मङ्गलबार, ०१ जेठ २०८१

युवा सोच र परिवर्तनको बाटो

युवा भन्ने वित्तिकै परिवर्तनको संवाहक, देश निर्माणको खम्बा अनि गरि खाने पुस्ता । हामीले बुझ्ने युवाको परिभाषा हो । यो परिभाषामा सबै जसोको साझा बुझाइ र समान धारणा छ । तर नेपाली युवाको हकमा परिभाषा व्यवाहार कार्यान्वयन नभएको देख्दा अचम्म मान्नु पर्ने अवस्था छैन् । किनकी हामी युवा युवाको परिभाषा अनुसारको जिम्मेवारीले बाँधिएका छैनौ । 

युवाले गर्नु पर्ने जिम्मेवारी र निर्वाह गर्नु पर्ने भूमिका हामीले पुरा गर्न सकेका छैनौ । पढ्न गएको युवा अरुलाई अनावश्यक विषय पढाइ रहेको देखिन्छ । काम गर्ने सीप नभएको युवा योग्य युवालाई काम र गरि खाने सीपको कुरा सिकाइरहेका छौं । यति लज्जीत काममा पनि हामीलाई पछुतो छैन् । झनै बडो शानका साथ गफ दिइरहेका छौं । 

यस मनस्थितिको स्पष्ट अर्थ के हो भने युवा पुस्ता या युवामा मूलतः सकारात्मक सोच र ऊर्जाको आधिक्य हुन्छ । यी नै दुइटा गुणले विशेषतः युवालाई परिवर्तनको संवाहक बनाउँछ । बन्नु पर्ने हो । तर हामी यी र यस्ता कामका लागि फरक रुपमा स्थापित हुन सकिरहेका छैनौ । 

आज विश्व नवीन ऊर्जाका साथ आफ्नो वर्तमानमा जीवन्त रहेको देखिन्छ भने त्यसको श्रेय युवा पुस्तामा जान्छ र दिनुपर्छ । युवा पुस्ताको उत्साहप्रद स्फूर्ति, कार्य गर्ने सौर्य र सदीच्छालाई यदि सही दिशा निर्देश र अवसर मिल्छ भने त्यतिबेला परिवर्तन र अग्रगमनका लागि यो पुस्ताले धेरै अभूतपूर्व कार्य सम्पादन गरेर समाजको नेतृत्व गर्दछ, गरेको जीवन्त र सुन्दर इतिहास छ । यो ऊर्जाशील युवा पुस्तालाई गलत दिशामा धकेलियो भने यो पुस्ता ठूलो विनाशकारी परिणाम ल्याउन पनि प्रयुक्त हुने गरेको इतिहास छ । त्यसले देश अधोगतिको अँध्यारोमा फँसेको कुरा पनि इतिहासको अध्ययन अवलोकनबाट प्रस्ट हुन्छ । हामीले समयमै सचेत हुन जरुरी छ ।

युवा पुस्ता र यसको युवा ऊर्जालाई सही बाटो देखाउनु अत्यावश्यक छ । अन्यथा समाजले सुनौलो भविष्य गुमाउने र पछि पर्नेछ । आज युवा जनसंख्याको मामिलामा हाम्रो देशलगायत जुन देश अगाडि छन्, तिनीहरूले यो ऊर्जाशील शक्तिलाई सही दिशा र गति दिन सकेनन् भने उनीहरूलाई पुनः यो सुन्दर भविष्य निर्माणको अवसर मिल्ने छैन । वर्षेनी ७ लाख बढी युवा विदेश जानु पर्ने बाध्यता हटाउने, समाज बनाउने र आफ्नो जीवन समृद्ध बनाउने कुरा युवामा बोध गराउन जरुरी छ ।

मूल बाटो त युवालाई जगाउने, उठाउने र सही बाटो लगाउने नै हो । विज्ञान र प्रविधिलाई युवा पुस्तासँग र युवा पुस्तालाई कृषि, उद्योग, विद्युतीकरण, पर्यावरण तथा सामाजिक उत्तरदायित्वसहितको शिक्षा र स्वास्थ्यसँग नयाँ उचाइका साथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्बन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनैपर्छ । अन्यथा इन्टरनेट ज्ञानले पनि समस्या समाधान दिन सक्तैन र एउटा विलाश र सोखको वस्तु मात्र भएर सीमित हुन पुग्छ । अहिलेसम्मको चिन्तन, चरित्र र व्यवहारले दर्शाएको अनुभवको वस्तुगत र महìवपूर्ण निचोड यही नै हो ।  

हाम्रो जीवन स्तर, आम्दानीको अवस्था, उत्पादनको ग्यारेन्टी र बाँच्ने आधारहरुमा प्रष्ट हुनु पर्छ । भविष्य बोकेको युवाको भविष्य पनि सोचिनु पर्छ । प्रयोग पछि डस्वीनमा फ्याँक्ने संस्कार नेताहरुबाट अन्त्य हुनु पर्छ । 

हामी युवा यो समाजका खम्बा हौ । हामीले यो समाजको परिवर्तन र यो समाजमा भयका ती बेथिति, अन्याय अत्यचार र भ्रष्टाचारलाई अन्त्य गर्नाका लागि सबै युवा यकै ठाउमा उभिन आज को आवश्यकता हो । यदि हामी एकै ठाउबाट एउटै आवाजमा यो समाज को सुदृढका लागि बोलेनौ भने हाम्रो समाज फेरि पुरानै अवस्थामा रहने निश्चित देखिन्छ । 

(अनेरास्ववियु बाजुरा काठमाडौं सम्पर्क कमिटी सचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस