शुक्रबार, २८ बैशाख २०८१

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

प्रजिअ खड्काले गरे खादा र टोपी लगाएर स्वागत

बाजुरा : राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ । दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन् । लोपन्मुख राउटे समुदाय दैलेख र सुर्खेत जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन् ।

सुर्खेत, दैलेख, कालिकोट बाजुराको कोल्टी हुदै मार्तडी पुगेका हुन् । चाड पर्वको खर्च संकलन र जिल्ला घुमफिरको क्रममा बाजुरा आइपुगेको मुखिया शाहीले जानकारी दिएका छन् । उनीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले खादा र ढाका टोपी लगाएर स्वागत गरेका छन् ।

बुबा भक्तबहादुर शाही वृद्धभएपछि विर्खबहादुर शाही राउटे समुदायका मुखिया बनेका हुन् । मुखियाको जिम्मेवारी पाए लगत्तै बिर्खबहादुर शाही जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाड पर्व खर्च संकलन गर्ने गरेका छन् ।

काठका सामाग्री बनाउने र विक्री गर्ने परम्परागत पेशा संकटमा परेपछि मागेर खानु बाहेक अर्को विकल्प नभएको मुखिया शाहीको भनाई छ । पढेलेखेका छैनौ, अरु काम गरि खाने अवस्था छैन्, जुन सीप थियो, त्यो सीप काम नलाग्ने नै भइसक्यो, पालिका पुग्ने र रकम माग्ने बाहेक अर्को विकल्प नै नभएको दुखेसो मुखिया शाहीको छ । 

बाजुराको विकासको अवस्था देखेर राउटे मुखियाको टोलीले नेताहरु प्रति प्रश्न गरेको पत्रकार दयाराम पण्डितले बताएका छन् । पण्डितले पनि उनीहरुसँग चिया गफ गरेर प्रमुख जिल्ला अधिकारीसँग भेटाएका थिए । 

नजिकै चाड पर्व आउन थाले, दशै तिहार पनि २ महिना पछि आउने तयारीमा छ । समुदायमा रमाइलो गर्नै पर्यो, त्यसका लागि पनि केही आशा बोकेर आएको शाहीले प्रमुख जिल्ला अधिकारी खड्कालाई सुनाएका थिए । प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयको तर्फबाट दशैं खर्च वापतको २० हजार नगद र कम्मल सहयोग गरेका छन् ।

May be an image of 2 peopleकलिलै उमेरमा राउटे समुदायको मुखियाको जिम्मेवारी पाएका बिर्खबहादुरले प्रमुख जिल्ला अधिकारीसँग खुलेरै कुरा गरेका थिए । बाजुरा आइपुग्दा बढी दुख पाएको र समस्या पनि धेरै देखेको विषय सुनाएका थिए । तीन दिन कोल्टीको बसाइ पछि मार्तडी पुगेका उनीहरुले बाजुराको सडक समस्या, खाद्यन्न अभाव हुने, महँगी बढ्ने समस्या देखेर राउटे समुदाय भन्दा बढी दुख र सास्ती बाजुरा बासीले भोग्नु परेको बताएका थिए ।

समस्या हाम्रो नै बढी हुन् जस्तो थियो, त्यो भन्दा बढी बाजुरा पुगेर, यहाँको जनताको दुख देखेर थाह भयो, हामीले भन्दा बढी दुख र कष्ट सहनु परेको रैछ, सिडिओ साव बाजुरामा यस्ता दुख छन्, नेताहरु नभएका हुन्, की, तीनीहरुले काम नगरेका हुन्, मुखिया बिर्खबहादुरले उल्टै प्रश्न गरेका थिए ।

सीप लोप भएकोमा दुखि देखिएका बिर्खबहादुरले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नु पर्ने माग राखेका थिए । मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २४६ जनाको बसोबास रहेको छ । बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका छन् । 

दैलेखमा स्थायी बसोबास गरि बस्ने गरेका राउटेहरुले कहिल्यै सुर्खेत कहिल्यै अछाममा बस्ती सार्ने गरेका छन् । उनीहरु आफू अनुकुल स्थान र जंगल रोज्ने गरेका छन् । राउटे समुदायले दशैं र माघि पर्वलाई रमाईलो, भाईचारा र सद्भाव बाँड्ने पर्वका रुपमा मनाउने गरेका छन् । 

दशैं ५ दिन र माघी उनीहरुले तीन दिनसम्म मनाउने गरेका छन् । खसी बोका काट्ने विवाह ब्रत बन्ध गर्ने पर्वका रुपमा लिने गरेका छन् । मुखिया शाहीका अनुसार राउटेका पूर्खाहरु बाजुरामा पनि बस्नेका थिए । जंगल नासिदै गएको र स्थानीयका कारण बस्ने वातावरण नहुने देखेकोले नै अन्यत्र गएपनि जिल्लासँग सम्बन्ध सधैं रहीरहने बताएका छन् ।

May be an image of 4 people and people smilingराज्यले मुखियाहरुका लागि १ हजार मासिक भत्ता दिने व्यवस्था गरेको छ । त्यो रकम खानलाई समेत नपुग्ने भएकोले चाड पर्व बिशेष आर्थिक संकलन गर्ने र लुगा कपडा, ओढ्ने ओछ्याउने सहयोग माग्ने पुरानै चलन रही आएको छ । 

प्रतिक्रिया दिनुहोस