सोमबार, ०७ जेठ २०८१

बडीमालिकाले विद्यालयको दिवा खाजामा कोदोजन्य परिकार खुवाउने

बाजुरा : नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन दिवा खाजा अनिवार्य गरेको छ । सामुदायिक विद्यालय तर्फका सबै प्रारम्भीक बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समय अवधी भित्र दिनको एक पटक खाजा सुविधा पाइरहेका छन् ।

विद्यालय दिवा खाजा विद्यार्थीका लागि आकषर्णको माध्यम पनि बनेको देखिन्छ । विद्यालय जान नमान्ने, ५ देखि ६ घण्टासम्म विद्यालय बस्दा सानो उमेरका बालबालिकालाई भोकले सताउने र पढ्न मन नगर्ने समस्या थियो । त्यो समस्या हल गर्न र बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेका कार्यक्रम कार्यान्वयनमा छ ।

बाजुराका पनि सबै सामुदायिक विद्यालयमा दिवा खाजा सञ्चालनमा छ । दिवा खाजामा प्रयोग हुने खाद्यन्न र खाद्य बस्तु सबै बाहिरबाट नै प्याक सहीत आउने गरेको छ । विद्यालयले पकाएर खुवाउने गरेका छन् । तर बडीमालिका नगरपालिकाले भने त्यसमा केही सुधार र फरक गर्ने योजना अघि सारेको छ ।

सबैजसो जिल्लामा उपलब्ध सरोकार, सम्बन्धी निकाय र खाद्यन्न बाली तथा पोष्टीक आहार विज्ञहरुलाई राखेर स्थानीय रैथाने बालीलाई पनि प्रवद्र्धन गर्ने गरि खाजाको परिकार बनाउन प्रस्ताव गरिएको नगरप्रमुख अमर खड्काले बताएका छन् । बडीमालिका नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय छन् ।

पालिकामा रहेका सबै समुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने बडीमालिकाले नीति लिएको छ । अन्य खानेकुरा र खाद्यन्न भन्दा बढी हाइजेनीक र प्रर्याप्त रुपमा स्थानीयले नै उत्पादन गर्ने बाली भएकोले त्यसको प्रवद्र्धन, संरक्षण र बजारीकरणका लागि अनिवार्य गर्न लागिएको नगर प्रमुख खड्काको भनाई छ ।

स्थानीय रैथानी बालीको संरक्षण र बजारीकरण पनि गर्नु छ, त्यसैमा कोदो बढी नै पोष्टीक तत्व पाइने खाद्यन्न बाली भएकोले हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार दिवा खाजामा राख्न लागिएको हो, प्रमुख खड्काले भन्नु भयो । पालिकाले कृषि ज्ञान केन्द्र बाजुरासँग पनि त्यसका लागि समन्वय र सहकार्य गरेको छ ।

बडीमालिका नगरपालिकाले गरेको प्रस्तावमा कृषि ज्ञान केन्द्रले अगुवाइ नै गर्ने इच्छाशक्ति देखाएको छ । जिल्ला स्थित गैर सरकारी संस्थाले समेत समर्थन गरेका छन् । विश्व खाद्य कार्यक्रमले यो निर्णय दीर्घकालिन योजना सहीत स्थानीय बाली प्रवद्र्धनका लागि सहयोग पुग्ने बताएको छ । 

सरकारले नै देश व्यापी स्थानीय खाद्यन्नलाई नै बढावा दिने गरि दिवा खाजामा समावेश गर्न सुझाव सरोकारवालाको छ । पालिका स्तरीयमा जिल्ला स्थित सरोकारवाला बोलाएर सुझाव संकलन तथा कार्यान्वयनको चुनौति बारे पनि बडीमालिकाले छलफल गरेर कार्यान्वयन नै गर्ने निर्णय गरिसकेको छ ।

स्वास्थ्यका लागि फाइदा पुग्ने र स्थानीय उत्पादनले पनि बजार पाउने भएकै कारण कोदोको परिकारलाई दिवा खाजामा समावेश गर्ने नीति पालिकाले लिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । उनले कोदो उत्पादन नहुने कुनै घर नै छैन्, भएको उत्पादन विक्री पनि हुने कुराले सकारात्मक सन्देश दिने बताएकी छन् ।

कोदोको परिकार दिवा खाजाका रुपमा प्रयोग गर्ने कुरा अन्य पालिका र विद्यालयका लागि पनि नयाँ सन्देश र सिकाइ हुने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । 

बाजुराको रैथानीय बाली कोदोको खपत र बजारीकरणमा टेवा पुग्ने भएपछि प्राविधिक सहयोग र उत्पादनको सीमा बढाउने गरि कृषि ज्ञान केन्द्रले योजना अघि बढाउने जैशीको भनाई छ । बाजुरा कोदोका लागि उर्वरभूमिकै रुपमा परिचित छ । त्यसैमा बडीमालिका नगरपालिका भित्र कोदो उत्पादन नै बढी हुने गरेको छ । 

बाहिर बनेको र प्याकीङ्ग भएर आउने खानेकुरा खुवाउने विषयमा समेत केही सरोकारवाला निकायले प्रश्न गरेका थिए । वडा अध्यक्ष, प्रअ विव्यस अध्यक्ष सहीतले पनि कोदोको परिकार खुवाउने र स्थानीय तरकारीकै प्रयोग गर्ने निर्णय स्वागत योग्य भएको बताएका छन् । कृषि ज्ञान केन्द्र, गिफ्ट नेपाल, विश्व खाद्य कार्यक्रमका प्रतिनिधीले जिल्लाका अरु पालिकाले पनि बडीमालिकाको निर्णयलाई समर्थन गरेर कार्यान्वयन गर्न सुझाव दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस