आइतबार, ३० बैशाख २०८१

मेल्लेख अछामले जित्यो बुढीगंगा मेयरकपको उपाधी

बाजुरा :  बुढीगंगा मेयर कपको उपाधी मेल्लेख गाउँपालिका अछामले जितेको छ । आदर्श गाउँपालिकालाई सोझो सेटमा फराकिलो अन्तरले पाखा लगाउँदै उपाधी मेल्लेख गाउँपालिका अछामले जितेको हो ।

उपाधी जितेसँगै मल्लेख गाउँपालिकाले १ लाख ५७ हजार ७ सय ७७ रुपैया नगद सहीत प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेको छ । खेलमा सहभागि १६ टिम मध्ये आफ्नो अपराजित यात्रामा रहेको मेल्लेखले पहिलो मेयर कपको उपाधी सहज जितसँगै हात पारेको हो ।

कपको उपविजेता आदर्श गाउँपालिका डोटीले जितेको छ । डोटी पनि समूहचरणबाटै आफ्नो अपराजित यात्रा सहीत फाइनल पुगेको थियो । बुढीगंगाले सुदूरका पहाडी जिल्लामा पालिका स्तरमा आयोजना गरिएको यो सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

प्रतियोगिताको उपविजेता आदर्श गाउँपालिका डोटीले १ लाख ७ हजार ७ सय ७७ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको तृतीय स्थान पनि अछामकै बान्नीगढी गाउँपालिकाले हात पारेको छ ।

बान्नीगढी गाउँपालिकाले नगद ५७ हजार ७ सय ७७ नगद प्रदान गरेको छ । मेयर कपको सान्त्वना स्थान कन्चनपुरको भिमदत्त नगरपालिकाले प्राप्त गरेको छ । विजेता टिमलाई नगर प्रमुख रामबहादुर बानीयाँले नगद सहीत प्रमाण पत्र, ट्रफी र मेडल हस्तान्त्रण गरेका हुन् ।

मेयर कपको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पार्टी खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले गरेका हुन् । खेलमा अछाम, डोटी, बैतडी, कंचनपुर र बाजुरा जिल्लाका १६ टिम सहभागि थिए ।

प्रतियोगिताले भलिबल खेलको प्रवद्र्धन गर्न, पालिका बीचको आपसी सहकार्य बढाउन सहयोग पुगेको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । प्रतियोगिता आगामी वर्षमा पनि निरन्तरता दिने पालिकाले बताएको छ ।

आयोजकले खेल र खेलाडीका लागि कोशेढुंगा सावित भएको विश्वास गरेको छ । बडीमालिका क्याम्पसमा आयोजना गरिएको प्रतियोगितामा खुला देउडा खेलको समेत आयोजना गरिएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस