सोमबार, ०७ जेठ २०८१

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु, २ सय बढी विरामी

गाउँमा स्वास्थ्य कर्मीको टोली परिचालन

बाजुरा : बाजुरामा भाइरल ज्वरोको व्यापक संक्रमण फैलिएसँगै २ जनाको मृत्यु भएको छ । संक्रमण फैलिएको खप्तड छेडेदह गाउँपालिका २ माटेसाँघु गाउँका २ जनाको मृत्यु भइसकेको छ । भने अझै गाउँमा २ सय बढी विरामी परेका छन् । सिंगो गाउँ नै संक्रमणले थला परेको छ । घरघरमा सबै जना ज्वरोको संक्रमणले थलापरे एक अर्कालाई सहयोग गर्ने समेत कोही नरहेको अवस्था छ ।  

गाउँमा हप्तादिन यता भाइरल ज्वरोको संक्रमण फैलिएको स्थानीय दीर्घ शाहीले जानकारी दिएका छन् । ज्वरोकै कारण माटेसाँघुका ४९ वर्षीय सौरा देबी बुढा र ६२ वर्षीय कुल बहादुर शाहीको मृत्यु भइसकेको छ । बाँकी विरामीको उपचार भइरहेको हेल्थ असिष्टेन्ट रमेशबहादुर ओलीले बताएा छन् । ओलीकै नेतृत्वमा २ दिन देखि स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको गाउँपालिका अध्यक्ष दीलबहादुर रावतले बताएका छन् ।

गाउँमा करिब १ सय ६० बढी परिवारको बसोबास छ । गाउँबाट १ घण्टाको पैदल दुरीमा स्वास्थ्य चौकी पनि छ । गाउँमा फैलिएको ज्वरोको संक्रमण बारे विरामीको मृत्यु पछि मात्रै व्यापक भएको स्थानीयले बताएका छन् । ज्वरो मात्रै आउने भन्ने कुरालाई लिएर स्थानीयले सुरुमा बेवास्ता गरेपछि संक्रमण जटिल अवस्थामा पुगेको स्वास्थ्य कर्मीले बताएका छन् ।

गाउँमा फैलिएको संक्रमण बारे स्वास्थ्य कर्मीलाई समेत समयमै जानकारी नदिएको देखिएको छ । घरका सबै थला पनृ थालेपछि र मृत्यु समेत हुने अवस्था पुगेपछि स्थानीयको जानकारी लगत्तै स्वास्थ्य कर्मीको टोली पठाएर उपचारकार्य जारी राखिएको पालिका अध्यक्ष दीलबहादुर रावतले बताएका छन् ।

स्थानीयले भने सुरुमै खबर गरेपनि स्वास्थ्य संस्थाबाट बेवास्ता गरिएको आरोप छ । सामान्य ज्वरोको संक्रमण देखिने बित्तिकै जयवागेश्वरी स्वास्थ्य चौकीमा जानकारी गराएको र स्वास्थ्य कर्मीले बेवास्ता गरेपछि भयाभह अवस्थामा पुगेको आक्रोश स्थानीयको छ । हप्तादिनसम्म पनि गाउँमा स्वास्थ्य कर्मी उपचारका लागि नआएको आरोप सही नभएका जयवागेश्वरी स्वास्थ्य चौकी इन्चार्ज निर्मला बमले बताएकी छन् । समयमै खबर नगर्दा र उपचारका लागि नआउँदा अवस्था जटिल बनेको बमको दाबी छ ।

जानकारी पाए लगत्तै औषधी सहीत गाउँ पुगेको र अवस्था बुझेलगत्तै पालिकाबाटै टोली पठाएर उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । गाउँपालिका उपाध्यक्ष विशु नाथ सहीतको जनप्रतिनिधीको टोली पनि ज्वरो प्रभावित गाउँमा पुगेर अवस्था बारे जानकारी लिएको छ ।

विरामीका १ सय ३ डिग्री भन्दा माथिको ज्वरो आउने गरेको छ । ज्वरोसँगै खोकी लाग्ने, श्वास फुल्ने, उठ्न नसकिने, रिंगटा लाग्ने जस्ता लक्षण विरामीमा देखिएको छ । संक्रमण देखिएको जानकारी लगत्तै स्वास्थ्य कार्यालय बाजुराले पनि औषधी सहीत स्वास्थ्य कर्मी पठाएको कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् । ल्याव सहीतको टोली पठाएको छ ।

गाउँमा ज्वरोको संक्रमणबाट जेष्ठ नागरिक, दीर्घ रोगीहरु बढी प्रभावित छन् । ओछ्यानबाट बाहिर नआउने अवस्थाबाट केही सुधार भएको र सुरुकै दिन सिकिस्त अवस्थामा रहेका ३६ जनाको उपचार गरिएको र बाँकीको उपचार भइरहेको रमेशबहादुर ओलीले जानकारी दिएका छन् । संक्रमण नियन्त्रण नजिक रहेको दाबी गाउँपालिकाको छ । उसोत थला परेको गाउँ स्वास्थ्य कर्मी पुगेपछि केही उत्साहीत र आशावादी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस