आइतबार, ३० बैशाख २०८१

मदिराले मात्तिएका खप्तड छेडेदह ३ का वडा अध्यक्षद्धारा स्थानीय माथि कुटपीट

आक्रमण गरेपछि प्रतिकार गरेको अध्यक्ष रावतको स्वीकार

बाजुरा : खप्तड छेडेदह गाउँपालिका ३ का अध्यक्ष विर्ख रावतले स्थानीय नरबहादुर बुढा माथि कुटपीट गरेका छन् । वडा कार्यालय नजिकै रहेको पसलमा सँगै खानपीन गर्दै गर्दा भएको विवाद पछि वडा अध्यक्ष रावतले बुढा माथि कुटपीट गरेका हुन् ।

सामान्य कुरामा विवाद बढेपछि मदिराको तालमा अध्यक्ष रावतले आक्रमण गरेको घाइते नरबहादुर बुढाले बताएका छन् । बुढाको वडा कार्यालय नजिकै भैसी खरक छ । भने अध्यक्ष रावत पनि त्यही पसलमा बस्ने गरेका छन् । 

सधैं मेलमिलाप राम्रो भएका दुबै जनाले बेहाल हुने गरि मदिरा सेवन गरेको श्रोतको दाबी छ । शिरमा लगाएको टोपीको विषयलाई लिएर कुराकानी भइरहेको थियो, सँगै भएका अर्का व्यक्तिको विषयमा दुबै जना बीच भनाभान भयो, र खाएको तालमा कुटाकुट भएको बुझिएको छ ।

वडा अध्यक्ष रावतले थाहै नपाई कुटाकुट भएको स्वीकार गरेका छन् । सधैं मिल्ने साथी हौं । नजिकै खरक छ । सधैं साझपख बस्ने गरेका थियौं, हिजो पनि त्यही क्रममा आपसी विवादले घटना घटेको र कुनै रिसिबी र योजना नभएको वडा अध्यक्ष विर्ख रावलले स्वीकार गरेका छन् ।

कुटाकुट पछि विर्ख रावतको हातमा चोट लागेको छ । भने बुढाको टाउकोमा गम्भीर चोट लागेको छ । बुढाको टाउकोमा ७ वटा टाँका लागेको आफन्तले बताएका छन् । अध्यक्ष रावतले पनि आफू टाँटे स्वास्थ्य चौकीमा उपचारका लागि आएको स्वीकार गरेका छन् । पीडित पक्षले भने चुनावमा भोट नदिएको आक्रोशमा कुटपीट गरेको आरोप लगाएका छन् । रावत नेपाली काँग्रेसबाट चुनाव जितेका वडा अध्यक्ष हुन् । 

चोट कस्का कति लाग्यो थाहै भएन्, तर नियत, योजना र षडयन्त्रका साथ नभएकोले ठुलो विषय बनाउन नहुने तर्क वडा अध्यक्ष रावतको छ । यता पीडित पक्षले भने ज्यानै लिने गरि आक्रमण गरिएको विषयलाई सामान्य रुपमा नलिने र उजुरी प्रक्रियामा जाने अडान राखेको छ ।

दुबै जना उपचारका क्रममा स्वास्थ्य चौकीमा छ । यता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले उजुरी आइनसकेको र दिन लागेको भनेर फोन मात्रै आएको बताएका छन् । डोगडी प्रहरी चौकीमा नै दिन भनिएपनि उपचारकै क्रममा रहेकोले उजुरी नआएको बोहराको भनाई छ ।

बुढालाई वडा अध्यक्षको धम्कीका साथ मरणासन्न हुने गरि कुटपीट गरिएको आफन्त टेकबहादुर बुढाले बताएका छन् । टाउकोमा ७ वटा टाँका लागेका छन् । शरिरका विभिन्न भागमा निलडाम र घाउहरु रहेकोले ज्यानै लिने उदेश्यले घारितलो हतियार प्रयोग गरि आक्रमण गरिएको आफन्त बुढाको दाबी छ । 

No description available.अध्यक्ष रावतले मदिरा सेवन गरि गाली बेइज्जजी गर्ने गरेको स्थानीयको आरोपछ । यता वडा अध्यक्ष रावतले आफूमाथि पनि आक्रमण भएकोले उजुरी दिने बताएका छन् । रावतले मदिरा सेवन बारे भने केही प्रक्रिया दिएनन् । गाउँतिर स्थानीय अवैध घरेलु मदिरा सेवन गर्ने र गाली बेइज्जति, कुटपीटका घटनाहरु घटिरहने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस