सोमबार, ०७ जेठ २०८१

डा. समिता पुनलाई बाजुरा जिल्ला अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी

२ वर्ष देखि कार्यरत डाक्टर मिलन जोशीलाई विदाई

बाजुरा :  बाजुरा जिल्ला अस्पतालको कार्यालय प्रमुखको रुपमा डाक्टर समिता पुन हाजिरी भएकी छन् । बाग्मती प्रदेशमा कार्यरत डाक्टर पुन बाजुरा जिल्ला अस्पतालको प्रमुखको जिम्मेवारी सम्हाल्ने गरि अस्पतालमा हाजिरी भएकी हुन् ।

बाजुरा अस्पताल लामो समयदेखि करार सेवाका कर्मचारीको नेतृत्वमा सञ्चालन हुदै आएको थियो । यस अघिका कार्यालय प्रमुख डाक्टर मिलन जोशीको भदौ २ गते करार सेवाको अवधी सकिएको थियो । लगत्तै डाक्टर चेतबहादुर धामीले अस्पतालको प्रमुखका जिम्मेवारी पाएका थिए । 

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले स्थायी सेवाका डाक्टरलाई पठाएपछि प्रमुखको जिम्मेवारी डाक्टर पुनले प्राप्त गर्नु भएको हो । डाक्टर रुपचन्द विश्वकर्मा एमडी अध्ययनका लागि गएदेखि बाजुरा अस्पताल करार सेवाकै कर्मचारीको भरमा चलिरहेको थियो ।

छात्रवृत्ती कोटा अध्ययन सकाएर आएका र करार सेवा लिएर आएका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्दा बेला बेला विवादीत हुने गरेको थियो । डाक्टर पुन कार्यालय प्रमुखको जिम्मेवारी पाएसँगै प्रशासकीय व्यवस्थापन प्रभावकारी हुने अस्पताल व्यवस्थान समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

नयाँ हाजिर भएका कार्यालय प्रमुख डाक्टर समिता पुनलाई औपचारिक कार्यक्रमका बीच स्वागत गरिएको छ । भने भदौ २ गतेसम्म कार्यालय प्रमुख भएर विगत २ वर्ष देखि कार्यरत डाक्टर मिलन जोशीलाई विदाई गरिएको छ । 

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले नयाँलाई स्वागत र पुरानालाई औपचारिक रुपमा विदाई गरेका हुन् । सेवा प्रवाह र जनताको स्वास्थ्य सेवा प्रति उत्तरदायी र जिम्मेवार प्रशासक भएर कार्यालय सञ्चालन गर्न डाक्टर पुनलाई नगर प्रमुख खड्काले सुझाव दिएका छन् । 

कर्मचारी, व्यवस्थापन समिति सहीत सहभागि कार्यक्रम अस्पतालको बैठक कक्षमा आयोजना गरिएको हो । लामो समयदेखि अस्पतालमा सेवारत दलबहादुर रावललाई पनि सेवा अवधी सकिएपछि विदाई गरिएको छ । 

प्रतिक्रिया दिनुहोस