सोमबार, ०७ जेठ २०८१

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरु नै सुदूरपश्चिम आउन अनिच्छुक

धनगढी : सरकरी छात्रवृत्तिमा पढेका चिकित्सक (डाक्टरहरु) नै सुदूरपश्चिम आउन अनिच्छुक देखिएका छन्।

दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने अधिकांश चिकित्सकको रोजाई सुदूरपश्चिम पर्ने गरेको छैन्। छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गरेका चिकित्सक र पारामेडिक्सलाई सरकारले दुई वर्षका लागि विभिन्न प्रदेशमा खटाउँदै आएको छ। छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीले दुर्गममा गएर दुई वर्ष सेवा दिनुपर्ने नियम भए पनि स्वास्थ्यकर्मीको दुईवर्षे अवधि सुगम तथा हाइवेनजिकका सहरमा रहेका स्वास्थ्य संस्थामा बित्ने गरेको छ। 

छात्रवृत्तिमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका चिकित्सकमध्ये अधिकांश सहरी क्षेत्रमै करार सेवाका लागि खटिने गरेका छन्। गत वर्ष सरकारले विशेषज्ञ चिकित्सकलाई दुई वर्षका लागि खटाएको थियो। छात्रवृत्तिमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका चिकित्सक सुदूरपश्चिममा १५ जना मात्र कार्यरत छन्। २०७९ मै ६ जना विशेषज्ञ चिकित्सकलाई अन्यत्रबाट सुदूरपश्चिममा ट्रान्सफर गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

त्यस्तै, छात्रवृत्ति करार सेवाअन्तर्गत २०७८ मा १३ जना विशेषज्ञ चिकित्सक मात्र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा कार्यरत छन्। २०७७ मा करारमा खटाइएका ८ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष सेवा अवधिमध्ये कम्तीमा एक वर्ष दुर्गममा सेवा गर्नुपर्ने प्रावधान छ। 

चालू आर्थिक वर्षमा सातौँ र आठौँ तहको पारामेडिक्स र चिकित्सक सरकारी छात्रवृत्तिमा अध्ययन सकाएका पाँच जना हाल संघ र प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा करार सेवामा खटिएका छन्। छात्रवृत्तिमा पढेर दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी सबैभन्दा कम सुदूरपश्चिममै देखिएका छन्।

आर्थिक वर्ष २०७९र८० मा स्वास्थ्य सेवा विभागले प्रदेशमा एक सय ६ जना मेडिकल अधिकृत, फार्मेसी अधिकृत र नर्सिङ प्रमुख र दुई सय ८९ सातौँ र आठौँ तहका चिकित्सकलाई दुई वर्षका लागि करारमा खटाएको थियो। जसमध्ये सुदूरपश्चिममा ३५ जना स्वास्थ्यकर्मी मात्र करार सेवाअन्तर्गत काम गरिरहेका छन्।

चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत बनेको चिकित्सक परिचालन निर्देशिकामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले एक–दुई वर्ष करार सेवामा काम गर्नुपर्ने उल्लेख छ। मापदण्डअनुसार स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा दुई वर्ष करार सेवामा खटाउने गरेको छ। करार सेवाको पहिलो वर्ष अनिवार्य रूपमा दुर्गममा सेवा दिनुपर्ने मापदण्ड छ। तर, अधिकांश विशेषज्ञ चिकित्सकले अहिले पनि सुदूरपश्चिम आउन मानेका छैनन्। दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस