सोमबार, ०७ जेठ २०८१

बाजुराको तरकारी गाउँ : जहाँका स्थानीयले बार्षिक ३ करोड बढीको उत्पादन गर्छन

तरकारी खेतीकै भरमा परिवार पाल्ने देखि सन्तान पढाउँछन्

बाजुरा : रजाली, बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको गाउँ । बडीमालिका नगरपालिकाको ३ नम्बर वडा । भूगोलको सीमा र परिवार संख्यामा सानो तर उत्पादन र उर्वरामा जिल्लाकै नमुना गाउँ हो, रजाली । जहाँ २ सय ८ परिवारको बसोबास छ । पालिकाका ९ वटा वडा मध्ये दोस्रो सानो वडा पनि रजाली नै हो । 

तर रजालीको परिचय कम जनसंख्या र सानो वडाको रुपमा सीमित छैन् । तरकारी खेतीका लागि जिल्लाकै नमुना गाउँ हो, रजाली । बसोबास गर्ने जतिसबैका लागि खेती अनिवार्य पेशा हो । ती मध्ये एक सय बढीको व्यवसाय नै तरकारी खेती हो । उनीहरुले न अन्न खेती गर्छन्, न देश विदेश जाने आउने काम नै ।

डोकोमै विक्री गरेर भएपनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आवद्ध छन् । सिंगो गाउँ नै तरकारी खेतीले चिनिएको छ । बाजुराका लागि तरकारी र रजाली पर्यावाची जस्तै बनिसकेको भन्छन्, बडीमालिका ३ का वडा अध्यक्ष डबल रोकाया । रोकाया स्वयम तरकारी किसान हुन् ।

२०७९ मा रोकाया वडा अध्यक्ष भएपछि तरकारी खेतीको सम्पूर्ण जिम्मा उनकी  श्रीमति फुगी रोकायाले सम्हालेकी छन् । साँझ विहान रोकायाको साथ नरहने त कुरै भएन् । सफल किसान मध्येका रोकाया परिवारले डेढ दशक लामो समय भयो, तरकारी खेती सुरु गरेको छ । सिंगो मार्तडी बजारलाई नै तरकारी पुर्याउने जिम्मा जस्तै रजालीको देखिन्छ । 
मार्तडी बजारमा तीन तलाको घर बनाएका छन् । जेठो छोरा इन्जिनियर, कान्छो छोरा एच ए, र बहिनीलाई बिएसइ एजी पनि तरकारी

खेतीबाटै पढाएका हुन् । यी उदारण मात्रै हुन् । सिंगो गाउँ नै तरकारी खेतीले बाँचेको र रजालीको परिचय नै तरकारी खेतीले स्थापित भएको भन्नु हुन्छ बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का । नगर प्रमुख खड्कापनि रजाली बासी नै हुन् । 

सिंगो खेतमा तरकारी मौसमी र बेमौसमी तरकारी र टनेलहरु मात्रै देखिने गरेका छन् । कुनै परिवारका आँगन सुख्खा देखिदैनन् । तरकारी खेती र उत्पादन अनि आत्मनिर्भर किसानको परिचयका लागि जिल्लाको शान नै रजाली बासीले बढाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

फुगी रोकायाको जस्तै रजाली पिप्सेका रणबहादुर र जयबहादुर खड्काले पनि राम्रो आम्दानी गर्ने गरेका छन् । जयबहादुर खड्काले तरकारी खेतीबाटै मार्तडीमा २ ठाउँमा जमिन किनेका छन् । छोराछोरी काठमाडौंमा पढाउने गरेका छन् । भने रणबहादुर खड्काले पनि छोरीलाई तरकारी खेतीबाटै ओभरसियर बढाउन थालेका छन् । 

मासिक २५ हजार बढी आम्दानी हुन्छ, केही बचत गरिएको छ । छोरालाई पनि एसइइ पनि राम्रै कलेजमा प्राविधिक शिक्षा पढाउने गरि बचत गर्न थालिएको खड्काले सुनाए । रजालीका करिब १ सय बढी तरकारी किसानले बार्षिक २ देखि ४ लाख सम्म आम्दानी गर्ने गरेका छन् । गाउँमा बार्षिक ३ करोड बढी रकम तरकारीबाटै भित्रिने गरेको निवर्तमान वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिएका छन् ।

अवपाद बाहेक गाउँबाट कोही भारत जान बाध्य छैनन् । युवाहरु गाउँमै भेटिन्छन् । तरकारी बाहेक कागती, किवी, सुन्तला केरा खेती पनि स्थानीयले थालेका छन् । रजालीका स्थानीयले तत्कालिन केयर नेपालको सहजिकरणमा २०५८ सालपछि तरकारी लगाउन थालेपनि २०६४।६५ पछि निरन्तरता दिन थालेका हुन् ।

रजाली बासीले गाउँमा तरकारी खेतीबाटै बचेको रकम जम्मा गर्न लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनाएका छन् । हाल त्यो संस्थामा अरुले पनि बचत गर्न र ऋण लिन पाउने सुविधा छ । तर खास तरकारी खेतीबाटै बचेको रकम बचत गर्ने उदेश्यले स्थापना गरिएको स्थानीयको भनाई छ । 

रजालीले तरकारी खेतीको परिचयबाट नाम मात्रै कमाएको नभई स्थानीयले राम्रो आम्दानी समेत गरेर सन्तानको भविष्य समेत बनाएकोमा भन्छन्, स्थानीय अगुवा काशी विक । गाउँमा हाल तरकारी खेतीबाटै कमाएको पैसा लगानी लगाएर ५० बढीले विभिन्न क्षेत्रको प्राविधिक शिक्षा पढीरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि आधा दर्जनले विदेशमा छन् । रोजगारीकै लागि भनेर विदेश जानु पर्ने अवस्था देखिदैन् । 

रजाली बासीको प्रमुख पेशा र बिशेषता नै तरकारी खेती हुन थालेको छ । उनीहरुको परिचय नै तरकारी हो । २ सय परिवार बसोबास हुने गाउँमा तरकारी खेतीबाट मात्रै ३ करोड बढीको आम्दानी आउने कुराले ठूलो अर्थ राख्ने भन्नु हुन्छ सामाजिक अभियान्ता लालबहादुर ओली । रजालीकै जस्तो इच्छाशक्ति र सोच सबै गाउँ र युवामा विकास गर्न आवश्यक हुने सुझाव ओलीको छ । 

घरमा आमा बुबाले तरकारी खेती गर्ने र छोराछोरी उच्च शिक्षा अध्ययन गर्ने गरेको गाउँको अवस्था छ । रजालीको हालको अवस्थाले निरन्तरता पाए केही वर्षमै नमुना बन्ने अवस्था छ । बाजुराका ६९ वटा वडा मध्ये रजाली मात्रै उत्पादनमा नमुना हो । सरकारी तथा गैर सरकारी निकायको ध्यान र लगानी पनि रजालीलाई विशेष प्रकारले हुने गरेको छ । तर त्यो भन्दा बढी इच्छाशक्ति र निरन्तरता यहाँका किसानहरुको छ । 

मेहनत पनि उनीहरुले कम्ता गरेका छैनन् । विहान उज्यालो नहुँदै मार्तडी पुग्छन् । डोकोमा बोकेर ल्याएको तरकारी विक्री गर्छन्, घर फर्किन छन् र र फेरि तरकारी खेतीमा लागि हाल्छन् । उनीहरुलाई सहज बाटो र संकलन केन्द्रको अभावले भने समस्या छ । पछिल्लो समय नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर केही राहत हुने गरि काम अघि बढाएको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

किसानलाई नै सहज हुने र कृषि क्षेत्रमा किसानलाई आकर्षण बढाउने उदेश्यले कृषि एम्बुलेन्स खरिद गरेर ढुवानी नै थालिएकोले पुरानो समस्या हट्ने नगर प्रमुख खड्काको भनाई छ । करोड कमाउने रजालीको सिको अरुले गर्न सके विदेश पलाएन हुनु पर्ने र बेरोजगार समस्या सुनाउनु पर्ने अवस्थाबाट मुक्त हुने दिन टाढा छैनन् । 

प्रतिक्रिया दिनुहोस