सोमबार, ०७ जेठ २०८१

बाजुराको कोल्टीबाट नेपालगञ्ज लिदैं गर्दा जहाज भित्रै विरामीको मृत्यु

बाजुरा : कोल्टीबाट नेपालगञ्ज लिदैं गर्दा जहाज भित्रै एक जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ३ का दलजित कटेल रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी रिफर गरेपछि कटेललाई जहाज मार्फत नेपालजञ्ज पठाइएको थियो ।

एपेन्डिसाइडको समस्याले थला परेका कटेलको जहाज नेपालगञ्ज नपुग्दै बीच यात्रामै मृत्यु भएको हो । कटेललाई उपचारका लागि सिता एयरको विमानबाट पठाइएको थियो । २४ घण्टा भित्र उपचार गराइसक्नु पर्ने जटिल रोगको सिकार बनेका कटेललाई लिएर जहाज दिउँसो १२ः३३ मा कोल्टीबाट उडेको थियो ।

३० देखि ३५ मिनेट अवधी मात्रै लाग्ने हवाइ दुरी पार नगर्दै कटेलको मृत्यु भएको सोही विमानमा सवार जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् । ‘प्लेन उडेको केही समयमा गाह्रो भएको र विमान परिचारिकासँग स्वास्थ्य कर्मी भएर बचाउन अपिल गरेको जोशीले बताएका छन् ।

विमान चालकले पनि २६ मिनेटको अवधीमै नेपालजञ्ज जहाज पुर्याइसकेका थिए । तरपनि कटेलको नेपालगञ्ज नपुग्दै जहाजमै ज्यान गइसकेको थियो । विमाल परिचालिकाले हर कोसीश गरेपनि संभव नभएको सँगै सवार जोशीले बताएका छन् । 

कोल्टीमा तीन महिनाको अवधीमा समयमै विमान नआउँदा चार जनाले ज्यान गुमाइसकेका छन् । भने यो पटक विमाल आएर पनि विरामीले ज्यान गुमाउनु पर्ने बाध्यता आइलागेको छ ।

प्रतिक्रिया दिनुहोस