सोमबार, ०७ जेठ २०८१

बाल विवाह र छाउ कुप्रथा हटाउन किशोरी र बालबालिका आफै सक्रिय

प्रभावकारी बन्दै टोल टोलका किशोरी कक्षा

बाजुरा : संख्यामा कम बढीको मात्रै कुरा हो, बाल विवाह र छाउ कुप्रथाले समाजमा जरो गाडेकै अवस्था छ । शहरको भन्दा गाउँमा बढी देखिन्छ, फरक त्यत्ती मात्रै हो । संभवत सामाजिक कुरुती र कुमान्यताले सबैतिर स्थान पाएकै छन् । तथ्याङ्ककंले देखाउने तालिकामा भने अन्य क्षेत्रको तुलनामा दुरदराजका विकट गाउँहरुमा बढी देखिन्छ । 

बाल विवाह होस्, की, छाउ कुप्रथा, कानुन विपरित कार्य हो । नेपालको कानुनले गैर कानुनी कार्य मानेर नै ऐन नियम र कानुन बनाएको छ । तरपनि गाउँमा त्यो समस्या देखिरहेको छ । शहर बजारमा भएर पनि लुकाइएको अवस्था छ । जुन कार्य समाजको विकास र स्वयम व्यक्तिको भविष्यका लागि घातक हो, हानीकारक छ । 

विहेवारी २० वर्ष पारी, महिनावारी हुनु भनेकै नयाँ मानव सृष्टि निर्माणका लागि योग्यता विकास गर्नु वा प्राकृतिक रुपमा महिलामा हुने शारिरीक प्रक्रिया पुरा गर्नु हो, भन्ने कुरामा धेरै जसोले जानकारी राख्ने गरेका छन् । मात्रै कार्यान्वयन गर्नमा मात्रै समस्या देखिन्छ । जानेकाहरुबाटै त्यो समस्या देखिने विषय नै चुनौतिपूर्ण छ । 

बाल विवाह र छाउ कुप्रथाको समस्या भोग्नेमा बाजुरा पनि देशकै शिर्ष सूची भित्र अटाउने जिल्ला हो । राज्य र गैर राज्य पक्षबाट लगानी वर्षेनी भएकै छ । सुधार बाह्य रुपमा धेरै भएपनि आन्तरिक समस्यामा सुधार नभएको स्वीकार गर्छन्, सुदूर पश्चिम प्रदेश स्तरीय किशोरी सञ्जालकी अध्यक्ष मनिषा विष्ट । 

विष्ट आफै छाउ कुप्रथा र बाल विवाह विरुद्धको अभियानकी अभियान्ता हुन् । खप्तड छेडेदह गाउँपालिका स्तरीय बाल क्लबमा आवद्ध भएर त्यो सचेतना फैलाउने अभियानमा विष्ट सक्रिय छन् । उनी आफैमात्रै होइन्, साथमा अन्य किशोरी र बाल क्लबका

साथीहरुलाई समेतसँगै अभियानमा हिँडाउने र टोलमा सञ्चालन भएर किशोरी सचेतना कक्षामा आवद्ध गराउने कार्यमा सक्रिय छन् ।
पहिलेको अवस्थामा धेरै सुधार भएको छ । गर्ने जति सबैले बाल विवाह गर्ने अवस्था थियो । हाल त्यो न्यूज संख्यामा झारिएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताए । २०७४।०७५ सालको सर्वेक्षण हेर्दा खप्तड छेडेदह गाउँपालिकामा सत प्रतिशत बाल विवाह हुने गरेको तथ्यांक थियो ।

५ वर्षको अवधीमा त्यो संख्या घटाएर २० प्रतिशत तल पुर्याएको दाबी गाउँपालिकाको छ । पालिकाले सचेतना शिक्षा र अभियानलाई निरन्तरता दिएको महिला तथा बालबालिका शाखा प्रमुख शान्ति जोशीले बताईन् । पीसविन र महिला विकास मञ्चसँगको सहकार्यमा धेरै राम्रो काम भएको जोशीको दाबी छ । 

महिला विकास मञ्च नामक गैर सरकारी संस्थाले खप्तड छेडेदह गाउँपालिकामा मात्रै २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन गरेको छ । छाउ कुप्रथा हटाउने, बाल विवाह रोक्ने, पढाइप्रति किशोरीको आकर्षण बढाउने र विवाह प्रति जिम्मेवार र कुमान्यता प्रति सचेत बनाउने गरि किशोरी शिक्षा सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन् । 

पालिकाका २८ टोलमा २८ जना सहजकर्ता राखिएको छ । एउटा कक्षामा कम्तीमा २० जना किशोरी सहभागि छन् । पालिका भित्रका मात्रै ५ सय ६० बढी किशोरी प्रत्यक्ष संलग्न छन् । उनीहरुले हप्ताको शनिबार र विदाको दिन कक्षा सञ्चालन गर्ने गरेको किशोरी कक्षाकी सहजकर्ता कल्पना धामीले बताईन् । एकै दिन एउटै समय आ आफ्नै टोल र छिमेकमा उनीहरु नियमित कक्षा लिन पाउँदा सचेत मात्रै भएका छैनन्, जिम्मेवार पनि देखिएका छन् । 

स्नातक अध्ययन गर्ने धामीले किशोरी कक्षा सञ्चालन पछि कुनै किशोरीले महिनावारी भएको दिन विद्यालय नछुटाएको र बाल विवाह नगरेको बताएकी छन् । किशोरी कक्षा सञ्चालन गरेको २ वर्ष पुग्न लागेको छ । बोल्न सक्ने, भन्न सक्ने, महिनावारी भएको दिन घरमा बस्ने लाज मान्ने, पढाइ छुट्ने, १० पास पछि नै विहे गर्ने कुराको अन्त्य भएको किशोरी कक्षामा अध्ययनरत छात्रा सजना नेपालीले बताइन् ।  

किशोरी कक्षा र अन्य सचेतना मुलक गतिविधीले बाल विवाह रोकिएको, छाउ कुप्रा प्रतिको गलत धारणामा कमी आएको, विद्यालय नियमितता समेत बढेको तथ्याकं पालिकासँग रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताएका छन् । पालिका नै जिम्मेवार भएर लागेको र दुर्गम टोलहरुका लागि थप प्रभावकारी बनेको धारणा अधिकृत जैशीको छ । 

पालिकामा बाल क्लब, किशोरी सञ्जाल, पालिका र अन्य गैर सरकारी निकाय सबै सक्रिय छन् । सबैको सामुहीक पहल र प्रयासबाट निर्णायक सफलता मिल्ने अवस्था आइपुगेको भन्नु हुन्छ, गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथ । खप्तड छेडेदह छाउ कुप्रथा भन्दा बढी बाल विवाह हुने पालिका हो । पालिकाका वर्षमा ५ सय बढीले बार्षिक रुपमा विहे गर्ने गरेको अनुमान छ । अहिले त्यसमा व्यापक सुधार भएको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस