सोमबार, ३१ बैशाख २०८१

साईनिङ्ग स्टार कपको उपाधी सूर्यतारालाई, रानीवन सूर्यतारासँग स्तब्ध

बाजुरा : साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिताको उपाधी सूर्यतारा फाउन्डेशन कोल्टीले हात पारेको छ । फाइनल खेलमा रानीवन पेनाल्टीमा चुकेपछि सूर्यताराले उपाधी हात पारेको हो । निर्धारित समयमा १–१ को बराबरी खेलेका दुबै टिमले थप गरिएको १५ मिनेटमा पनि गोल रहीत खेलेका थिए । 

थपिएको समयमा पनि गोल नभएपछि रेफ्रिले खेलको निर्णय पेनाल्टीबाट लिने निर्णय गरेका थिए । पेनाल्टीमा ४–२ गोलको अन्तरले सूर्यताराले उपाधी हात पारेको हो । सेमिफाइनलमा सूर्यतारा फाउण्डेशनले बाँधु फुटबल क्लब र रानीवनले आयोजक साईनिङ्ग स्टारलाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए । 

रानीवन र सूर्यतारा बीचको फाइनल खेल ऐतिहासिक बनेको खेल निर्णायक समिति संयोजक बुढीनन्दा नगरपालिका २ का वडा अध्यक्ष नन्दलाल गिरीले बताएका छन् । सूर्यताराले खेल सुरुको ५ मिनेट नबित्दै गोल गरेको थियो । खेलको दोस्रो हाफको सुरुमै रानीवनले पेनाल्टी पाएर पनि गोल गर्न चुकेको थियो ।

पेनाल्टी मिस गरेपनि दोस्रो हाफको अन्तिममा रानीवनका कप्तान दिपक विकले गोल फर्काएर खेललाई बराबरी गरेका थिए । पाएको पेनाल्टीबाट पनि गोल गर्न नसकेको रानीवन सूर्यतारासँग अन्त स्तब्ध बनेको थियो । 

सूर्यताराले आफ्नो घरेलु मैदानमा रानीवनका दर्जनै प्रहार रोक्न सफल भएको थियो । राम्रो प्रदर्शन गरेको रानीवन पछिल्ला केही वर्षयता फाइनल खेलमा अभागी नै देखिएको छ । सूर्यतारा नामी खेलाडी उत्पादन गर्ने जिल्लाको प्रतिष्ठीत क्लब हो । 

फाइनल पुगेका दुबै टिममा सि र बि डिभिजनका खेल खेलिसकेका खेलाडी सहभागि छन् । रानीवन सुदूर र कर्णाली प्रदेशकै सि डिभिजन खेलेको एक्लो क्लब हो । खेलको बिजेता सूर्यताराले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । भने उप विजेता रानीवनले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । 

खेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्ताको उपाधी रानीवनका कप्तान दीपक विकले पाएभने उत्कृष्ट गोल किपर सूर्यताराका कुम्भ देउवाले हात पारेका छन् । खेलको भव्य साँस्कृतिक कार्यक्रमका बीच समापन गरिएको हो । 

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले खेलमा विजेतालाई सम्मान गरेका थिए । बोहराले नाइन एसाइड खेलाउनु पर्ने बाध्यता हटाएर कोल्टीलाई क्रिकेट र फुटबल खेलका लागिलयोग्य खेला मैदान बनाउने विश्वास दिलाएका छन् ।

खेलले कोल्टी क्षेत्रको आपसी मित्रता र सद्भाव कामयका लागि ठूलो सहयोग पुगेको र खेलाडी र खेल क्षेत्रको विश्वासमा टेवा पुगेको आयोजक क्लबका अध्यक्ष संजय रोकायाले बताएका छन् । पवन रोकायाले सञ्चालन गरेको कार्यक्रममा सहयोगीहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस