सोमबार, ०७ जेठ २०८१

बाजुरामा स्क्रब टाइपस रोगको संक्रमण, चार महिनामा ४० बढी विरामी भेटिए

बाजुरा : बाजुरामा स्क्रब टाइपस रोगको संक्रमण देखिएको छ । गएको जेष्ठ महिना यता रोगको संक्रमण फैलिएको बाजुुरा जिल्ला अस्पतालले बताएको छ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिका क्षेत्रमा रोगको संक्रमण देखिएको अस्पतालमा कार्यरत डाक्टर चेतबहादुर धामीले बताएका छन् । 

मुसा लगायतका प्रजातिमा पाइने सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा, किर्ना आदिको टोकाइबाट सर्ने रोगको संक्रमण बाजुरामा वृद्धि हुदै गएको पाइएको छ । उपचारका लागि आउने मध्ये दैनिक १।२ जनामा स्क्रब टाइपस रोगको संक्रमण देखिने गरेको डाक्टर चेतबहादुर धामीले जानकारी दिएका छन् ।

स्क्रब टाइपस ओरेन्सिया सुसुगामुस नामको जिवाणुले गर्दा लाग्ने गरेको छ । स्क्रब टाइपसको संक्रमण हुँदा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर बाँउडिने, खोकी लाग्ने जस्ता लक्षण देखिने गरेको बाजुरा जिल्ला अस्पतालका प्रमुख डाक्टर समिता पुनले बताएकी छन् ।

अधिकांशमा बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने, जोर्नी र मांशपेशीमा पिडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घटदै जाने, छाती पाखुरा, हात खुट्टामा गुलावी बिमीरा देखिने जस्ता लक्षण देखिने गरेको छ ।

    बाजुरा जिल्ला अस्पतालमा एक जना विरामी चार दिन देखि भर्ना गरिएको छ । चार महिनाको अवधीमा ४० बढीमा संक्रमण देखि सकिएको अस्पताल श्रोतले बताएको छ । कसैलाई धेरै गाह्रो हुने र कसैलाई सामान्य खालको दुखाई मात्रै हुने गरेको छ । 

समयमै उपचार नपाएमा ज्यान समेत जोखिममा हुने स्वास्थ्य कर्मीको सुझाव छ । केही वर्ष पहिला कमै देखिने स्क्रब टाइपस पछिल्लो समय संक्रमण नै रुपमा फैलिएको चिकित्सकको भनाई छ ।

स्क्रब टाइपस पहिलो पटक सन १९३० मा जापानमा पहिचान गरिएको रोग हो । यसको समयमै उपचार हुन नसके दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुँदा सामान्य जिवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखा पर्ने जोखिम रहेको छ ।

सबै उमेर समूहका मानिसलाई पनि संक्रमण सर्न सक्ने हुन्छ । हालसम्म यस जिवाणुको बिरुद्धमा दिइने लाइसेन्सेड भ्याक्सिन बनेको छैन् । तर संक्रमण भएपछि डक्सिसाइक्लिन (१०० एमजी) दिनको दुईपटक, टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको मद्दत लिनु पर्ने र चिकित्सकको सल्लाहमा उपचार गर्नु पर्ने सुझाव स्वास्थ्य कर्मीको छ ।

यो जिवाणुबाट बच्नका लागि सुक्ष्मकिरा, सुल्सुले , उपियाँ, जुम्रा आदिबाट टाढा बस्ने, विरामीको सुरक्षित ढंगले हेरचाह गर्ने, बिरामीको सामानहरु जथाभावी नराख्ने र प्रयोग नगर्ने तथा सरसफाईमा राम्रो ध्यान दिन स्वास्थ्य कर्मीको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस