सोमबार, ०७ जेठ २०८१

बडीमालिका यात्रामा सेनाद्धारा ८ सय बढीको स्वास्थ्य उपचार र ५ जनाको उद्दार

बाजुरा : नेपाली सेनाले बडीमालिका तीर्थ यात्रामा मानव सेवाका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८ सय बढीलाई उपचार सेवा दिएको छ । बाजुरा स्थित दुर्गाभन्ज्याङ्ग गुल्मका तर्फबाट स्वास्थ्य कर्मी, सेना सहीतको उद्दार टोली खटाएको थियो ।

स्वास्थ्य शिविर मार्फत तीर्थ यात्रामा सहभागि ८ सय बढी भक्तजनहरुलाई औषधी उपचार, परामर्श, स्वास्थ्य उपचार गरेको छ । भने ५ जनाको हेलिकप्टर मार्फत नै उद्दार गरेको छ । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृत सहितको मेडिकल टिम खटाएर शिविर सञ्चालन गरिएको थियो ।

तीर्थ यात्रामा हुने जोखिमलाई मध्येनजर गरेर नेपाली सेनाले यो पटक स्वास्थ्य शिविर नै सञ्चालन गरेको थियो । भने सेनाको हेलिकप्टर समेत उद्दारका लागि तैनाथ गरेको थियो । भदौ ११ गतेदेखि १३ गतेसम्म बडीमालिका धार्मीक तीर्थ यात्रा लागेको थियो ।

तीर्थयात्रीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर उपचार सेवाका लागि शिविर सञ्चालन गरिएको गुल्मपती धमेन्द्र बहादुर सिंहले बताएका छन् । यो पटक बडीमालिका धार्मीक तीर्थ यात्रामा नेपाली सेनाको बाक्लो उपस्थिति गराइएको थियो । राहत, सेवा र उद्दारका लागि टोली नै परिचालन गरिएको थियो ।

स्वास्थ्य शिविरमा ५ सय ४५ जना पुरुष र ३ सय २१ महिला गरी जम्मा ८ सय ६६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । यसका अतिरिक्त करिब ९ सय ५५ जनालाई स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको गुल्मले जनाएको छ ।

सेनाले जटिल तथा सिकिस्त अवस्थामा पुगेका ५ जना बिरामीहरुलाई मेडिकल क्याम्पमा उपचार पश्चात् नेपाली सेनाको हेलीकप्टर मार्फत रेस्क्यु गरी थप उपचारको लागि जिल्ला अस्पताल बाजुरा तथा अन्य बाहिरी अस्पताल सम्म पु¥याईएको जनाएको छ ।

कालिकोटका ३९ वर्षका धन प्रसाद न्यौपाने त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिए पश्चात निजलाई मेडिकल टिम तथा पट्रोल टिमको सहायताले श्री दुर्गाभन्जन गुल्मद्धारा संचालित मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार पछि थप उपचारको लागि नसेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्याउदा मृत्यु भएको थियो ।

बझाङ्गकी ६५ वर्षकी झुपू देवी धामीलाई हाई अल्टिच्युड सिक्नेश भई बेहोस भएको पनि नेपाली सेनाको हेलीकप्टर मार्फत रेस्क्यु गरी उपचारको लागि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएकोमा निजको स्वास्थ्य अवस्था सामान्य भई घर फर्किएको गुल्मपती सिहंले बताएका छन ।

अचेत अवस्थामा फेला परेका बाजुरा  त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढालाई सेनाको हेली मार्फत रेस्क्यु गरी शवलाई जिल्ला अस्पताल बाजुरामा ल्याई आफन्तको जिम्मामा बुझाईएको जनाएको छ । 

यस्तै कैलालीका ६३ वर्षका श्रीमान् ईश्वरी बोहरा र ५२ वर्षकी निजकी श्रीमती गंगा देबी बोहरालाई हाई अल्टिच्युड सिक्नेश भई अचेत भएको अवस्थामा मेडिकल टिमले त्रिवेणी ईलाकामा फेला पारी निजहरुलाई उपचारको लागि सेनाको हेलीकप्टर मार्फत नै उद्दार गरिएको थियो । 

यो वर्ष तीर्थ यात्रा गएका २ जनाले ज्यान गुमाएका छन् । भने केहीको स्वास्थ्य अवस्था जोखिममा हुने गरि विरामी परेका छन् । यात्रा अवधीभर नेपाली सेनाका तर्फबाट गरिएको उद्दार र उपचार सेवा प्रति यात्रुहरु खुसी देखिएका छन् ।  

प्रतिक्रिया दिनुहोस