आइतबार, ३० बैशाख २०८१

खप्तड भ्रमणमा आउने पर्यटकको संख्यामा वर्षेनी ओरालो

बाजुरा : सुदूरपश्चिम प्रदेशको चार पहाडी जिल्ला बझाङ्ग, बाजुरा, डोटी र अछामको संगम स्थलमा अवस्थित खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि दुई हजार चार सयदेखि दुई हजार ७ सय मिटरको उचाईमा फैलिएको खप्तड क्षेत्रको बिचमा एक हजार दुई सय फिट अग्लो खप्तड लेक रहेको छ । 

५० वर्षअघि महान दार्शनिक, चिकित्सक, वैज्ञानिक र ज्योतिषका रुपमा प्रख्यात खप्तड बाबाले तपस्या गरेको खप्तड बाबाको कुटी, त्रिवेणी नदी र वरिपरीका २२ वटा पाटन र ५३ वटा थुम्काहरु समेत रहेका छन् ।

खप्तड क्षेत्रमा लाग्ने विभिन्न सांस्कृतिक मेलामध्ये गंगा दशहरा मेलामा ठूलो संख्यामा तिर्थयात्री भेला हुने गरेका छन् । मेलामा सुदूरपश्चिमको प्रसिद्ध हुड्के नाँच र देउडा हेर्न आन्तरिक तथा बाह्य पर्यटक खप्तड पुग्ने गरेका छन्। तर पछिल्लो समय खप्तड घुम्ने पर्यटकको संख्या घट्दै गएको छ । खप्तड क्षेत्र डोटीसँग ८९ दशमलव ९३ वर्ग किलोमिटर आंशिक भु–भाग जोडिएको छ ।

प्राकृतिक र धार्मीक रुपमा प्रसिद्ध खप्तड क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन भने घट्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन अनुसार खप्तड भ्रमण गर्ने पर्यटकको संख्या वर्षेनि घट्दो क्रममा देखिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी ६ हजार ८ सय ६६ पर्यटकले खप्तड क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या आर्थिक वर्ष २०७५÷७६ मा आएर आधाले घटेको छ । सो अवधिमा तीन हजार ७ सय २० जना पर्यटकले मात्र खप्तड क्षेत्रको भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७६÷७७ मा भने केबल ७ सय ४७ पर्यटक मात्र खप्तड पुगेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ६ सय ८८ तथा आर्थिक वर्ष २०७९÷८० मा दुई हजार दुई सय ९ पर्यटक खप्तड भ्रमणमा पुगेको तथ्यांक छ । खप्तड क्षेत्रको विकासको नाममा वर्षेनि संघ र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आए पनि देखिने गरी गतिलो काम हुन नसकेको खप्तड पुग्ने पर्यटकहरुको गुनासो छ ।

वर्षेनि खप्तडको नाममा कुनै न कुनै रुपमा राज्य कोषको रकम खर्च भइनै रहेको भए पनि आन्तरिक एवं वाह्य पर्यटक आगमन वर्षेनि घट्दै जानु चिन्ताको विषय भएको टीप्पणी खप्तडको भ्रमणपछि फर्केका पर्यटकहरुको छ । पर्यटकलाई लोभ्याउने गरी प्राकृतिक फाँटबाहेक राज्यको लगानीबाट कुनै त्यस्तो नयाँ पूर्वाधार बन्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस