शुक्रबार, २८ बैशाख २०८१

विपन्न परिवारका विरामीको साहरा बन्यो स्वास्थ्य विमा

अस्पतालमा आउने ७० प्रतिशत बढी विरामी स्वास्थ्य विमा सुविधा लिएका मात्रै

बाजुरा : अंगे दमाइ उमेरले ७० वर्ष नाघे । उमेरको ओराली लागेसँगै उनलाई नियमित स्वास्थ्य जाँचको खाँचो छ । बडीमालिका नगरपालिका ७ का दमाइ महिनाको कम्तीमा २ पटक उपचारका लागि बाजुरा जिल्ला अस्पताल पुगेकै हुन्छन् । दमाइ दमका रोगी हुन् । उनलाई श्वासप्रश्वासमा समस्या छ । 

नियमित चेकजाँच र औषधी किन्न मात्रै एक पटकको उनलाई कम्तीमा हजार बढी खर्च हुन्छ । कहिल्यै कहिँ समस्या बढी देखाउँछ । थप चेकजाँच गर्नु पर्छ र त्यति गर्दा २ हजार बढी खर्च आउने गरेको दमाइ सुनाउँछन् । तर त्यो पैसा दमाइ आफैले तिर्दैनन् । स्वास्थ्य विमा र विपन्न परिवारको सुविधाबाटै उनले खर्च व्यवस्थापन गर्ने गरेका छन् ।

नियमित चेक गराउँने र औषधी किनेर खाने आर्थिक अवस्था दमाइको परिवारसँग छैन् । आएको वृद्धभत्ताले पेट पाल्न मै ठिक्क हुन्छ । अर्को आम्दानीको श्रोत छैन् । आफै तिर्न परे मर्नु बाहेक विकल्प थिएन्, दमाइले दुख सुनाए । तर उनी स्वास्थ्य विमा सुविधाबाट निकै खुसी छन् । किनकी २ वर्ष यताको नियमित स्वास्थ्य जाँच र औषधीको पैसा खल्तीबाट तिर्न परेको छ । 

विमा सुविधाले दमाइलाई जस्तै सजिलो बिसे चदारालाई पनि भएको छ । विसे पनि दमकै विरामी हुन् । उनले पनि विपन्न परिवारको रातो कार्डका आधारमा स्वास्थ्य विमा गराएका छन् । त्यही विमा सुविधाबाट बाजुरा अस्पतालमा आएर उपचार गराउने र सेवा लिने गरेको उनले सुनाए ।

अंगे र विसे प्रतिनिधी मात्रै हुन् । स्वास्थ्य विमा सुविधाले सबैजसो विपन्नका लागि सहुलियत मिलेको छ । उपचार नगरि घरमै बस्नु पर्ने बाध्यता हटेको छ । स्वामिकात्र्तिक खापर गाउँपालिकाका अरुण कैलाले पनि स्वास्थ्य विमाबाट निशुल्क उपचार सुविधा पाएका छन् । कैलाका हातको दुबै हड्टी भाँचिएका थिए ।

बाजुरा अस्पताल बाहेक निजी अस्पताल वा जिल्ला बाहिर गएको भए, ४० हजार माथि उपचार खर्च मात्रै लाग्थ्यो, यतै गराउँदा विमा सुविधाले धेरै सजिलो भएको बाजुरा अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । उसँग पैसा नै थिएन्, विपन्न परिवारको मान्छे हो, विपन्न भएकै कारण स्वास्थ्य विमा पनि निशुल्क भरेको रैछ, उपचार सजिलो भयो, गिरीले थपे ।

आफन्तले पनि भाडा तिरेर जिल्ला बाहिर आफ्नै खर्चमा उपचार गराउने अवस्था नै नभएको सुनाए । स्वास्थ्य विमा आएपछि गरिबका लागि ठूलो सहयोग मिलेको कैलाका आफन्तले बताए । स्वास्थ्य विमा नभइदिएको भए आधा बढी विरामी उपचारका लागि आउने नै थिएनन्, होला भन्नु हुन्छ सूचना अधिकारी गिरी ।

बाजुरा जिल्ला अस्पतालमा मात्रै उपचारका लागि आएका मध्ये ७० प्रतिशत बढी विरामी विमा सुविधाकै आउने गरेका छन् । आफैले औषधी किन्नु पर्ने, चेकजाँच गराउनु पर्ने भए ठूलो रकम खर्च हुने गर्छ । विपन्नताको परिचय भएकाहरुले निशुल्क स्वास्थ्य विमाको सुविधा पाएका छन् । भने अन्यका लागि ३ हजार ५ सय रुपैया तिरेर ५ जनाको १ वर्ष सम्म १ लाख बराबरको उपचार सुविधा पाउने गरेका छन् ।

बाजुरामा हालसम्म ३४ हजार ४ सय ८८ जनाले विमा गराएका छन् । ती मध्ये १७ हजार २ सय ५३ जना महिला र १७ हजार ३ सय ३५ पुरुष रहेको स्वास्थ्य विमा बोर्डका नाम दर्ता अधिकारी तारा रोकायाले जानकारी दिएकी छन् । ती मध्ये २४ हजार ३ सय ७६ जना अति विपन्न छन् । 

अधिकांशले विमा सुविधाकै रकम वापत जिल्ला बाहिरका अस्पतालबाट पनि लाख बराबरको उपचार सेवा लिएको अवस्था छ । आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने र तिरेपनि ३५ सय तिरेर वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा विमाप्रतिको आकर्षण बढेको महिला स्वास्थ्य स्वयम सेविका माया खड्काले बताएकी छन् । 

सबै नागरिकलाई स्वास्थ्य विमा सुविधामा ल्याउने राज्यको लक्ष्य रहेको छ । विमा भर्न, रकम भुक्तानी र अर्को रिफरल सेन्टरसम्म पुग्दा नबुझेकाहरुका लागि झन्झटीलो जस्तो भएपनि स्वास्थ्य उपचार सेवाका लागि अति जरुरी नै देखिएको छ । विपन्न बाहेकले पनि ५ जनासम्मको परिवारले ३५ सय तिरेर एक वर्षसम्म १ लाख बराबरको उपचार पाउनु ठूलो सहुलियत जस्तै हो, भन्छन्, त्रिवेणीका रमेश विष्ट । 

स्वास्थ्य विमा बोर्डका नाम दर्ता अधिकारी तारा रोकायाका अनुसार सबैभन्दा बढी बडीमालिकाका नागरिक विमा सुविधामा जोडिएका छन् । बडीमालिकामा बडीमालिका ३७१८ महिला र ३७२८ पुरुष छन् । बुढीगंगा नगरपालिकामा ११६६ पुरुष र १३५८ जना महिलाहरु स्वास्थ्य विमा सुविधामा जोडिएका छन् ।

बुढीनन्दा नगरपालिकामा २९८७ महिला, २९३५ पुरुष छन् । खप्तड छेडेदह गाउँपालिकामा १७६७ महिला र १७६८ पुरुष, गौमुल गाउँपालिकामा २५१ पुरुष र २६१ महिला छन् । हिमाली गाउँपालिकामा २६६८ महिला र २७४४ पुरुष छन् ।  

यस्तै जगन्नाथ गाउँपालिकामा १३६४ जना महिला र १३६२ जना पुरुष छन् । स्वामिकात्र्तिक खापर गाउँपालिकामा २२१५ महिला र २३१० पुरुष विमा सुविधामा जोडिएका छन् । भने त्रिवेणी नगरपालिकामा १००८ पुरुष र ९७८ महिलाले स्वास्थ्य विमा भरेको अवस्था छ । यी मध्ये जिल्ला भरी ९० वर्ष माथिका मात्र १ हजार ७ सय ११ जना जेष्ट नागरिकले विमा सुविधा लिइरहेका छन् ।

 बाजुराका स्थानीयले बाजुरा अस्पताल, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, अछामको बयालगडा अस्पताल र जिल्ला बाहिर पनि विमा सुविधा सहीतको प्रमाण लिएर उपचार गराउने गरेका छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन पाउने सुविधा छ ।

स्वास्थ्य विमाले नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी गरिदिएको स्वास्थ्य कर्मीको बुझाई छ । विरामीका लागि औषधी आफैले किन्नु पर्ने बाध्यता हटेको छ । विमा काजग भए उपचार पाउने सुविधा छ, यो राज्यका तर्फबाट गरिएको सहुलियत र सुविधा हो, सबैले सेवामा जोडिनु पर्छ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

कार्कीका अनुसार अति विपन्न परिवारका लागि स्वाथ्य विमा नभएको अवस्थामा ४ हजार सम्मको उपचार अस्पताल आफैले निशुल्क गर्ने व्यवस्थापन मिलाएको छ । क वर्गको अपागंलाई ४ हजार, ख वर्गकोलाई २ हजार उपचार सुविधा दिने गरेको छ । 

अस्पताल भित्रकै ओसीएमसीमा सेवा लिन आएका द्धन्द्धपीडित र हिंसा पीडितलाई पनि ४ हजारसम्मको उपचार सेवा शुल्क निशुल्क गर्ने गरिएको छ । कैदी बन्दी र जेष्ठ नागरिकलाई पनि न्यूनतम उपचार शुल्कमा निशुल्क गर्ने गरेको अस्पतालले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस