सोमबार, ०७ जेठ २०८१

जलवायु परिवर्तनको मुद्दामा सबैलाई चासो र सरोकार राख्न सुझाव

बाजुरा : प्रकृति संरक्षणमा सबैको योगदान रहनु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । बाजुरा सदरमुकाम मार्तडीमा आयोजित मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्यायसम्बन्धी ससंवाद कार्यक्रमका सहभागिहरुले मानव सभ्यताको अस्तित्व रक्षाका लागि पनि प्रकृति संरक्षणमा लाग्नु पर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनले संसारको तापमान घटबढ हुने र मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेकोले जलवायु सन्तुलनमा राख्न सबै पक्ष र सरोकारवाला निकाय जिम्मेवार र सचेतन हुनु पर्ने सुझाव सरोकारवाला निकायको छ । 

युथ एड्भोकेसी नेपालको आयोजना र राष्ट्रिय मानव अधिकार आयोगको समन्वय तथा कीओस फाउण्डेशनको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा रोकायाले सृष्टीको अस्तित्व बचाउन सकेमात्रै मानव अस्तित्व जोगाउन सकिने भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएका छन् । प्रकृति नै मानव जीवन र सभ्यताको प्राण भएकोले जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

कार्यक्रममा मानव अधिकार, जलवायु परिवर्तन र लैगिंक न्यायले मानव समुदाय तथा क्षेत्रमा परेको प्रभावका बारेमा छलफल गरिएको युथ एड्भोकेसी नेपालका प्रतिनिधी मदनराज जोशीले बताएका छन् । 

जलवायु परिवर्तनको मुद्दालाई स्थानीय तहबाटै प्रमुख मुद्दा र सरोकारको विषयका रुपमा उठान गर्नु पर्ने सुझाव सहभागिले दिएका छन् । पालिका तहबाटै नीतिगत योजनामा समावेश गरेर लैजानु पर्ने सुझाव डिभिजन वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख सुवास ऐडीले बताएका छन् । 

गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले सहजिकरण गरेको संवाद कार्यक्रम बडीमालिका नगरपालिकाको तालिम हलमा आयोजना गरिएको हो ।

सहभागि सरोकारवालाका तर्फबाट संकलन गरिएका सुझावलाई एकीकृत गरेर सम्बन्धीत निकायमा पठाउने आयोजकले बताएको छ । पछिल्लो केही दशक यता जलवायु परिवर्तनको सवाल विश्वव्यापी मुद्दा नै बनेको छ ।  
 

प्रतिक्रिया दिनुहोस