शुक्रबार, २८ बैशाख २०८१

बुढीगंगाले आँखा पाक्ने रोगको उपचारका लागि घरमै पठायो स्वास्थ्य कर्मी

बाजुरा : आँखा पाक्ने रोगको संक्रमण बढेसँगै बुढीगंगा नगरपालिकाले गाउँमा स्वास्थ्य कर्मीको टोली खटाएको छ । संक्रमणका रुपमा फैलिएको रोगको उपचार र सचेतनाका लागि स्वास्थ्य कर्मीको टोली गाउा पठाएको नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।

बाजुराका सबैजसो गाउँ बस्तीमा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण व्यापक रुपमा फैलिएको छ । आँखा पाक्ने रोगको संक्रमणको निदान तथा रोकथामका लागि बुढीगंगा नगरपालिका ६ ले वडा भित्रका गाउँगाउँमा गएर उपचार थालेको छ । 

बुढीगंगा नगरपालिकामा डेंगु रोगको संक्रमण पनि फैलिएको छ । हालसम्म १० जनामा संक्रमण नै पुष्टी भइसकेको छ । लगत्तै आँखा पाक्ने रोगको संक्रमण देखिएको पालिका प्रवक्ता हेमराज जैशीले बताएका छन् । जैशीले आफ्नै वडाबाट सरसफाइ र आँखाको उपचार तथा सचेतना अभियान सुरु गरेको जानकारी दिएका छन् ।

अधिकांश बालबालिकामा आँखा रातो हुने, आँखाबाट बारम्बार आँसु आउने, घाममा हेर्न अप्ठ्यारो हुने, आँखामा कचेरा आउने र आँखाको डिलहरू सुन्निने जस्ता विभिन्न लक्ष्यणहरु देखा पर्न थालेपछि गाउँ–तथा टोलहरुमा स्वास्थ्यकर्मीको टोली लिएर आँखा पाक्ने रोगको उपचार गर्न स्वास्थ्य कर्मीलाई परिचालन गरिएको पालिकाले बताएको छ ।

स्वास्थ्य शाखा बुढीगंगा, आँखा उपचार केन्द्र टाँटेको प्राविधिक सहयोग र वडाको आधारभुत स्वास्थ्य केन्द्रका अहेव अनिल मिजारसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँ तथा बस्तीमै पुगेर आँखा पाक्ने रोगको उपचार गरिरहेको छ । 

आज बोराबाडा, तल्लो सायल र फालासैन बजारका घरघरमा पुगेर ५० जना बालवालिका, बृद्धवृद्धा लगायत आँखा सम्वन्धिका बिरामीको उपचार गरेको गरेको छ । अभियान नै संक्रमण देखिएका सबै वडा र टोल बस्तीमा लैजाने स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीले बताएका छन् । 

 बुढीगंगा ५ मा सरसफाइ अभियान सुरु 

May be an image of 8 peopleयता बुढीगंगा नगरपालिका ५ ले पनि टोल सरसफाइ अभियान थालेको छ । फोहरका कारण लामखुट्को संख्या बढ्ने र डेंगु रोगको संक्रमण फैलिने डरले वडाले सबै महिला, पुरुषको सहभागि रहने गरि टोल टोलमा सरसफाइ अभियान थालेको हो ।

निमोनी नुवाघर लगायतका टोलबाट अभियान थालिएको कार्यपालिका सदस्य शुशिला मिजारले बताएकी छन् । वडा अध्यक्ष सहीतका जनप्रतिनिधी र महिला पुरुषको सहभागितामा सरसफाइ अभियान थालिएको हो । बुढीगंगाले टाल तथा बस्ती सरसफाइलाई पनि १० वटै वडासम्म पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस