सोमबार, ०७ जेठ २०८१

खाद्य सुरक्षा बढाउन उत्पादन र उपयोगमा ध्यान दिन सुझाव

बाजुरा : बाजुरामा पनि विश्व खाद्य दिवस मनाइएको छ । खाद्य अधिकार र उत्पादनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायले औपचारिक कार्यक्रम गरि ४३ औं विश्व खाद्य अधिकारी दिवस मनाएका हुन् । 

दर्जन बढी गैर सरकारी संस्था र कृषि ज्ञान केन्द्रको सयुक्त सहकार्यमा आयोजित औपचारिक कार्यक्रममा धेरैले उत्पादनमा जोड दिन सुझाव दिएका छन् । बढ्दो खाद्य असुरक्षारोलाई रोक्न खाद्यन्नको उत्पादन र उपयोगमा ध्यान दिनु पर्नेमा वक्ताहरुले सुझाव सहीत जोड दिएका हुन् ।

कृषि उत्पादन नै खाद्य सुरक्षाको पहिलो आधार हो, उत्पादन बढाएर मात्रै हुन्न, खाने बानीमा पनि परिर्वतन हुनु पर्ने र उत्पादनमा पनि जोड दिन अवस्थाले मात्रै खाद्य सुरक्षा सुनिश्चित हुने सुझाव सरोकारवालाको छ ।

आफैले उत्पादन गरेका खाद्यन्नको उपयोग गर्ने बानी नै हटिसकेको र बाह्य उत्पादनमा मात्रै रुची बढ्ने कुराले खाद्य असुरक्षा बढाएकोमा जिल्ला समन्वय समिति प्रमुख तुलसिराम रोकायाले चिन्ता व्यक्त गरेका छन् । भातलाई मात्रै खाना भन्ने, र अन्य उत्पादनमा विश्वास नै नगर्ने बानी सबैले हटाउनु पर्ने र भातलाई मात्रै खाना भन्ने मान्यता हटाउनु पर्ने सुझाव रोकायाको छ ।

यो वर्ष दिवसको नारा ‘जीवन र खाद्यको आधार पानी’ भन्ने राखिएको थियो । पानी विनाको उत्पादन र जीवन कल्पना गर्न नसकिने कुरालाई स्थापित गर्न विश्वभरि जीवन र खाद्यको आधार पानी राखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख समेत रहेका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र सहीतका निकायले नौ वटा स्थानीय तहका १८ जना अपाङ्ग अशक्त, गरिब बिपन्न, र भुकम्प बाट प्रभावित व्यक्तिलाई राहत सहयोग गरेको छ । २ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

त्यसै गरी उत्कृष्ट कृषकका रुपमा बडीमालिका नगरपालिका ७ का खडक धामीलाई नगद पाँच हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । धामीले एक सिजनमा मात्रै १ लाख बराबरको बन्दा उत्पादन गरी राम्रो आम्दानी गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख एवम् सूचना अधिकारी मिन प्रशाद जैशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । 

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिती रहेको थियो । विश्वमा पछिल्लो समय खाद्य संकट र असुरक्षाको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस