रै खुसी हुनु पर्ने ठाउँ नभएकोले यसको निरन्तरता र गुणस्तरीयतामा अस्पताल व्यवस्थापन समितिको योगदान बिशेष रहनु पर्ने सुझाव हेन्डीक्याप ईन्टरनेश्नल फेड्रशनका अग्नीराज शाहीको छ । 

सेवा सुचारुकै पहिलो दिन दुई जनाले सेवा लिएको व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । कार्कीले सेवाको निरन्तरता दिने र मानव संसाधन केन्द्रले गरेको सहकार्यले विरामीको जीवन सुरक्षामा योगदान पुग्ने विश्वास लिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस