शुक्रबार, २८ बैशाख २०८१

गौमुल ३ मा पहिरो, बेहरी र धल्काँडाका १२ परिवार विस्थापित

विस्थापित परिवारलाई विद्यालयमा सारियो

बाजुरा :  गौमुल गाउँपालिका ३ मा पहिरोका कारण स्थानीय १२ परिवार विस्थापित बनेका छन् । लगातारको बर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र धल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका छन् । बस्ती माथिबाट घर नै छापिनेगरि पहिरो लागेपछि पूर्ण रुपमा विस्थापित बनेको पालिका उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।

पालिकाले दिएको जानकारी अनुसार बेहरीका चिन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित बनेका छन् । भने ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, बसन्त बोहरा झाँक्री बोहरा, गंग बोहरा अफिलाल बोहरा, ब्रिजीत बोहराको परिवार विस्थापित बनेको छ । 

पहिरो सिंगो बस्तीलाई नै विस्थापित गर्ने गरि खसेको छ । दिउँसोको समयमा पहिरो खसेकोले मानवीय क्षति नभएपनि भौतिक नोक्सानी बेहोर्नु परेको स्थानीय बताएका छन् । १२ परिवारका ६० जना बढीलाई घर छोडेर बाहिर सारिएको छ । धल्काँडाका विस्थापित परिवारलाई स्थानीय थुमथला आधारभुत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

घरभित्र राखिएको अन्न पात, लत्ता कपडा र अन्य सम्पत्ती भने छिमेकीको सहयोगमा बचाउन विस्थापित परिवार सफल भएका छन् । बर्षा जारी रहेकाले पहिरो अहिलेपनि नियमित बगिरहेको स्थानीयले जानकारी दिएका छन् । विस्थापित परिवारलाई सुरक्षित राखिएको र खान बस्नका लागि आवश्यक परे पालिकाका तर्फबाट पनि सहयोग गरिने जानकारी गाउँपालिकाले दिएको छ । 

गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । २०७७ सालमा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए । सयै बिगाह जमिनमा क्षति पुगेको थियो, भने दर्जनौ पशु चौपाया मरेका थिए । त्यो बेला पनि पालिकाका तर्फबाट उद्दार संभव नभएपछि तत्कालिन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो ।

बाजुरा बाढी पहिरोका लागि उच्च जोखिममा पर्ने जिल्ला हो । ७० प्रतिशत जमिन पहिरोको जोखिममा रहेको छ । साविक २७ गाविस मध्ये १६ बढी गाविसको मानव बस्ती सार्नु पर्ने भूगर्भ विद्हरुले सुझाव दिएका थिए । त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परिक्षणका लागि ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन् ।

बाजुराका २ हजार बढी परिवार अहिले उच्च जोेखिममा देखिन्छन् । उनीहरुले अहिलेपनि पाँल टाँगेर बस्नु पर्ने, रातभर जागराम हुनु पर्ने पीडा सहन बाध्य छन् । बर्षादका अधिकांश रात ननिदाएरै सूत्नु पर्ने अवस्था यहाँका स्थानीयसँग छ ।

भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भुकम्पले चिराचिरा परेका जमिन र घरहरु झनै जोखिम रहेको स्थानीय बताउँछन् । पहिरोको प्रकोपबाट उच्च जोखिममा दर्जनौ बस्तीहरु रहेपनि पालिका स्तरीय विपद जोखिम व्यवस्थापन समितिले दीर्घकालिन योजना भने बनाएको देखिदैन् । 

जस्का कारण स्थानीयले ढिलो चाँडो ठूलो क्षति बेहोर्नु पर्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालयले भने पनि पालिका स्तरीय तयारी पनि हुनु पर्ने र जिल्ला तहमा प्रशासनको पूर्व तयारी पनि गरिएको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस