शनिबार, २९ बैशाख २०८१

श्रावण महिनामा किन लगाइन्छ हरियो पहिरन ?

अत्तरिया । श्रावणको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुका लागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया र पहेला  चुराले सजिएको देख्न पाइन्छ ।

श्रावण लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो र पहेलो चुरा पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी,हरियो र पहेलो चुरा लगाउने ’क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा लगाएका छन ।

श्रावणमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।

के हो धार्मीक विश्वास ?

शिवपुरी धामका पुजारी हरिनारायण भट्टका अनुसार धार्मीक मान्यता अनुसार श्रावण  शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिना भरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिला हरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साथै श्रावणमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । श्रावण हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास रहेको पुजारी भट्टले बताए । 

उनले भने धार्मिक ग्रन्थमा साउनमा हरियो वस्त्र, चुरा र टीका लगाउनुपर्छ भन्ने उल्लेख छैन । ‘साउनभरि हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलन प्राकृतिक सम्मानसँग जोड्न सकिन्छ।’

उसो त खेतमा काम गर्दा हातखुट्टामा लागेको चोट हटाई मुलायम बनाउन मेहदीका रुपमा तिउरी लगाउने चलन गाउँघरतिर अझै छ । चरकसंहितामा श्रावण महिनालाई वसन्तपछि बहार आउने अर्को महिनाका रूपमा व्याख्या गरिएको छ । कतिपयले साउनलाई आत्मशुद्धिको महिना मानेका छन् । प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्ने र प्रकृतिप्रति समर्पण गर्ने महिना भएकाले नारीहरूले हरियो पहिरन लगाउने गरेका हुन् । यस्तै श्रावण आत्ममन्थन गर्ने समय पनि हो।

हरियो रङ धेरै प्रसंग र विश्वाससँग जोडिएको छ । त्यसैले महिला साउनमा हरियो कपडा तथा चुरा लगाउनुपर्छ भन्ने मान्यता राख्छन्। अर्कोतर्फ समय अनुसारको बदलिँदो फेसन शैलीले झनै आकर्षण बढाएको देखिन्छ । 

श्रावण प्रकृतिले नयाँ स्वरूप परिवर्तन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाई पनि प्रकृतिसँग अनुकूल गराउन हरियो पहिरन लगाउने हरियो बोटबिरुवाहरूको पातबाट विभिन्न शृङ्गारको सामानहरू बनाएर लगाउने चलन परापूर्व कालदेखि रहँदै आएको छ । अर्को कुरा साउन महिना भगवान् शिवको एकदम प्यारो महिना भएकाले पनि बेल पत्र तथा अन्य सामाग्रीहरूबाट पूजा गरिन्छ । त्यसैले पनि हरियो रङ्ग लगाउने चलन छ ।

भगवान् शिवलाई कुनै पनि वैभव चाहिँदैन त्याग प्रवृत्ति भए पुग्छ । त्यसैले म पनि सबै कुरा त्यागेर शिवको चरणमा जाँदै छु भन्ने अर्थमा पहेँलो वस्त्रको प्रयोग गरिने चलन चल्दै आएको छ । प्राकृतिक जडीबुटीहरूको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकूल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिकै हो । एकातिर शृङ्गार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकूल हुने भएकोले मेहेन्दी लगाउने चलन छ ।

यसरी हरियो रङ्ग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो । हरिया, पहेँला वस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक मान्यता पनि छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रङ्गको हुन्छ श्रीमान् वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

प्रकृतिमा घुलेको हरियो रङले मन खुसी बनाउँछ । हरियो मौसममा रमाउनु प्रकृतिसँग मनको मेल हुनु हो । यसबाट मानिसमा प्रेमभाव उत्पन्न हुन्छ। हरियो रङमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस